निजी क्यान्सर अस्पतालको उद्घाटन गर्न पुगे बीपीका नवनियुक्त कार्यकारी निर्देशक – Nepal Press

निजी क्यान्सर अस्पतालको उद्घाटन गर्न पुगे बीपीका नवनियुक्त कार्यकारी निर्देशक

चितवन । क्यान्सरका बिरामीको उपचार गर्ने देशकै ठूलो सरकारी अस्पतालमा नयाँ नियुक्त भएका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले चितवनमा नयाँ सुरु हुन लागेको निजीस्तरको अर्को क्यान्सर उपचार केन्द्रको उद्घाटन गरेका छन् ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले चितवन मेडिकल कलेजको भगिनी संस्था सीएमसी क्यान्सर इन्स्टिच्युटले सुरु गरेको मेडिकल अन्कोलोजी विभागको सार्वजनिक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन् ।

चितवनको भरतपुर महानगरपालिका- ७ मा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दुई साता अघिमात्रै डा. पौडेल नियुक्त भएका हुन् । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पुगेका बिरामीलाई अस्पतालले गुणस्तरीय सेवा नदिने गरेको बिचौलिया लगाएर निजी अस्पतालमा पठाउने गुनासाहरु पटक पटक आइरहन्छन् ।

अस्पतालको सेवामा गुणस्तरीयता दिन लाग्नुपर्ने समयमा उनी समान सेवा दिन खुलेको अर्को निजी अस्पताल चितवन मेडिकल कलेजको अन्कोलोजी विभाग उद्घाटन गर्न पुगेका हुन् । उनले कार्यक्रममा बिरामीलाई बाहिर जाने परिस्थिति रोक्नुपर्ने बताएका थिए ।

समान स्वास्थ्य सेवा दिने सरकारी अस्पतालको कार्यकारी प्रमुख क्यान्सरको उपाचारकै लागि भनी सुरु गरिएको निजी स्वास्थ्य संस्था उद्घाटन गर्न जानु कतिको नियमसंगत हो भनी गरिएको नेपाल प्रेसको प्रश्नमा डा. पौडेलले भने, ‘म मेडिकल काउन्सिलको उपाध्यक्षको हैसियतमा उद्घाटन गर्न गएको हुँ ।’

उनी नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष पनि हुन् । उनले आफूले राम्रो उद्देश्यका साथ कार्यक्रममा गएको र चितवनमा निजीस्तरमै भए पनि गुणस्तरीय किमोथेरापी दिने अस्पतालको आवश्यकता भएको दाबी पनि गरे ।

उनले कार्यक्रममै चितवन मेडिकल कलेज र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच धेरै कुरामा सहकार्य हुँदै आएको स्मरण गराए । उनले बिरामीको सहजताका लागि आगामी दिनमा थप सहकार्य गर्दै जाने पनि बताए ।

सरकारी स्वास्थ्य संस्थाको कार्यकारी प्रमुख निजी स्वास्थ्य सेवाको उद्घाटनमा जाँदा उद्देश्य बाझिने नबाझिने विषयमा जानकारी लिन खोज्दा क्यान्सर अस्पतालका अध्यक्ष डा. विजय न्यौपानेले यसबारे आफूलाई जानकारी नै नभएको बताए । उनले कार्यकारी प्रमुखलाई आफूले थप कुरा सोध्ने बताए ।

चितवन मेडिकल कलेजको मेडिकल अन्कोलोजी विभागमा १७ शय्या छन् । जहाँबाट केमोथेरापी, इम्युनोथेरापी र हार्मोनलथेरापी प्रयोग गरेर क्यान्सरको उपचारसँग सम्बन्धित सेवा दिइन्छ । सीएमसी क्यान्सर इन्स्टिच्युट १०० शय्या रहनेगरी चितवन मेडिकल कलेजले स्थापना गरेको क्यान्सर अस्पताल हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर