दश बुँदे घोषणापत्र जारी गर्दै प्रेस युनियनको लुम्बिनी प्रदेश भेला सकियो
रुपन्देही । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश भेला दश बुँदे स्वर्गद्वारी घोषणापत्र जारी गर्दै सकिएको छ ।
भेलाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न माग गर्दै पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र, निष्पक्ष पत्रकारितालाई आत्मसात गरी समुन्नत समाज निर्माणका लागि पत्रकारिताको भूमिका बदलिँदै गरेको अवस्थामा समयानुकूल व्यवसायिक पत्रकारितालाई प्रवर्द्धन गर्नुपर्ने ठहर गरेको छ ।
महासचिव नवीन गिरीद्वारा जारी विज्ञप्तिअनुसार घोषणापत्रमा लुम्बिनी सञ्चार समन्वय परिषद त्रुटिरहित तथा समावेशी ढंगले पुनः गठन र रजिष्ट्रारको नियुक्त गरी मिडियासम्बन्धी सबै काम सोही परिषदमार्फत गर्ने व्यवस्था मिलाउन माग गर्दै प्रदेश सञ्चार ऐन अपूर्ण र त्रुटिपूर्ण भएकाले संशोधन गर्न भनिएको छ ।
पत्रकारहरुको पेशागत सुरक्षाका लागि ध्यानाकर्षण गराउँदै पत्रकार बीमा, पत्रकार स्वास्थ्य बीमा जस्ता कल्याणकारी कार्यक्रमहरु लागू गर्न प्रदेश सरकारसक्षम माग गरिएको छ । लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारले वितरण गर्ने विज्ञापनको रकम वृद्धि गरी समानुपातिक वितरण प्रणाली अवलम्बन गर्न भेलाले माग गरेको छ ।
नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण र नयाँ सदस्यता मापदण्डका सन्दर्भमा प्रेस युनियन लुम्बिनी पूर्ण रुपमा कार्यान्वयनको पक्षमा रहेको तर, प्रदेशका केही जिल्लामा सांगठनिक पूर्वाग्रह राखेर कार्यान्वयन गरेको देखिएकाले त्यसलाई तुरुन्त सच्चाउन माग गरिएको छ ।
युनियनमा पनि शुद्धीकरण अभियानलाई प्रभावकारी बनाएर लैजाने घोषणापत्रमा प्रतिबद्धता व्यक्त गरिएको छ । लुम्बिनी प्रदेशका विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारहरुलाई आर्थिक संकटको बहानामा पारिश्रमिक नदिने, ‘फोर्स लिभ’ मा राख्ने, पूर्णकालीनबाट आंशिक बनाउने काम भएको गुनासो आएको भन्दै सम्बन्धित सञ्चारमाध्यमलाई त्यसो नगर्न सचेत गराइएको छ ।
मिडियालाई सवल बनाएमात्र मिडियाकर्मी र पत्रकारिताको सुरक्षा हुने भन्दै भेलाले साना लगानीका मिडियाको व्यवस्थापन र सवलीकरणमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
यसैगरी युनियनको केन्द्रीय समितिले घोषणा गरेको पत्रकार प्रशिक्षण वर्ष २०८० पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइएको छ । लुम्बिनी प्रदेशका महत्वपूर्ण धार्मिक, प्राकृतिक र सांस्कृतिक क्षेत्रहरुको प्रचारप्रसार, संरक्षण र सम्बर्द्धनमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै मिडियामार्फत पर्यटन प्रवर्द्धनको मुद्दालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाइएको छ ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भेलाको उद्घाटन गरेका थिए । विस्तारित बैठकको उद्घाटन नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गरेका थिए ।
युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल उपस्थितिमा भएको भेलामा नेपाली कांग्रेस लुम्बिनीका सहमहामन्त्री निमा गिरी, प्रदेश सदस्य अमर भण्डारी, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष माधव अर्याल, महासचिव दिलीप पौडेललगायतले धारणा राखेका थिए ।