मृत्यु कि उत्सव ? – Nepal Press

मृत्यु कि उत्सव ?

‘मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन, भागेर जाउँ, कुन ठाउँ जाउँ, मान्छे नमर्ने कुनै शहर हुँदैन ।’ एकताका धेरैको मुखमा झुण्डिएको गीत हो यो । गीतको भावलाई कतिले आत्मसात गरे, त्यो फरक कुरा भयो । तर, गीत चाहिँ धेरैले मनपरायो । जन्मपछि मृत्यु शाश्वत सत्य हो र यो संसारमा कुनै कुरा निश्चित छ भने यही मृत्यु हो । तर, कहिले र कसरी यो चाहिँ अनिश्चित छ । गहिराइमा बुझ्ने हो भने हाम्रो भौतिक शरीरका कोषहरुमा जन्म र मृत्यु त पलपलमा भइरहेको हुन्छ र यही जन्म र मृत्युबीचको समय नै जीवन हो ।

मानिसमा जीजिविषा हुनु स्वाभाविक हो । तर, यो पनि बुझ्नु जरुरी छ कि यो हाम्रो जीवन भनेको मृत्युको तयारी पनि हो । महाभारतको एक प्रसंग ‘यक्षको प्रश्न’लाई जोड्न चाहें । पानीको खोजीमा यक्षको प्रश्नलाई इन्कार गरी पानी पिउँदा पालैपालो पाँच पाण्डवका चार भाइ मृत्युवरण गर्छन् । तर, सालिन र धैर्यवान युधिष्ठिर पानी पिउनुअघि प्रश्न सामना गर्न तयार हुन्छन् । यक्षका प्रश्नहरुमध्ये एउटा प्रश्न- ‘यो संसारको सबैभन्दा ठूलो आश्चर्य के हो ?’ यसको जवाफ युधिष्ठिरको यस्तो हुन्छ- ‘अरु मरेर गएको देखेर पनि आफूलाई चाहिँ अजमवरी ठान्ने मान्छेहरुको मूर्खता यो संसारको सबैभन्दा ठूलो आश्चर्य हो ।’

म पनि मर्नुपर्छ वा मरेर जानुपर्छ भन्ने कुराको बोधले जीवनको मूल्य बुझ्न र जीवनलाई सार्थकतामा डोर्‍याउन मद्दत मिल्छ, जुन आफैंमा आध्यात्मिक यात्राको थालनी हो । यही मृत्युलाई बुझ्न नसकेर त हो, हामी काम, क्रोध, लोभ, मोह र घमण्ड पालेर दुःखदायी जीवन रोजिरहेका छौं । कोही कहिल्यै तृप्त नहुने सुखको तृष्णामै जीवनलाई रित्याउँछौं भने कोही यहाँ दुःखको सामना गर्न नसकेर जीवनबाट नै विरक्तिएर आफ्नो मृत्युमा आनन्द खोज्न पुग्छौं । के मृत्यु आनन्दको बाटो हो वा दुःखको ? यो हाम्रो जिज्ञासालाई बुझाउने यहाँ कोही मृत्यु अँगालिसकेका अनुभवीहरु उपलब्ध पनि त छैनन् । तर, यो कुरामा चाहिँ दुविधा नलिए हुन्छ कि आनन्द वा सुखदुःख भन्ने कुरा भौतिकभन्दा पनि आत्मिक कुरा हो । त्यसैले आनन्द बाहिरी कुरामा खोज्ने गल्ती नगरी आफूभित्र खोज्न जरुरी छ ।

चिकित्सा विज्ञानले शरीरका महत्वपूर्ण अंगहरुले काम गर्न छोड्नु वा नसक्नुलाई मृत्यु मान्छ भने अध्यात्मले आत्मा (जसलाई सरल रुपमा बुझ्दा चेतना, शक्ति) ले शरीर छोड्नुलाई मृत्यु भनेको छ । तर, हामीले आफूलाई शरीरभन्दा माथि उठेर चिन्न नसक्दा मृत्युलाई गुमाउनुको रुपमा मात्र बुझ्न सक्यौं । यदि हामीले आफूलाई विराट स्वरुपको आत्माको रुपमा बुझ्न सकेको भए मृत्युलाई पनि एउटा शक्तिको रुपान्तरणको रुपमा बुझ्न सक्ने हुन्थ्यौं । किनकि मृत्यु त यस भौतिक शरीरको हुने हो, जसको स्वभाव नै नाशवान छ । गहिरिएर बुझ्ने हो भने त्यहाँ जन्म र मृत्यु त पलपलमा भइरहेको हुन्छ । मृत्युलाई एक प्राकृतिक प्रक्रियाको रुपमा बुझ्न नसकेकै कारण यसलाई सहज रुपमा स्वीकार गर्न नसकेका हौं । त्यसैले त आफ्नो वा आफन्तको मृत्युको कल्पनामात्र आउँदा पनि हामी दुःखी हुन्छौं, हामी डराउँछौं । किनकि मृत्युलाई गुमाउनुको अर्थमा बुझेका छौं । लिएर के नै आएका थियौं र गुमाउने कुरा गरिरहेका छौं ?

हामीले आफूलाई शरीरभन्दा माथि उठेर चिन्न नसक्दा मृत्युलाई गुमाउनुको रुपमा मात्र बुझ्न सक्यौं । यदि हामीले आफूलाई विराट स्वरुपको आत्माको रुपमा बुझ्न सकेको भए मृत्युलाई पनि एउटा शक्तिको रुपान्तरणको रुपमा बुझ्न सक्ने हुन्थ्यौं । किनकि मृत्यु त यस भौतिक शरीरको हुने हो, जसको स्वभाव नै नाशवान छ ।

यस संसारमा पाएका कुराहरु तथा पाउन चाहेका कुराहरु सबै आखिरमा छोडेर त जाने हो र हामीले छोडेर जान सकेका कुराहरुले नै हाम्रो मृत्युपछि पनि अरुको मनमा जीवित हुनसक्ने हो । त्यसैले भोलि आइरहेको मृत्युुलाई सम्झेर रुनुभन्दा हरेक पललाई अर्थपूर्ण रुपमा बाँचेर आफ्नो जीवनलाई सार्थकतामा बदल्नु जरुरी छ । यो जीवन भनेको नै अर्थहीनताभित्र पनि अर्थ खोज्नु हो । हामी धेरैको बुझाइ छ, मरेपछि त सबै कुरा व्यर्थ हो । तर, यही व्यर्थताभित्र पनि अर्थ भेट्टाउन सक्यौं भने बाँच्नुको पनि अर्थ थाहा पाउँछौं । अनि त होशपूर्वक बाँच्न सक्छौं । हामी त बेहोशीमै जीवन सकाउँछौं । अनि मृत्युको घडीमा होश खुल्दा पश्चाताप गर्छौं आफ्ना विगतका कर्मलाई लिएर ।

हाम्रो पूर्वीय दर्शनमा मृत्यु संस्कारलाई एक महत्वपूर्ण संस्कारको रुपमा लिएको छ । ताकि हामीले मृत्युलाई नजिकबाट बुझ्न सकौं, मृत्युलाई पनि एउटा उत्सवको रुपमा मनाउन सकौं । तर, हामीले मृत्यु संस्कारलाई एउटा कर्मकाण्डको रुपमा मात्रै सीमित बनाएर बुझ्दै आयौं । त्यसभित्रको दर्शनलाई बुझ्ने हामीलाई समय मिलेको भए पक्कै मृत्युलाई बुझ्न सक्थ्यौं । अनि आफ्नो जीवनलाई पनि । अरुको मृत्युमा मलामी जाने हामी आफ्नो अन्तिम गन्तव्य पनि त्यही चिता हो भन्ने कुराको चाहिँ हेक्का राख्दैनौं । एउटा राजकुमार त्यही मलामी देखेर दुःखको कारण र निवारणका उपाय खोजी गरेर बुद्धको रुपमा आज २६ सय वर्षसम्म पनि हाम्रो मनमा जीवित रहन सफल भए । एकछिनको मसान वैराग त हामीमा आउने पनि हुन्छ । तर, फेरि हामीलाई भौतिक सुख र सफलताको तृष्णाले भुलाइहाल्छ । यसको मतलब यो पनि होइन कि भौतिक सुख र सफलता केही पनि होइन, जीवनको यो अनित्य चोलालाई बुझ्न सिकियो भने कुनै पनि कुराप्रति हाम्रो आशक्ति रहँदैन, जसले सुखदुःख दुवैमा आनन्द लिन सक्छौं । रागविनाको कर्मले नै हामीलाई आनन्द दिने हो ।

मनोविज्ञानमा स्नातकोत्तर गर्दाको समयतिर माइन्डफुलनेसको कार्यशालामा सहभागी हुँदाको त्यो क्षण सम्झिन्छु । हामी सहभागीहरुलाई एउटा कार्य दिइएको थियो, जसमा हामीले आफ्नो मृत्यु हुँदाको कल्पना गरेर आफ्ना आफन्त/साथीहरूले पत्रिकामा छपाउने आआफ्नो समवेदना लेख्न लगाइएको थियो । त्यसपछि एक अर्काको समवेदना पढेर सुनाउनुपर्ने थियो । त्यसै पनि सन्नाटाले भर्दै गरेको माहोलमा मेरो समवेदना पढ्नुपर्ने साथी भावविह्वल भएर गला सुकेर मुखबाट शब्द निस्कन नसकेर आँखाबाट आँसु निस्कँदा हामी सबै एकछिनको लागि स्तब्ध भएका थियौं । त्यस सत्रको उपादेयता थियो कि मृत्युलाई नबुझिकन जीवनको वा समयको महत्त्व बुझ्न सकिँदैन ।

हाम्रो जीवन आफैंमा सबैभन्दा ठूलो पाठशाला रहेछ । हाम्रा आफ्नै जीवनका भोगाइहरुले हामीलाई शिक्षा दिइरहेको हुँदोरहेछ । फरक यतिमात्र रहेछ कि हामी आफ्नै जीवन र आफूप्रति कति सचेत र इमानदार रहन सक्छौं । आफ्नो पेशागत धर्म निर्वाह गर्ने क्रममा मैले त्यस्ता धेरै बिरामीहरुसँग जोडिने सौभाग्य पाएको छु । कोही मृत्युको पर्खाइमा रहेका त कोही मृत्युलाई जितेर आएका, जसले मलाई मृत्युको बोध गराइदियो । अनि जीवनको मूल्य बुझाइदियो । उहाँहरुलाई फिजियोथेरापी र मनोपरामर्श गर्ने क्रममा उहाँहरुले आफ्ना भावनाहरु तथा अनुभवहरु साट्दा कतिपय अवस्थामा म आफैं निःशब्द भएको छु । किनकि हाम्रो कोर्समा जीवनलाई कसरी सहज बनाउने भन्ने कुरामात्र सिकाइन्थ्यो । तर, मृत्युलाई सहज बनाउने कुरा समाहित नै छैन ।

मृत्युुलाई सम्झेर रुनुभन्दा हरेक पललाई अर्थपूर्ण रुपमा बाँचेर आफ्नो जीवनलाई सार्थकतामा बदल्नु जरुरी छ । यो जीवन भनेको नै अर्थहीनताभित्र पनि अर्थ खोज्नु हो । हामी धेरैको बुझाइ छ, मरेपछि त सबै कुरा व्यर्थ हो । तर, यही व्यर्थताभित्र पनि अर्थ भेट्टाउन सक्यौं भने बाँच्नुको पनि अर्थ थाहा पाउँछौं ।

अर्को कुरा, मृत्युबारे कुरा गर्ने हाम्रो बानी पनि त छैन । कतिपय बिरामीहरुको अवस्था यस्तो पनि हुन्थ्यो कि उहाँहरुको जीवनलाई सहज बनाउने उपाय पनि हुँदैनथ्यो । मसँग मनमनै उहाँहरुको सहज मृत्युको कामना गर्नुबाहेक अरु केही नै उपाय हुँदैनथ्यो । यस्तो अवस्थामा मृत्यु नै उपचार हुनेरहेछ । तर, आफ्नो मृत्युलाई सहज रुपमा स्वीकार गर्नसक्ने अवस्थामा पनि सबै कहाँ हुन्छ र ? अनि मृत्यु भनेको आफ्नो वशमा भएको कुरा पनि त भएन ? कि योग साधनाले सिद्ध भएर इच्छा मृत्यु या मृत्युलाई होसपूर्वक रोज्न सक्ने हुनुपर्‍यो ! एउटा स्वास्थ्यकर्मीको धर्म हो कि आफ्नो अगाडिको बिरामीको जीवनलाई सहज बनाउने र जीवनको आशा जगाउने । तर, आफ्नै आँखा अगाडि आइरहेको मृत्युलाई सहज रुपमा स्वीकार गर्न वा मृत्युलाई जितेर पाएको जीवनमा जिउँदो लास (हरेक कुरामा अरुको भरपर्नु पर्ने अवस्था) भएर भोग्नु परेका ती कष्टहरु (जसको कुनै समाधान वा सुधारका उपायहरु छैनन्) सामना गर्न धेरै साहस जरुरी हुन्छ । यस्तो साहस बाहिरबाट होइन, आफूभित्रबाट मात्र निस्कन सक्छ । जसको लागि आध्यात्मिक जागरण जरुरी छ ।

२०६१÷६२ सालतिर हो । म एक बौद्ध गुरु (रिन्पोचे)को निवासमा थेरापी गर्न जाँदा कहिलेकाहीं उहाँलाई कुर्नुपर्ने हुन्थ्यो । यस्तो समयमा उहाँकोमा भएको किताब ‘The Tibetan book of living and dying : Sogyal Rinpoche’ मागेर पढ्ने गर्थें । जसमा तिब्बती दर्शनअनुसार मृत्युलाई कसरी सजिलो बनाउन सकिन्छ, आफ्नो जीवनको अन्तिम घडीमा रहेकाहरुलाई आफ्नो प्राण त्याग्न कसरी सहयोग गर्न सकिन्छ जस्ता कुराहरु पनि समावेश थिए । योग साधनामा लागेको र अध्यात्ममा उत्सुक मेरो मनले यस्तै पूर्वीय दर्शनका किताब संगत अनि प्रवचनहरुबाट जीवन र मृत्युका बारेमा अझ जान्ने बुझ्ने अवसर पाएँ र पाउँदैछु । यसले मलाई उहाँहरु (बिरामी)सँग आध्यात्मिक विमर्श गर्न सजिलो पनि भयो । एक जना बुवा हुनुहुन्थ्यो motor neuron diseaseले हातखुट्टा कमजोर हुँदै गइरहेकाले थेरापी गर्न निवासमै जाने गर्थें । उहाँ आफैं पनि स्वास्थ्यकर्मी भएको कारण उहाँलाई आफ्नो रोगबारे जानकारी थियो ।

उहाँ भन्नुहुन्थ्यो- ‘जीवनका आफ्ना सबै कर्तव्य र जिम्मेवारी पूरा गरिसकें । अब त चाँडै मर्न पाए हुन्थ्यो ।’ यस्तो कुरा सुन्दा आमा भने नराम्रो मान्नुहुन्थ्यो । आमा मसँग बुवाबारे गुनासो पोख्नुहुन्थ्यो- ‘हेर न बाबु ! बुवा के के नचाहिने कुरा गर्दै हुनुहुन्छ ।’ बुवा चाहिँ ‘तिम्रो आमाको बीपी बढेको छ । खाना खाँदैन । निद्रा पनि छैन । एकछिन आमालाई पनि सम्झाइदिनु है’ भन्नुहुन्थ्यो । तर, आमालाई सम्झाउन सक्ने स्थितिमा थिएन । किनकि आमालाई बुवाको रोेगबारे जानकारी थिएन । मलाई अनि बुवालाई पनि थाहा छ कि यस्तो रोगमा मृत्यु कति कष्टकर र पीडादायी हुनसक्छ । बुवालाई भन्थें- ‘शरीरले प्राण/आत्मा धान्न सक्ने अवस्था नभएपछि आत्माको प्रस्थानलाई सहज बनाउन सकियो भने मृत्यु मुक्तिको अवसर बन्नसक्छ । तर, हाम्रो आफ्नो मृत्यु कामनाले मात्र हुँदैन । पहिला हाम्रा आफ्नै मोह वा हाम्रा आफन्तका मोहको बन्धनलाई फुकाउनु जरूरी हुन्छ ।’ आमाले पनि यो कुरा विस्तारै बुझ्दै जानुभयो । खुशीको कुरा भन्छु म, बुवालाई आफ्नो शरीरबाट प्राण छोडेर जान त्यति गाह्रो भएन । वास्तवमा राम्ररी मृत्युवरण गर्न राम्ररी जीवन ज्यूँन पनि जान्नुपर्ने रहेछ ।

आफ्नो छोराको मृत्युको वियोगमा भाव विह्वल आफ्नी रानीलाई सम्झाउन राजाले निकालेको यो उपाय आजपर्यन्त पनि गाईजात्रा रुपमा चलिआएको छ । तर, हामी भने मर्ने अरुमात्र हो, आफू पनि मरेर जानुपर्छ भन्ने कुराको समझ वा बोध नहुँदा आफ्नै अमूल्य जीवनलाई पनि गाईजात्रा (लथालिङ्ग) बनाउन पुगेका हुन्छौं ।

अरुको मृत्युमा समवेदना प्रकट गर्नु र उसका आफन्तलाई सम्झाउनुभन्दा आफूलाई पर्दा आफैंलाई सम्झाउनुमा धेरै फरक हुने रहेछ । आफैंमा लागू गर्न नसकिएका ज्ञानहरुमात्र जानकारीहरु हुन सक्छन्, जसले हामीलाई यस सांसारिक सुखदुःखबाट पार लगाउँदैनन् । भावनात्मक रुपमा अलि बढी नै निकट रहेर कर्म गर्नुपर्ने मेरो जस्तो पेशामा मृत्यु र यसको तयारीबारे कुरा गर्दा कतिले त निराशा र नकारात्मक सन्देशको रुपमा पनि लिने गर्ने रहेछ । यही वर्ष उमेरले ९० वर्ष भइसकेकी ठूली फुपू अनि ८० वर्ष भएको ठूलो बुवालाई पनि यो संसारबाट बिदा गर्‍यौं । उमेरले मुटुका भल्भ बिग्रेर बिरामी हुनु भएकी ठूली फुपू भन्नुहुन्थ्यो- ‘म हस्पिटलमा मर्दिनँ । म आफ्नै घरमा मर्न चाहन्छु ।’ त्यसैले सबैको सल्लाहमा आवश्यक व्यवस्था गरी घरमै राख्यौं । उहाँलाई भन्थें- ‘जान त सबैलाई पर्छ नै ढिलो चाँडोको मात्र कुरा हो । तर, आनन्दले जानलाई आफ्नै मनलाई शान्त गर्नु जरुरी हुन्छ । काम, क्रोध, लोभ, मोह, घमण्ड त्याग्न सक्यौं भने प्राण त्याग्न पनि सहज हुन्छ ।’

फुपूले आफ्नो प्राण त्याग गरेको अघिल्लो दिनको राति १२ बजेसम्म पनि म फुपूसँगै थिएँ । पूरा शरीर दुःख्यो भन्नुभएकाले मालिस गर्दै फुपूसँग मृत्युको तयारीको बारे कुरा गर्दै मनलाई शान्त बनाउन भगवानको जप गराउँदै सुताएर आएको थिएँ । दमको बिरामी ठूलो बुवा अक्सिजनको सहयोगमा हुनुहुन्थ्यो । जीवनका अन्तिम दिनहरुमा एक्लोपन र निराशाले गर्दा नकारात्मक भावनाहरु बढेर रिसको रुपमा दाइभाउजूलाई पोख्ने गर्नु हुन्थ्यो । ठूलो बुवालाई सम्झाउँथें- ‘समय आएपछि हामी सबैले यो संसार छोड्नु नै पर्छ, जाने दिनहरु नजिक आइरहेको बेला आफ्नाहरुसँग रिसाएर आफूलाई र अरुलाई पनि किन दुःखी बनाउने ? मनलाई शान्त राख्न सकिएन भने शान्तिले जान पनि सकिँदैन ।’ अनि दाइभाउजूहरुलाई भन्थें- ‘जानलाई सहज बनाउन सायद हाम्रा मोहका बन्धनहरुलाई फुकाउँदै हुनुहुन्छ । नराम्रो रुपमा नलिइ उहाँको मनलाई शान्त बनाउन कोसिस गरौं ।’

प्राण त्याग्नु दुई दिनअघि ठूलो बुवाले ‘अब मेरो जाने बेला आयो, घरमा थापना गरिराखेको कुल देवता मेरो भाइ (मेरो बुवा)को घरमा सार्नुपर्यो । म गएपछि तिमीहरुले पूजा गर्न मिल्दैन’ भन्दै मेरो बुवालाई बोलाउन लगाउनुभएको रहेछ । बेलुका म पनि ठूलो बुवालाई भेट्न गएँ । म जाँदा आनन्दले बसेर हाँसेर मसँग कुरा गरेको देखेर भाउजूले अघि दिउँसो त त्यतिबेला नै जाने जस्तो श्वास बढेर गाह्रो भएको थियो । अहिले केही नभएको जस्तो फ्रेस देखिनु भएको छ । हामीसँग खान नमानेर अहिले केहीबेर अगाडि सानो बुवा (मेरो बुवा)ले खुवाएर जानुभएको भन्दै हुनुहुन्थ्यो । निबुलाइजर वाफ लिन मानिराख्नु भएको थिएन, सम्झाएर सँगै बसेरै लिन सिकाएर मनलाई शान्त राख्नलाई सम्झाउँदै राति घर फर्कें । आफ्नासँग मृत्युको कुरा गर्दाभन्दा अरुसँग यसबारे कुरा गर्दा चाहिँ अलि बढी सजग हुनुपर्ने हुन्छ । आजभन्दा सात वर्षअघि मैले आफ्नै भाइलाई यस संसारबाट बिदा गर्दा मैले यही अनुभूत गरें ।

भर्खरै गाईजात्रा सकिएको छ । आफ्नो छोराको मृत्युको वियोगमा भाव विह्वल आफ्नी रानीलाई सम्झाउन राजाले निकालेको यो उपाय आजपर्यन्त पनि गाईजात्रा रुपमा चलिआएको छ । तर, हामी भने मर्ने अरुमात्र हो, आफू पनि मरेर जानुपर्छ भन्ने कुराको समझ वा बोध नहुँदा आफ्नै अमूल्य जीवनलाई पनि गाईजात्रा (लथालिङ्ग) बनाउन पुगेका हुन्छौं । अनित्य यो चोलालाई बुझ्न सक्यौं भने मृत्युलाई पनि सहज स्वीकार गर्न सक्छौं । अनि जीवनलाई पनि मृत्युको तयारीमा लगाउन सक्छौं । मृत्यु निराशाको उपज हुनै सक्दैन । यो आफैंमा एउटा उत्सव हो, एउटा नयाँ परिवर्तनको बाहक हो । जसलाई ‘म’ भनि अहंकार पालेर भ्रममा बाँचिरहेका छौं, त्यही अहंकारलाई मेटाएर आफ्नो असली ‘म’ लाई चिन्न बुझ्न सिकेपछि जन्म-मृत्युको भवचक्रलाई पनि बुझ्न सक्छौं । आफ्नै अहंकारलाई मार्न सफल भयाैं भने आत्महत्यामा समाधान खाेज्ने मूर्खता पनि गर्दैनाैं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *