श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न प्रधानमन्त्रीले थाले छलफल
काठमाडौं । श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल थालेका छन् ।सिंहदरबारमा जारी छलफलमा श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखहरू सहभागी छन् ।
श्रम आप्रवासनका सवालहरू र कूटनैतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुनेछ। वैदेशिक श्रम स्वीकृति देखी कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ।
बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ। यो छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहभागिता रहनेछ।
सोमबार र मंगलबार गरी २ दिनका लागि आयोजना गरिएको अन्तरक्रियामा १३ देशमा क्रियाशील कुटनीतिक नियोगका प्रमुखहरू उपस्थित छन । अन्तरक्रियामा कुटनीतिज्ञहरूले अन्तर्राष्ट्रिय श्रम बजारसँग सम्बन्धित समस्या र त्यसको सम्बोधनका विषयमा अन्तरक्रियात्मक रिपोर्ट राखेका छन् ।
अन्तरक्रियामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले श्रम आप्रवासनमन सवालहरू र कुटनीतिक नियोगको भूमिका विषयमा संक्षिप्त अवधारणा प्रस्तुत गरेका छन् ।
अवधारणापत्रमा श्रम आप्रवासनका मुख्य १० गन्तव्यमा कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स्, कुवेत, बहराइन, दक्षिण कोरिया, ओमान, जापान, रूमानिया रहेको उल्लेख छ । साथै नेपाली श्रमिकहरूले वैदेशिक रोजगारीका क्रममा भोग्नुपरेको विभिन्न समस्याहरू उल्लेख गर्दै त्यसको समाधानका बिकल्पहरू प्रस्तुत गरिएको छ।
अन्तरक्रियामा मागपत्र प्रमाणिकरण, जाँचबुझमा रहेका समस्या, वैदेशिक रोजगारीमा हुने ठगी, कार्यस्थलमा श्रमिकले भोगेका समस्या, मानव तस्करीको समस्या, विदेशमा रहेका कागजातविहीन नेपाली श्रमिकका समस्या, फ्रि भिषा फ्रि टिकटको अवस्था र समस्या, इ–भिसा, सिजनेवल भिसाका समस्या, नेपाली कुटनीतिक नियोगको प्रभावकारिता लगायत श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र विश्वासनीय बनाउने विविध विषयमा छलफल हुनेछ।
अन्तरक्रियामा नेपाली राजदुत, अष्ट्रिया भरत गौतम, ओमान डोरनाथ अर्याल, जर्मनी रामकाजी खड्का, जापान दुर्गाप्रसाद सुवेदी, दक्षिण कोरिया ज्योति प्याकुरेल, मलेसिया डिल्लीराज पौडेल, कतार नरेशविक्रम ढकाल, बहराइन तीर्थराज वाग्ले, पाकिस्तान तापस अधिकारी, कुवेत घनश्याम लम्साल, संयुक्त अरब इमिरेट्स् तेजबहादुर क्षेत्री, साउदी अरेयिबा नवराज सुवेदी लगायतले विदेशमा रहेका नेपाली कामदारहरूको अवस्था र त्यसमा सुधार ल्याउन चाल्नुपर्ने कदमहरूबारे आफ्नोर धारणा राखेका छन।