एमाले कार्यालयमा तेजाब आक्रमणविरुद्धको दिवस, पीडितले भने- कडा कानूनका लागि ‘केपी बा’ लाई धन्यवाद (भिडिओ)
काठमाडौं । सोमबार नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा फरक खालको माहौल थियो । सधैँ राजनीतिक भाषणवाजी हुने ठाउँमा अनुहार जलेका महिलाहरू भाषण गरिरहेका थिए भने अध्यक्ष केपी शर्मा ओली सुनिरहेका थिए ।
कार्यक्रम आयोजक एमाले केन्द्रीय कार्यालयले भदौ २५ गतेलाई जलनविरुद्धको दिवसका रूपमा मनाउन एसिडलगायत जलन पीडितहरूलाई भेला गरेको थियो ।
सरकारले यो दिवसलाई मान्यता दिइ नसकेको भए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला एसिड आक्रमणविरुद्धको कानून ल्याइएको कारण पार्टीले यसलाई दिवसको रुपमा मनाएको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले बताए ।
ओली प्रधानमन्त्री भएका बेला २०७७ भदौ २५ गते पहिलोपटक सरकारले अध्यादेशमार्फत एसिड आक्रमणविरुद्धको कडा कानून ल्याएको थियो । पीडितहरूसँग भेटेको १५ दिनभित्र ओली सरकारले सो अध्यादेश ल्याएको थियो ।
सोही दिनलाई एमालेले तेजाब आक्रमणविरुद्धको दिवसका रुपमा यस वर्षबाट मनाउन थालेको हो । सोही कार्यक्रममा उपस्थित भएकी वीरगञ्जकी मुस्कान खातुनले आफूहरूले पीडा सुनाएको १५ दिनभित्र कानून ल्याएको भन्दै धन्यावाद दिइन् ।
कार्यक्रममा रास्वपाबाट प्रतिनिधि सभा सदस्य समेत रहेकी अर्की एसिड प्रभावित विन्दवासिनी कंसाकार,जलन पीडित जेनी खड्कालगायतले ओलीलाई कडा कानूनको नेतृत्व गरिदिकोमा धन्यवाद दिएका थिए ।
त्यसबेला अध्यादेश ल्याउँदाको स्मरण गर्दै पूर्व मन्त्री तथा एमाले नेता जुलीकुमारी महतोले केही दल र तत्कालीन नेकपाभित्रकै प्रचण्ड माधव पक्षतिर संकेत गर्दै उनीहरुले सो कानूनको विरोध गरेको बताइन् ।
तेजाब आक्रमणविरुद्ध कानून मस्यौदा गरेका तत्कालीन महान्यायाधिवक्ता अग्नि खरेलले त्यस बेला किन यो कानून ल्याइयो र के कस्ता व्यवधान आए भन्ने स्मरण गरेका थिए ।
कसले के भने ?
विन्दवासिनी कंसाकार, तेजाब प्रभावित सांसद
वर्षेनी ६०/७० हजार नेपाली जलन पीडित बन्छन् । पूर्वप्रधामन्त्री केपी ओलीज्यूलाई कानून ल्याइदिनुभएकोमा धन्यवाद । यसको प्रभावकारी कार्यन्वयनमा लागौं । यस्तो अपराध नेपालमात्र होइन विश्वमा कहिले पनि नहोस् । नेपालमा अझै पनि उपचार सम्बन्धी कानून प्रभावकारी भएको छैन । प्रभावितहरुको पक्षमा म प्रतिनिधि सभा सदस्यको रूपमा अझ बढी लाग्नेछु ।
मुस्कान खातुन, तेजाब आक्रमण प्रभावित
हामीले प्रधानमन्त्रीज्यूलाई हाम्रो पीडा सुनाएको १५ दिनभित्र भदौ २५ गते अध्यादेश आयो । पहिलेको कानून एकदम कमजोर थियो । अहिले एकदम राम्रो कानून आएको छ र यस्ता अपराधको घटनामा केही कमी पनि भएको छ ।
कानून आयो, धेरै प्रकारको सुविधा पनि भयो तर अस्पतालमा जाँदा अहिले पनि के के प्रमाण बुझाउनुपर्छ । एउटा कार्ड भए औषधि सुविधा र उपचारमा सहज हुने थियो । बालाई एकदमै धन्यावद,हाम्रो पीडा सुनेर १५ दिनमै कानून आयो, यो पहिलो कानून होला १५ दिनमै आएको यो सबैभन्दा ठूलो उपलब्धी हो । बा तपाईलाई फेरि पनि धेरै धन्यवाद ।
जेनी खड्का,जलन पीडित कीर्तिपुर अस्पताल
कीर्तिपुर अस्पतालमा आएर हेर्नुस् जलनको पीडा के हो । एसिडमात्र किन जलनको बारे पनि बोल्नुपर्यो ।
एसिडलाई मिडियाले कभर गर्छ तर कतिलाई पेट्रोल खन्याएर,कतिलाई ग्यासबाट जलाएको हुन्छ । सबैलाई समेट्ने कानून आवश्यक छ । अहिले धेरै खुसी लागेको छ, कानून बलियो बनेको छ ।