संविधान दिवसमा सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालन हुने – Nepal Press

संविधान दिवसमा सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालन हुने

काठमाडौं । सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ । संविधान दिवसको अवसरमा ‘द्रुत बस सेवा’ सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग ‘द्रुत बस सेवा’का विषयमा छलफल गरेका थिए । छलफलपछि असोज ३ मा ‘द्रुत बस सेवा’ सञ्चालन गर्ने निर्णय गरिएको मन्त्री ज्वालाले बताए ।

यसअघि ‘द्रुत बस सेवा’ असोज १ देखि सञ्चालन गर्ने निर्णय भएको थियो । तर संविधान दिवसका दिनदेखि सुरु गर्न मन्त्री ज्वालाले निर्देशन दिएका छन् । ‘द्रुत बस सेवा’ सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक ढकालले मन्त्री ज्वालालाई जानकारी दिएका थिए ।

‘अन्य काम सबै सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेड मार्क गर्नमात्र बाँकी छ, त्यो भदौ २६ मा सुरु गर्छौं’, उनले भने ।

विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग गर्ने भएको छ । रत्नपार्कदेखि जडिबुटी र जडिबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाएर एकैदिन सुरु हुनेछ ।

त्यसैगरी यातायात व्यवस्था विभागले आफ्नो काम सकेको जानकारी मन्त्री ज्वालालाई दिएको छ । ‘द्रुत बस सेवा’का लागि आवश्यक पर्ने २५ वटा बस तयारी अवस्थामा राखिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए ।

व्यवसायीहरुसँग सहकार्य गरी उनीहरुकै बसहरु सञ्चालन गर्न लागिएको हो । करिब ३८ जना क्षमता रहेको २५ वटा बस सञ्चालनमा आउनेछन् ।

बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि मन्त्री ज्वालाले द्रुत बस सेवाको अवधारणा ल्याउनुभएको हो । यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा भएपछि ‘द्रुत बस सेवा’का विषयमा केही आशंकाहरु उब्जिएका थिए ।

‘अब आशंका पाल्नुपर्दैन, असोज ३ मा द्रुत बस सेवा सञ्चालनमा आउँछ’, मन्त्री ज्वालाले भने ।

अहिले बिहान र साँझ कार्यालय समयमा ‘द्रुत बस सेवा’ सञ्चालन हुनेछ । बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर