बस्ने होइन, जीवन चलाउने सहर बन्दै ‘काठमाडौं महानगर’
चितवन । काठमाडौंको बबरमहल- जहाँबाट ५ मिनेट हिँडेर देशकै मूल प्रशासनिक थलो सिंहदरबार पुगिन्छ । सर्वोच्च अदालतको गेट पुग्न पनि हिँडेरै ५ मिनेटभन्दा बढी लाग्दैन । पैदलै १०/१५ मिनेट हिँडियो भने कानून र जनजीविकाको विषयमा बहस हुने संसद भवन पुगिन्छ । त्यति नै समयमा पुगिन्छ देशका ठूलाठूला सुविधासम्पन्न अस्पताल तथा शिक्षण संस्था ।
देशकै केन्द्रथलोको पनि केन्द्रमै थियो साढे ३ आना जग्गामा बनेको साढे ३ तले घर । जहाँ चार वर्षअघिसम्म रुद्र थापा पत्नससहित दुईजनामात्रै बस्थे । दुई छोरी अष्ट्रेलिया र क्यानडा छन् । घरको दुई फ्ल्याट भाडामा थियो । जसबाट मासिक ४० हजार भाडा उठाउँथे । दुईजनाको परिवार आनन्दले चलिरहेको थियो ।
दुई सन्तान हुर्काएको र आफ्नो सक्रिय जीवन बितेको घर चटक्कै माया मारेर ६० वर्षे उमेरका दम्पतीले बबरमहल छाड्ने निधो गरे । घर बेच्न मान्छे खोजे । भएको जायजेथा बेचेर अहिले टोखामा सानो एकतले घर बनाएर बसेका छन् थापादम्पती ।
अहिले काठमाडौं महानगरपालिकाभित्र उनीहरूको सम्पत्ति छैन । काठमाडौं महानगरबाट बसाइसराइको कागज बनाएर उनीहरू टोखा नगरको बासिन्दा बनिसकेका छन् ।
थापादम्पती जस्तै अर्जुन बस्यालको परिवारले पनि दुई वर्षअघि काठमाडौं छाडेका छन् । तर, उनीहरू काठमाडौंका रैथाने थिएनन् । तत्कालीन नवलपरासी भूमहीबाट पढ्न र कमाउन काठमाडौं हान्निएका थिए । काठमाडौं बसाइको १५ वर्षको अवधिमा उनीहरूले स्नातकोत्तर सके । दुबैजनाले कलेज पढाउन थाले । दु:ख गर्दै काम गर्दै थिए । अलिअलि जम्मा गरेको रकम र अलिअलि किस्ता तिरेर काठमाडौंमा एउटा सानो घर किन्नलाई बैना दिएका मात्रै थिए ।
त्यहिबेला कोभिड १९ को प्रकोपले जीवनको जोखिम ल्यायो । बाहिर निस्किन नसकिने गरि अत्यायो । त्यसपछि बस्याल दम्पतीले बैना दिएको एक लाख रूपैयाँ माया मारिदिए । अनि, एक सन्तानसहित काठमाडौंको बसाइ नै टुंग्याएर नवलपुर झरे । अहिले उनीहरू यतैको कलेजमा पढाउँछन् । आफ्नै ठाउँमा संघर्ष गरिरहेका छन् ।
देश संघीयतामा गएपछि शासन अभ्यासमा विकेन्द्रीकरण भनेपनि राज्यव्यवस्थाको स्थानीय तहसम्मको निर्णय केन्द्रकै हस्तक्षेपमा हुने गरेको छ । काठमाडौंको भिडभाड उस्तै छ । न त राज्यव्यवस्थामा केन्द्रिकृत निर्णय प्रणाली नै व्यवहारिकरूपमा प्रत्यायोजन छ । तर, मानिसहरूको बसाइमा भने काठमाडौंमा सत्ताको अभ्यास झैँ आकर्षण छैन । विकर्षणमात्रै होइन ऋणात्मकमा झर्दै गइरहेको छ काठमाडौंमा बस्ने रहर गर्नेको आकर्षण ।
२०७८ सालमा गरिएको राष्ट्रिय जनगणनाको तथ्यांकले माथिको दुई उदाहरणलाई अझ फराकिलो गरी प्रष्ट्याएको छ । राष्ट्रिय जनगणाको प्रतिवेदनले भन्छ- अहिले काठमाडौं महानगरपालिकाको जनसंख्या ८ लाख ६२ हजार ४ सय जना छ । भने २०६८ सालको जनगणनामा काठमाडौंको जनसंख्या ९ लाख ७५ हजार ४ सय ३५ जना थियो । अर्थात्, २०६८ को जनगणनाभन्दा २०७८ सालको जनगणनामा -१ दशमलव १८ प्रतिशतले काठमाडौंको जनसंख्या घट्यो ।
बसाइसराइको सामान्य सिद्धान्तअनुसार मानिस कुनै स्थानमा बस्न जानुको पछाडि बसोबासको लागि तान्ने र धकेल्ने गरी दुई तत्व हुन्छ । सामान्यतया सहर भनेपछि विकसित सडक सुविधा, उपचार, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका मानिसका दैनन्दिन सुविधासँग जोडिएको स्थान मानिन्छ । सहरमा मानिसको बसोबास र सुविधाको लागि सबैभन्दा बढी विकास भएका भौतिक पूर्वाधारयुक्त स्थान हुन्छन् । काठमाडौंका अरु पालिका छोडेर महानगरलाई हर्ने हो भने यो देशकै पहिलो महानगर पनि हो । देशकै उच्च विकसित सहर पनि । तर, १० वर्षको अन्तरालमा यहाँ बस्ने मानिसहरुको संख्या किन शून्यबाट पनि ऋणात्मकतर्फ झर्यो ?
यसको कारण सोध्दा महानगरका प्रवक्तासमेत रहेका वडा नम्बर १७ वडाध्यक्ष नवीन मानन्धर भन्छन्, ‘हामीकहाँ नजिकका पालिकाहरूमा बसाइसराइको सिफारिस लिन आउने मानिस दिनै टुट्दैनन् । पहिलो कारण अरु पालिकामा बसाइ सर्न जानु नै हो ।’
उनले मानिस घट्नु पछाडिको अर्को कारण पनि सुझाएका छन्, अहिले अन्तर्राष्ट्रिय बसाइसराइको कारण पनि काठमाडौं घर भएपनि सन्तान विदेशमै जन्माउने र उतैको नागरिक बनाउने चाहना बढ्दै गयो । त्यसैले हामीकहाँ मानिसको संख्या घट्दै गएको हो ।
अर्थशास्त्रमा माल्थसले सिमान्त उपयोगिता ह्रास नियमलाई व्याख्या गर्दै भनेका छन्, कि मानिस आफ्नो आवश्यकताको वस्तु एउटा समयसम्म मात्र चाहन्छ, त्यसपछि विस्तारै उसलाई रुचि घट्दै जान्छ । अझ उपभोग बढाएमा ऋणात्मक उपयोगिता हुन थाल्दछ । र, माग पनि घट्दै जान्छ ।
काठमाडौंसहित देशभरका ५८ वटा नगरपालिकाको जनसंख्या ऋणात्मक तर्फ जानु सिमान्त उपयोगिताको ह्रास नियम झैँ हो त ? यो भनाइमा जनसंख्या र यसको प्रभावका विषयमा विश्लेषण गरी कलम चलाउँदै आएका पत्रकार चेतन अधिकारी त्यसोभन्दा पनि यहाँको जमिनमा पर्ने मूल्य र मानिसको खरिद क्षमतालाई मूल्यांकन गर्नुपर्ने तर्क राख्छन् ।
उनका अनुसार काठमाडौं महानगरको सुविधा लिन वा त्यहाँको बजारमा, राजनीतिमा पहुँच पुर्याउन अहिले मानिसलाई काठमाडौंमै बस्नुपर्ने बाध्यता छैन । कम खर्चमा घरजग्गा खरिद गरेर काठमाडौं आसपासका नगरपालिकामा बसेर पनि मानिस काठमाडौंको सुविधा उपभोग गर्न सक्छन् ।
उनी भन्छन्, ‘हल्लाखल्लामा बस्नुभन्दा सहर बाहिर काठमाडौंमा काम गर्ने मानिसको संख्या बढी छन् । त्यसैले काठमाडौंको जनसंख्या ऋणमत्मक हुँदा अरु नगरको बढ्दो जनसंख्या दरलाई पनि विश्लेषण गर्न जरुरी हुन्छ ।’
पत्रकार अधिकारीले भने झैँ काठमाडौं अहिले आवासको लागि भन्दा पनि मानिसले जीविकोपार्जन प्रयोजनको लागि उपयोग गर्दै आएको सहरको रूपमा विकसित हुँदै आएको पुष्टि हुने अर्को तथ्यांक पनि छ ।
अहिले काठमाडौं महानगरको क्षेत्रफल ५० दशमलव ६७ वर्गकिलोमिटर छ । महानगरभित्र २ लाख ५४ हजार दुई सय ९२ घरधुरी रहेको जनगणनाकै तथ्यांक छ । भने तीमध्ये १ लाख ६६ हजार ६ सय १० घरलाई घरधनी बाहेकका मानिसले उपयोग गरिरहेका छन् । ८२ हजार ३ सय ३६ घर मात्रै घरधनी स्वयंले उपयोग गरेका जनगणनाको तथ्यांक छ । त्यसैले पनि भन्न सकिन्छ कि, काठमाडौं महानगर बसोबासको लागि होइन व्यवसायीक प्रयोजनको लागि विकसित भएको नगर बन्दै गएको छ ।
नेपालमा नेपालीको संख्या घट्दैछ र बिदेशी इन्डियन बिहारिहरुको संख्या बड्दैछ। भारतको सपना नेपाललाई फिजी बनाउने चाहना पूरा हुन लागेको हो त?