विदेश अध्ययन : कन्सलटेन्सीमा खचाखच, क्याम्पसमा सुनसान – Nepal Press

विदेश अध्ययन : कन्सलटेन्सीमा खचाखच, क्याम्पसमा सुनसान

गाउँसँगै बजारमै टिक्न छाडे विद्यार्थी, अन्यौलमा अभिभावक र कलेज सञ्चालक

रुपन्देही । केही वर्षअघि खचाखच हुने शहरी क्षेत्रमा रहेका स्नातक पढाउने क्याम्पस पनि अहिले सुनसानजस्तै देखिन्छन् । १२ कक्षासम्म भिड लाग्ने यी क्याम्पसमा स्नातक अध्ययन गर्ने विद्यार्थीको संख्या पुर्‍याउनै धौ धौ पर्न थालेको छ । केही सरकारी र निजी क्याम्पसहरूमा बाहिर जान रकम र व्यक्तिगत क्षमता नभएका विद्यार्थीहरू भर्ना भएपनि अधिकांशमा विद्यार्थी संख्या निरन्तर ओरालो लागेको छ ।

अहिले क्याम्पसभन्दा कन्लसटेन्सीमा भिड देखिन्छ । कक्षा १२ सक्नुअघि नै अधिकांश विद्यार्थी बाहिर जाने मनस्थितिमा हुने भएकाले भर्ना नै नहुने स्नातक भर्ना भएकामध्ये पनि करिब ३० प्रतिशत पनि बीचमै उड्न थालेको कलेज सञ्चालक बताउँछन् । यसरी जाने अधिकांश विद्यार्थी राम्रो अंक ल्याउनेमध्येकै भएकाले यहाँ बाँकी रहने कम क्षमताको भएको समाजले नै व्याख्या गर्न थालेको छ ।

गुल्मीको रेसुङा-६ का विष्णु मरासिनीले केही वर्षअघि छोरीलाई अध्ययनका लागि जापान पठाए । यो वर्ष अर्को छोरालाई क्यानडा उडाएर फर्किए । उनीहरू दुवै विद्यार्थी भिसामा गएका हुन् । स्थानीय विद्यालयमा अध्यापन गर्ने विष्णुले छोराछोरीलाई यहाँ राख्ने कुनै विकल्प नभएर पठाउनुपरेको बताउँछन् ।

‘छोराछोरीको यहाँ बस्ने कुनै रुचि छैन, दुवै पढाईमा अब्बल थिए, यही राखेर जसोतसो पढाउँला भनेको सकिएन, पहिले छोरी गइन्, अहिले छोरा गए, अब अर्को छोरा १० मा पढ्दैछन्, त्यतिबेलासम्म उनलाई पनि दाजुदिदीले उतै तान्ने होलान्, ’ उनले भने ।

कपिलवस्तुको बाणगंगाका पुस्कर-राधा आचार्यका दुई छोरीमध्ये जेठीले भर्खर क्यानडा जाने भिसा पाइन् । नेपालमै पढाउने इच्छा भएपनि हरेक कलेजका क्षमतावान विद्यार्थी सबै बाहिर जान थालेपछि आफूहरूले पनि रोक्न नसकेको उनीहरूको भनाइ छ । पाल्पाको तिलोत्तमा माविका शिक्षक प्रकाश आचार्यको छोरी अमेरिका जाने तयारीमा छन् । आफूले नेपालमा अध्ययनका लागि धेरै प्रयास गरेपनि कलेजमा धेरै साथीहरूले जाने तयारी गरेको र विदेशमा अध्ययन गरेपछि कामसँगै अध्ययनमा पनि धेरै अवसर पाइने कुरा सुनेपछि ऋणधन गरेरै भएपनि अभिभावकहरू बाध्य भएर छोराछोरीलाई बाहिर पठाउन थालेका छन् ।

रूपन्देही तिलोत्तमा-१७ गंगोलियाका १९ वर्षीय अपिल बस्यालले २०७८ सालमा ३.९ जीपीए ल्याएर एसईई उत्तीर्ण गरे । चार जीपीए नजिकको अंक ल्याएर उत्तीर्ण भएका उनी भलबारीस्थित सेन्ट जोसेफमा व्यवस्थापन संकायमा कक्षा ११ को नतिजा पनि राम्रो अंकका साथ उत्तीर्ण गरेका उनी कक्षा १२ को नतिजा आएपछि उच्च शिक्षाका लागि अस्टेलिया जाने तयारीमा छन् ।

आईईएलटीएस अध्ययन गरिरहेका अपिल स्नातक नेपालमै पढ्दा भविष्य नबन्ने निष्कर्षसाथ अस्ट्रेलिया जाने तयारीमा लागेका हुन् ।

‘नेपालमा पढेर क्षमताअनुसार काम पाइँदैन, यहाँ स्नातक पढेर चार वर्ष बिताउनुभन्दा राम्रोसँग पढ्न अस्ट्रेलिया जान लागेको हुँ’, उनी भन्छन् ।

परिवारको सरसल्लाहमै उनी अस्ट्रेलिया जाने तयारीमा लागेका हुन् । अपिलका बुबा पशुपति बस्याल लामो समयदेखि अटो व्यवसायमा सक्रिय छन् । नेपालमा शिक्षामा गरेको लगानीअनुसार रोजगारी पाउने सम्भावना न्यून भएकाले उच्चशिक्षा अध्ययनका लागि छोरालाई अस्ट्रेलिया पठाउन लागेको उनी बताउँछन ।

‘पढाइ राम्रो छ, तर स्नातकपछि फेरि के गर्ने भन्ने प्रश्न उठ्छ, त्यसैले छोराको चाहनाअनुसार अस्ट्रेलिया पठाउन लागेको हुँ ।’ बस्याल भन्छन् ।

भविष्यको खोजीमा उच्च शिक्षा अध्ययन र रोजगारीका लागि विदेशिने युवाको संख्या दिनानुदिन बढ्दैछ । बुटवल, भैरहवा, दाङ र नेपालगन्जका कन्सल्ट्यान्सीमा आईईएलटीएस पढ्नेको घुइँचो लाग्न थालेको छ । कक्षा १२ सक्नेबित्तिकै कोही पनि देशमा बस्न चाहँदैनन् । जसले गर्दा स्नातक पढाउने कलेज रित्तिन थालेका छन् ।

तथ्यांकमा हेर्नुस् : कुन आवमा कति बाहिरिए ?

नाम चलेका पुराना क्याम्पसमा समेत संकट

लुम्बिनी प्रदेशकै अग्रणी बुटवल बहुमुखी क्याम्पसमा स्नातक तहमा विद्यार्थी भर्ना दर क्रमशः ओरालो लागेको छ ।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमध्ये पुरानो र ठूलो क्याम्पसमा गत वर्ष स्नातक तह प्रथम वर्षमा ३ हजार ५ सय विद्यार्थी भर्ना भएकोमा यो वर्ष एक हजार विद्यार्थी कम भएका छन् ।

बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खुमानन्द न्यौपाने भन्छन्, ‘गतवर्ष ३५ सय विद्यार्थी स्नातक प्रथम वर्षमा भर्ना भएका थिए, यो वर्ष भर्नादर २५ सयको हाराहारीमा खुम्चिएको छ । यो हरेक वर्ष घट्दो क्रममा छ ।’

उनका अनुसार एकातिर विद्यार्थीको भर्ना दर नै कम हुन थालेको छ भने अर्कोतर्फ चौथौ सेमेस्टरसम्म पुग्दा भर्ना भएकामध्ये ३० प्रतिशतले बीचमै छाड्ने गरेका छन् । बुटवल बहुमुखीमा कुनै बेला १० हजारसम्म विद्यार्थी भर्ना हुन्थे । केही वर्षअघिसम्म गाउँगाउँमा क्याम्पस खुलेकाले पनि विद्यार्थी भर्ना घटेको हो भने पछिल्लो पाँच वर्षयता उच्च शिक्षा अध्ययनका लागि विदेश जानेको संख्या बढेपछि क्याम्पसमा विद्यार्थी घट्न थालेका हुन् ।

केही ठूला क्याम्पसमा जेनतेन विद्यार्थी भर्ना भइरहेका छन् । लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले विद्यार्थीले यहाँ भविश्य देख्नै छाडेका कारण यो अवस्था आएको बताउँछन् । विद्यार्थी र अभिभावकको अध्ययनपछि रोजगारी र भविष्य सुनिश्चित गर्ने चाहनाले अध्ययनको बहानामा विदेश जाने र उतै बस्ने क्रम बढेको उनको भनाइ छ ।

‘स्नातक तहमा विद्यार्थीको संख्या ह्वात्तै घटेको छ, १२ पछि स्वदेशमा विद्यार्थीले भविष्य देख्नै छाडे । शिक्षा प्रणाली र राजनीतिक अवस्थामा सुधार नगरे स्थिति निकै कमजोर बन्दैछ’ उनले भने ।

स्नातक तह प्रथम वर्षमा अध्ययन गर्नेमध्ये २५ देखि ३० प्रतिशत बीचमै छाडेर विदेश पलायन भइरहेको उनको भनाइ छ । तर नेपालकै स्वायत्त क्याम्पसका रूपमा परिचित लुम्बिनी वाणिज्य क्याम्पसले वार्षिक कार्यक्रमका कोर्स नराखेकाले विद्यार्थीको कमी नभएको बताएको छ ।

लुम्बिनी वाणिज्यमा ३५ सय विद्यार्थी अध्ययनरत छन् । तर, वार्षिक कोर्स हुँदा लुम्बिनीमा पाँच हजारसम्म विद्यार्थी भर्ना हुन्थे । क्याम्पसले तीन वर्षयता विशिष्टीकृत कोर्समात्रै चलाएको छ । विशिष्टीकृत कक्षा सञ्चालन गरे पनि करिब १५ प्रतिशत विद्यार्थीले विदेशका लागि ‘नो अब्जेक्सन लेटर’ लिएर जाने गरेको क्याम्पस प्रमुख उपाध्याय बताउँछन् ।

सहरका कलेजमा विद्यार्थी संख्या पातलिँदै गएको छ । गाउँका क्याम्पस विद्यार्थीको अभावमा बन्द हुन थालेका छन् । लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, दाङ, रुकुम, रोल्पा, प्यूठान, बाँके, बर्दियाका कलेजमा स्नातक तहका विद्यार्थी क्रमशः घट्दै गएका छन् । सरकारी क्याम्पसहरूमा कम नम्बर ल्याएर बाहिर जान नसकेका विद्यार्थीहरू अलिअलि भएपनि निजी क्याम्पसहरूमा विद्यार्थी संख्या निकै घटेका छन् । यस क्षेत्रका निजी कलेज संचालकहरूले अब केही वर्षमा स्नातक तहको कक्षा चलाउनै नसक्नेगरी संकट आउन थालिसकेको बताए ।

किन बढ्दै छ विदेश मोह

सहरका कन्सल्ट्यान्सीमा हिजोआज विद्यार्थीमात्रै होइन, अभिभावकसमेत विदेशका लागि परामर्श लिन आउने क्रम बढ्दो छ । एक्सपर्ट एजुकेसन कन्सल्ट्यान्सीका सञ्चालक रोशन कँडेल अहिलेको यो अवस्थाले नेपालमा दक्ष जनशक्ति कम हुने बताउँछन् ।

‘पछिल्लो समय विद्यार्थी भिसामा गएकाहरू पनि नेपाल कमै फर्किन्छन्, उता जाने पढाईमा राम्रो नम्बर ल्याउने मात्रै हो । नेपालमा युवाहरूले भविष्य देखेका छैनन्, पढेर के गर्ने, आजको मूल प्रश्न यही हो, देशमा रोजगारी नपाउनु, राजनीतिक अस्थिरता, गुणस्तरीय शिक्षाको अभाव यिनै कारणले विद्यार्थी विदेश जानुपरेको हो’, कंडेलले भने ।

उनले पछिल्लो तीन वर्षमा अत्यधिक विद्यार्थी विदेश पठाएको बताउँछन् । पढाईसँगै कोरिया, जापानजस्ता देशमा रोजगारीका लागि जानेको संख्या पनि थामिनसक्नु छ। लुम्बिनी प्रदेशका कोरियन र जापानिज भाषा पढाइ हुने इन्स्टिच्युटमा विद्यार्थीको निकै भिड देखिन्छ ।

कनेक्ट कन्सल्टेन्सीका रोशन न्यौपानेका अनुसार अहिले क्यानडा, अष्ट्रेलिया, अमेरिकाका लागि धेरै विद्यार्थीहरूले चासो दिएको बताए । हरेक कलेजका राम्रो नम्बर ल्याउने विद्यार्थी यसरी बाहिर जानेगरेको उनको भनाइ छ ।

स्टडि वर्ल्ड कन्सल्ट्यान्सीका सञ्चालक देवबहादुर कुँवर केही वर्ष पहिले विद्यार्थी मात्रै आउने गरेपनि अहिले अभिभावक नै आएर सल्लाह लिन थालेको बताउँछन् । ‘केही वर्षअघिसम्म विद्यार्थीमात्रै कन्सल्ट्यान्सीमा आउनुहुन्थ्यो, हिजोआज अभिभावक पनि छोराछोरी विदेश पठाउनुपर्‍यो भनेर आउनुहुन्छ’ उनले भने ।

नेपाल शैक्षिक परामर्श संघ रूपन्देहीका अध्यक्षसमेत रहेका कुँवर अहिले विदेश जानका लागि आईईएलटीएस पढ्ने, भिसा प्रक्रिया लगायतका विषयमा मान्छेहरूको आकर्षण बढेको बताउँछन् ।
‘अस्ट्रेलिया, क्यानडा, संयुक्त राज्य अमेरिका, जापानजस्ता देश जानका लागि कन्सल्ट्यान्सी धाउनेहरू धेरै छन्,’ उनी भन्छन्, ‘त्यसबाहेक भारत, बंगलादेश, चीनमा जाने विद्यार्थीको संख्या पनि उस्तै छ ।’

सामान्यदेखि प्रदेशका मन्त्री, सांसद, उच्च तहका सरकारी कर्मचारी, शिक्षक, व्यवसायीलगायत कक्षा १२ पछि छोराछोरी विदेश पठाउन कन्सल्ट्यान्सी धाउने गरेका छन् ।

बुटवलमा १५ वर्षदेखि कोरियन भाषा पढाउँदै आएका जेएन शर्मा न्यौपानेले स्वदेशमा सम्भावना खोजेर थाकेपछि कोरियन भाषा पढ्न आउने धेरै युवा भेटेको बताउँछन् । रोजगार इन्स्टिच्युट बुटवलमा कोरियन भाषा पढाउँदै आएका उनले हालसम्म १८ सयभन्दा बढी विद्यार्थीलाई कोरियन भाषा पढाइसकेका छन् ।

१० महिनामा विदेश पढ्न जान झन्डै एक लाख जनाले ‘नो अब्जेक्शन सर्टिफिकट’ (एनओसी) लिएको शिक्षा मन्त्रालयको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र ब्याङ्कको अभिलेखअनुसार आर्थिक वर्ष २०७८÷७९ मा वैदेशिक अध्ययन शीर्षकमा ६७.७ अर्ब नेपाली रुपैयाँ बराबारको विदेशी मुद्रा बाहिरिएको थियो ।

पारिवारिक दूरी बढाउँदै, यसो भन्छन् विश्लेषक

प्रत्येक वर्ष हजारौं युवा बिदेसिँदा अझ डरलाग्दो र दीर्घकालीन मार पर्न सक्ने डर विश्लेषण हुन थालेको छ । दक्ष युवा समूह बाहिरिनुले दुई फरक पुस्तालाई एकअर्काबाट टाढा बनाएको छ ।

‘सक्षम र समर्थ बनेपछि छोराछोरी बिदेसिन्छन् । आमाबुवा एक्ला हुन्छन् र सहयोग चाहिएको बेलामा वरपर कोही हुँदैन । उदाहरणका लागि, धेरैका आमाबुवा बिरामी हुँदा अस्पताल पुर्‍याउने वा हेरविचार गर्ने समेत कोही छैनन्,’ अध्यापक तथा विश्लेषक हरि ज्ञवाली भन्छन् ।

सिङ्गो परिवार सँगै बस्ने, आमाबुबाले छोराछोरी हुर्काउने र छोराछोरी हुर्किएपछि आमाबुबालाई हेर्ने नेपाली परम्पराबारे चर्चा गर्दै उनले त्यो वातावरण क्रमिक रूपमा भत्किँदै र टुट्दै गइरहेको बताए ।

समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरेका अनुसार यो समस्या सामाजिक मात्र नभएर भावनात्मक साथ तथा सहायतासँग सम्बन्धित भएको छ । यसको असर विदेश गएका विद्यार्थीहरूमा समेत देखिने उनले बताए । सम्बन्धमा सौहार्द कम हुनु र पारिवारिक सम्बन्धमा दरारका घटना कम गर्नुलाई उनले मुख्य चुनौतीका रुपमा लिएका छन् ।

बुटवल कालिका क्याम्पसमा प्राचार्य घनश्याम पाठक यहाँ कमाउँदै र पढ्दै गर्ने अवसर नपाउँदा मेधावी विद्यार्थीहरू बाहिर जान थालेको बताउँछन् ।

‘सानैदेखि पैसा कमाउन पर्छ भन्ने मानसिकता बनाइदिने हाम्रो परिवार र समाज, योग्यता र क्षमताभन्दा पैसालाई प्राथमिक्ता दिने हाम्रो घर परिवार र समाज यो विषयका मुख्य कारक हुन्’, पाठक भन्छन्,‘देशमा भएको अस्थिरता अनियमितता हुनु र प्रणालीको विकास नहुनुले युवा शक्ति उत्साहित छैन र आफ्नो भविश्य देशमा नदेख्नु नै कारण नै यसरी बाहिर गइरहेका छन्, यसले केही वर्षमा देशलाई ठूलो संकट निम्त्याउँछ । ’

अध्यापक तथा विश्लेषक हरि ज्ञवालीका अनुसार नेपालको शैक्षिक पद्धति सीपमूलक र रोजगारमूलक बन्न नसक्नु र शिक्षा प्रविधिमय र व्यावसायिक नहुनु विद्यार्थी बाहिरिनु मूल कारण हो ।

‘शिक्षा प्राप्त गरिसकेपछि युवाहरूले आफ्नो भविष्य नेपालमा देख्न सकेका छैनन् । रोजगारीका क्षेत्रहरू धराशायी बनाइँदै छ । सिकेको सीप पनि प्रयोग गरेर बाँच्न सक्ने अवस्था देशमा छैन’, उनले भने, ‘ नेताहरूको भ्रष्ट चरित्र, अनैतिक क्रियाकलाप र राजनीतिक अस्थिरताले युवाहरू दिक्क भइसके । त्यसैले क्याम्पस तहमा भन्दा देश छोडेर बाहिर जानका लागि युवाहरूको भीड कन्सल्टेन्सीमा बढ्दै गएको हो ।’

अर्थशास्त्रका अध्यापक माधवकुमार पौडेलका अनुसार नेपाली विश्वविद्यालयमा बजारको माग अनुसारका कोर्ष नभएकाले यस्तो भएको विश्लेषण गर्छन् ।

‘अन्धाधुन्ध कोर्ष बनाउने, भर्ना गर्ने मात्रै छ । टीयुमा २०/२५ वर्षअगाडि डिजाइन गरिएका पाठ्यक्रम मात्र पढाइन्छ, अनि अहिलेका विद्यार्थी कसरी आधार मानेर बस्न सक्छन् ?’ उनले भने ।

‘राजनीतिले ग्रस्त छ विश्वविद्यालय शिक्षा-जसले गर्दा अनावश्यक लफडा हुने, ताला लाग्ने, झडप हुने भैरहन्छ । हाम्रा विविले डिग्री मात्रै दिए सीप दिन सकेनन् । बेरोजगारी-श्रम बजारको माग पूरा गर्ने पढाइ छैन । राज्यले बेरोजगारी हल गर्ने नीति, योजना र कार्यक्रम ल्याउन सकेको छैन’ पौडेल भन्छन् ।

विद्यार्थीको रोजाई अनुसारको नवीन पाठ्यक्रम नहुन, शिक्षा प्रणाली भद्रगोल हुनु, समयमा परीक्षा र नतिजा प्रकाशन नहुनु र समग्रमा भन्दा विद्यार्थीको भविष्य र योजना माथि हस्तक्षेप भैरहनु यसको मूल कारण भएको पौडेललेका भनाइ छ ।

आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसाल कोभिड १९ पछि विकसित देशहरूमा पूर्वाधार निर्माण र सेवाका क्षेत्रमा धेरै नै रोजगारीका अवसरहरू सिर्जना भएकाले ती अवसरहरू नेपाली युवाले शैक्षिक अध्ययन भिसाका माध्यमबाट समात्नका यस्तो भएको विश्लेषण गर्छन् ।

‘पछिल्लो आर्थिक वर्षमा मात्रै नेपाली विद्यार्थीमार्फत २५ अर्ब बाहिरिएको छ । नेपाली पुँजी बजारमा पुँजी र मानव संशाधनको अभाव उत्पन्न भएको निर्माण व्यवसायीलाई भुक्तानी दिन सक्ने पैसा नहुनुले प्रमाणित गरेको छ ।’

उनले भने, ‘हाम्रा विश्वविद्यालयहरू राजनैतिक दलको भर्ति केन्द्रको अखडा बनिरहेका छन् । जसले गर्दा नेपाली विश्व विद्यालयहरूले पढ्दै कमाउदै अवधारणामा आधारित पाठ्यक्रम निर्माण गर्न चुकिरहेका छन् । स्वदेशमा ४ वर्षे स्नातक तहको अध्ययन गरिसकेपछि रोजगारी तथा स्वरोजगारीको कुनै सुनिश्चितता नदेखिएकाले विद्यार्थीहरू भाषा अध्ययन गरेर वैदेशिक यात्रामा जान लालायित छन् ।’

भुसालका अनुसार अहिले विद्यार्थी बाहिरिएको विषय नेपाली अर्थतन्त्रको समृद्धिका लागि मन्द विष बनिरहेको र युवा जनशक्ति व्यवस्थापनका लागि सरकारसँग स्पष्टता नहुनु नि विदेश जानका लागि प्रेरित गर्ने मुख्य कारण बनेको छ ।

हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल नेपालमा शैक्षिक गुणस्तर कम भएर विद्यार्थी बाहिर गएको नभई रोजगारको ग्यारेन्टी र भविश्यको चिन्ताले यस्तो भएको विश्लेषण गर्छन् ।

‘उता कामसँगै पढ्न पाउने अवस्था छ, यहाँ नकारात्मक चिन्तन बढी भयो, व्यवहारिक शिक्षा यहाँ भएन, उद्योगसँग जोड्ने, व्यवसायसँग जोड्ने शिक्षा भएन, उहाँ जसरी काम पनि गर्ने र पढ्ने भएन’ भुसालले भने ।

उनका अनुसार यहाँ अवसर भएपनि त्यसलाई कार्यान्वयन गर्ने निकाय कमजोर भएको बताउँदै सबै दक्ष जनशक्ति बाहिर जाँदा केही वर्षमा देशलाई ठूलो दक्ष जनशक्तिको संकट पर्ने चिन्ता व्यक्त गर्छन् ।

‘जसरी गाउँ, बजार खाली भए, अब दक्ष युवा पिँढी सबै बाहिर गएपछि सजलै फर्कने वातावरण हुँदैन, अहिले उनीहरू जाँदा ठूलो रकम बाहिर गएको छ, त्यसले आर्थिक संकट पनि उसैगरी बनाउनेछ’ उनले भने ।


प्रतिक्रिया

2 thoughts on “विदेश अध्ययन : कन्सलटेन्सीमा खचाखच, क्याम्पसमा सुनसान

  1. हामी कहाँ नकारात्मक चिन्तन बढी भयो, व्यवहारिक शिक्षा भएन, उद्योगसँग जोड्ने, व्यवसायसँग जोड्ने शिक्षा भएन, यहाँ पढाई पनि काम पनि भएन । त्यसैले सबैजना बाहिर जान वाध्य भए ।

  2. सरकारले बिश्व परिवेश सापेक्ष पाठ्यक्रम, निश्चित शैक्षिक समय तालिकाको अभाव, रोजगार मैत्री शिक्षा पद्दत्तिको अभाव, र गैर शैक्षिक मैत्री राजनीतिको हावी भएको जस्ता कारणले नेपालको शिक्षालाई धरासायी वनाउन जिम्वेवार ठानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *