समृद्धि ल्याउन धैर्य र दूरदृष्टि
जीवनका हरेक पहलुमा सफलता पाउन दूरदृष्टि र धैर्य आवश्यक पर्छ । इमान, संयम, शान्तभाव र प्रतीक्षा धैर्यका आयामहरु हुन् । धैर्य र साहस अन्योन्यास्रित हुन्छ । छिटो हुने काम ढिलो हुनुलाई धैर्य भन्न मिल्दैन । धैर्यविनाको साहस विवेकसम्मत हुँदैन । विवेकविनाको साहस मूर्खता पनि हुनसक्छ । धैर्यविनाको साहस कातर कहलिन्छ । अस्थिर रुपमा प्रकट हुने विचार र उत्तेजनाले एकछिन अरुलाई झुक्याउन काम लाग्ला । तर, कालान्तरमा हुने अधोगति हो ।
महात्मा गान्धीलाई अहिंसावादी नेता मानिन्छ । डराएर वा सहेर अहिंस्रक बन्नेलाई उहाँले कायरहरुको अहिंसा उपमा दिनुभएको थियो । देशको रक्षा, स्वतन्त्रता, संस्कृति, आफ्नो र परिवारजनको जीउज्यान, धनमालको सुरक्षा गर्न नसक्ने, वैरीबाट डराएर अन्यायविरुद्ध प्रतिकार गर्न नसक्नेलाई महात्मा गान्धीले कायरहरुको अहिंसा भन्नुभएको छ ।
दूरदृष्टि वा सोच तत्काल अविश्वसनीय जस्तो पनि लाग्न सक्छ । तर, कालान्तरमा त्यो नै आविष्कार र समृद्धिको मार्गदर्शन बन्छ । त्यसका लागि विचलित होइन, विचारको स्थिरता र विवेक हुन भने जरुरी हुन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्बन्धमा हामी बालक छँदा सुनेको एउटा किस्साले हामीकहाँ दूरदृष्टिको खिल्ली उडाएको कथा जस्ता मिथक वा यथार्थ अरु पनि होलान् ।
उद्देश्य के लिनु
उडिछुनु चन्द्र एक ।
महाकविको त्यो कविताले त्यसबखत ठूलै हलचल भएछ । यिनी त बौलाए भनेर उपचार गर्न राँची लगिए छ रे ! अस्पतालमा भर्ना गरिएका महाकविलाई उपचाार गर्न खटिएका डाक्टर अरु बिरामी हेरेर फुर्सद पायो कि महाकविका लागि समय खर्चिंदा रहेछन् । अरुले ठान्दा रहेछन् कि डाक्टरले उनलाई खुबै केयर गरेका छन् भन्ने ।
वास्तविकता त डाक्टर महाकविका विचार, दृष्टिकोण, सोच, विद्वताले प्रभावित भएर फुर्सद पायो कि साथमा जाँदा रहेछन् । अस्पतालमा महिना दिन बित्यो, डिस्चार्ज दिएछन् । बिरामी कुरुवाले के के औषधि कसरी खुवाउने हो, ठीक त हुन्छ नि भनेर डाक्टरलाई सोधेछन् । ‘सबै चिज डिस्चार्ज प्रेस्किप्सनमा छ । काठमाडौं पुगेर हेर्नू । औषधि पनि उतै पाइन्छ’ भनेर डाक्टरले सम्झाएर पठाएछन् ।
हामी आफू आफैं चल्नै सकेनौं । अहिले हामीकहाँ युवा श्रमशक्ति मात्र विदेशिएको छैन, ब्रेन ड्रेन भयावह छ । विदेशमा उच्च शिक्षा हासिल गरेपछि फर्केर देशको सेवामा आउनु भनेर आशीर्वाद दिएरमात्र के गर्नु ? फर्केर आयो भने कुनै उपयोगिता नै छैन ।
काठमाडौं पुगेर प्रेस्किप्सन हेरेछन् । लक्ष्मीप्रसाद देवकोटा बर्न इन नेपाल वाज अ जोग्राफिकल मिस्टेक लेखिएको रहेछ । लक्ष्मीप्रसाद जस्ता दूरदृष्टि भएका विद्वान नेपालमा जन्मनु भौगोलिक त्रुटि हो । यिनी संयुक्त राज्य अमेरिका र बेलायत, सोभियत संघमा जन्मेका भए कति कदर हुन्थ्यो । यिनलाई बौलायो भन्ने नै पो बरु बौलाएका हुन सक्छन् । यस्तै यस्तै लेखिएको रहेछ । संयोग, त्यो कविता रचना भएको तीन वर्षमा सोभियत संघ र पाँच वर्षमा अमेरिकाले चन्द्रमामा रकेट यान उतारे । हामीले भने आफैंले आफैंलाई अपभ्रंसमा उडायौं । मख्ख पर्यौं । चन्द्रमामा यान पुग्यो, यहाँ अध्र्य चढाउने भनेर पूजा गर्नेलाई
‘मान्छेले कति के गरिसक्यो
पुगिसक्यो चन्द्रमा नै तनतनी,
हाम्रो बाहुन छामी मख्ख छ
अझै टुप्पी, जनै, कन्दनी’
भनेर श्लोक हाली व्यंग्य गर्यौं । सौर्यमण्डल जस्तै विचित्र प्रकृति शक्तिको पूजा वैज्ञानिक पनि गर्छन् । पृथ्वी खोस्रेर बसेका हामी के पृथ्वी दिवस मनाउँदैनौं र ? धर्ती पूजा गर्दैनौं र ? एकातिर महाकविलाई बौलायो कि क्या हो भन्ने अर्कोतिर चन्द्रमामा रुस, अमेरिका पुग्यो भनेर आफैंलाई उडाएर वडो नास्तिक बन्ने, गर्न भने केही नसक्ने !
हामी न हामी भयौं न त हामी ऊ भयौं । हामी आफू आफैं चल्नै सकेनौं । अहिले हामीकहाँ युवा श्रमशक्ति मात्र विदेशिएको छैन, ब्रेन ड्रेन भयावह छ । विदेशमा उच्च शिक्षा हासिल गरेपछि फर्केर देशको सेवामा आउनु भनेर आशीर्वाद दिएरमात्र के गर्नु ? फर्केर आयो भने कुनै उपयोगिता नै छैन । एउटा सोच, दृष्टिकोण बोकेर विभिन्न निकाय र जिम्मेवार पदाधिकारी कहाँ धायो, बल्लतल्ल सुनायो, ऊ आफैं कसरी धानिने हो, उल्टो सुनाउँछ । पर्ख्याे पर्ख्याे, फेरि विदेशै फर्क्याे । यहाँ दूरदृष्टि भएका धेरै युवा लक्ष्मीप्रसाद पलायन हुन बाध्य छन् ।
राम्रो गर्न खोज्नेलाई र राम्रो हुने खालको कामको विरोध गर्ने प्रवृत्ति प्रगतिको बाधक हो । केही काम, निर्माण सुरु नगर्दै चर्काे विरोध र प्रतिरोध हुन्छ । नालिस उजुरी गर्यो, काम गर्न नै उछ्छार पाउँदैन । अनि लागत र समय बढ्छ । चार वर्ष पहिले भारतले चार खर्ब खर्चेर बनाएको चन्द्रयान असफल भयो । देशले फेरि बनाउन खर्च दिन्छु भन्यो वैज्ञानिकलाई । साहस र धैर्य गर्यो, सफल भयो । यहाँ भए ती वैज्ञानिक विगो र विगो बराबरको अभियुक्त पो हुन्थे कि ? विज्ञले बनाउने योजनाभन्दा वैयक्तिक स्वार्थले बनाउने योजनाका कारण कि दशकौं सम्पन्न हुन्न कि त उपयोगितामा आउँदैन । केमा लगानी गर्नुपर्थ्यो, केमा भयो ।
पूर्वाधार निर्माण, कृषिजन्य तथा अन्य प्रचुर उत्पादन, प्रविधि अन्वेषण तथा विकास, विशेषज्ञ सेवाको लाभ लिने समयमा हाम्रा जनशक्ति विदेशिएका छन् । श्रमिकको रुपमा गएका त फर्किएलान् । तर, फर्केर देशमा श्रम गर्ने उमेर घर्किसक्छ । अरु विशेषज्ञ जनशक्ति अहिलेकै जस्तो भद्रगोलमा फर्किनेवाला छैन ।
रोजगारी सृजना, पूँजी वृद्धि र प्रविधि उपयोग, जनजीविकाका अत्यावश्यक क्षेत्रमा बजेट अभावले फिटिफिटी खेपेका भुक्तभोगी नै अनुत्पादक र तत्काल आवश्यक नभएका आवास र निवास निर्माणमा खर्च गर्ने गरी परियोजना बनाउँछन् । यस्ता त धेरै छन् अपलगानी । नेपाल नबन्दैका त्यतिवेलाका भुरे, टाकुरे शासकका सुरक्षा पर्खालमा प्रदेश सरकारको लगानी अचम्मलाग्दो छ । यसको सट्टा गाउँ, बस्तीमा रहेका प्रहरी इकाइहरु, जो छाप्रोमा काम चलाइरहेकालाई भवनमा पर्याप्त बजेट, आवश्यक उपकरण सहयोग सुरुदेखि राखेका भए मुख्यमन्त्रीले प्रदेश प्रहरी देऊ भनेर गनगन गर्नुपर्थ्यो र ? प्रहरी संगठन नै आफैं उत्साहित हुन्थ्यो होला नि !
पुगिसरी भएपछि श्रृङ्गारिक क्षेत्रमा खर्च गर्नु स्वाभाविक हो । पहिले के गर्दा स्वावलम्बी, आत्मनिर्भर भइएला त्यसमा गर्नुपर्यो । समृद्धि गफले आउँदैन । भकारी रित्तो छ भने वेसाह गर्नैपर्छ । सधैं वेसाह गर्न नपर्ने गरी फलाउने उपाय गरौं । समृद्ध बनौं अनि सिउरी खेलौंला । युगले ४०० वर्षमा दिने जनसांख्यिक लाभ हामीले आधा समय गुमाइसक्यौं । साना बालकको संख्या धेरै हुने समयमा तिनको लालन र भरणपोषणमा खर्च हुन्छ । युवा जनसंख्या धेरै हुने समयमा हो, देशले विकासमा छलाङ लगाउने । यस्तो अवसर २० वर्ष खेर गैसक्यो । अबको २५ वर्षपछि प्रौढ बढी हुनेछन् । अर्थात वानप्रस्थमा उकालो लाग्न सकिँदैन । भएकोलाई थाम्नेमात्र हो । त्यसपछि त वृद्ध जनसंख्या बाहुल्य हुन्छ । अर्थात सन्न्यास । राज्यले अनुत्पादक भनेर लगानी गर्न पाउँदैन, खर्च बढ्छ ।
युवा बाहुल्य भएको जनसांख्यिक लाभको समय छ अहिले हाम्रोमा । तर, पूर्वाधार निर्माण, कृषिजन्य तथा अन्य प्रचुर उत्पादन, प्रविधि अन्वेषण तथा विकास, विशेषज्ञ सेवाको लाभ लिने समयमा हाम्रा जनशक्ति विदेशिएका छन् । श्रमिकको रुपमा गएका त फर्किएलान् । तर, फर्केर देशमा श्रम गर्ने उमेर घर्किसक्छ । अरु विशेषज्ञ जनशक्ति अहिलेकै जस्तो भद्रगोलमा फर्किनेवाला छैन । उसले उतै घरजम गर्नेछ र गर्छ ।
अबको ३०-३५ वर्षपछि देशको सुरक्षा जनशक्ति र अन्य सार्वजनिक सेवामा आवश्यक पर्ने विश्व प्रतिस्पर्धी क्षमताका सक्षम नागरिक नहुँदा राष्ट्रियता कति बलियो रहला ? कृषि क्षेत्रमा निःशुल्क लिजमा जग्गा दिने, सघन सहुलियत दिने, उपजको बजार सुनिश्चितता, व्यवसायीकरण र प्रविधिकरण गर्ने गरी लगानी गरिएमा युवालाई देशमै रोजगारी सृजना गर्न सकिन्छ । वनजंगल वनमाराले खाएको छ । वनयजन्तु वनमा छिर्न नसकेर बस्ती पसेका छन् । काठ कुहिएर खेर गइरहेका छन् । विदेशबाट काठ आयात हुन्छ । खाद्यान्नलगायत आयातमा खर्च गर्नुभन्दा त्यो लगानी उत्पादनमा लगाउने हो भने आत्मनिर्भर बन्न सकिन्छ ।
नेपालका विश्वविद्यालयमा विदेशी विद्यार्थी पढ्न आउने गरी व्यवस्थापन गर्नुपर्यो । अनि युवा श्रमशक्ति विदेशिनबाट रोक्न, ब्रेन ड्रेन रोक्न सकिएला । हाम्रो जस्तो राम्रो मौसम भएको ठाउँमा स्तरीय रंगशाला बनाएर अन्तर्राष्ट्रिय खेलकुदको हब बनाउने हो भने आयस्रोत बढ्छ । देशको इज्जत बढ्छ ।
आपूर्ति रोकिँदा हारगुहार गर्छौं । अघिपछि उसैको विरोध गर्नुलाई राष्ट्रवाद भन्छौं । इञ्जिनियर, चिकित्सक, नर्स, प्यारामेडिक्सको दरबन्दी बढाएर देशमै टिकाउन जरुरी भइसक्यो । स्वदेशमै पढ्न पाउन पर्यो । बर्सेनि अर्बौं रुपैयाँ शिक्षा र स्वास्थ्योपचारका लागि विदेशिएको छ । नेपालका विश्वविद्यालयमा विदेशी विद्यार्थी पढ्न आउने गरी व्यवस्थापन गर्नुपर्यो । अनि युवा श्रमशक्ति विदेशिनबाट रोक्न, ब्रेन ड्रेन रोक्न सकिएला । हाम्रो जस्तो राम्रो मौसम भएको ठाउँमा स्तरीय रंगशाला बनाएर अन्तर्राष्ट्रिय खेलकुदको हब बनाउने हो भने आयस्रोत बढ्छ । देशको इज्जत बढ्छ । खर्च कटौती गर्ने ठाउँ अरु नै छन् ।
सिक्ने अरुबाट अनि आफूले के गर्ने जान्नु त आफैंले पर्छ । पहिले आफैंले विरोध, अवरोध गरेको विषय अहिले आफैंले प्रायश्चित गर्न परेको छ । कहिले अरुण चाहिँदैन भन्यौं, कहिले बुढी गण्डकी, सेती आफ्नै रकमले बनाउँछौं भन्यौं । निर्माण व्यवसायीले एक त समयमा काम गर्दैन । अर्को गरेको कामको भुक्तानी दिन सकिएको छैन । यस्तोमा अनुदानको परियोजनाको विरोध गर्नुको तुक छैन । आम्दानी सुकी पैसा, खर्च रुपैयाँको अवस्थामा छौं । सित्तैमा लगेर विकास गर भनेर दिँदा पनि विरोध र अवरोध गर्नेको पछि लाग्नु जायज नहोला । आफूले कट्टु समाल्न नसक्ने, अरुले कुरीकुरी भन्यो भनेर रिसाउने ! राम्रोलाई नराम्रोमा मिसाउनेको खेती कसरी चलेको छ ? त्यस प्रवृत्तिको नाश गर्नुको सट्टा हौस्याउनु न्याउरी मारी पछुतो हुन्छ । जतिसुकै भाषण गरे पनि गरिबी नहटेसम्म देश बलियो हुनै सक्दैन ।
आफैं त्रसित, आवेगमा रहेर हुने केही होइन । परस्पर विश्वास, सहनशीलता, मूल्य र मान्यतामा स्थिर भई असल पद्धति बसालौं । बेमौसमी गफ, भ्रमको खेती, बेइमानी, सधैंको दाउपेच, झूटा आश्वासनको अन्त्य गरौं । अचम्मको छिनमा झगडा, छिनमा आफ्नो स्वार्थका लागि मिल्ती गर्न सक्नेले देश र जनताका लागि मिले गर्न सकिँदैन र ? हाम्रो सवल पक्षको पहिचान गरौं । असल कार्यलाई निरन्तरता दिऔं । पूरा गर्न नसकिने आश्वासन नबाँडौं । यसले जनतामा वितृष्णा उत्पन्न गर्छ । चौबाटोमा उभिएर कहीं पुगिँदैन । चौरास्तामध्ये आफ्नो लेन पकडेमात्र गन्तव्यमा पुगिन्छ । शक्तिशाली कहलिएका देश पनि सबै विषयमा सवल छैनन् । दूरदृष्टि राखेर हातेमालो गरौं । समृद्धि हाम्रै आँगनमा छ ।
(लेखक पूर्वसहसचिव हुन् ।)