लिम्बू-राजवंशीको टाउको ताक्ने पहिचानको ढुंगा र सुवास नेम्वाङको अन्तिम भाषणको कालजयी सन्देश
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
लाखौँ औषध अस्त्रशस्त्र महिमा देखेर र्डर्दैन त्यो ।
यो काल महिमाले मानव मृत्युको श्रेष्ठता दर्शाउँछ । मृत्यु सात्वत सत्य हो । भनिन्छ नि मान्छे जन्मेपछि मर्नुपर्छ नै तर उसले जिउन जान्नुपर्छ । विश्वमा प्रति सेकण्ड लाखौँ मानिसहरूको जन्म भइरहेको हुन्छ भने लाखौं मानिसहरूको मृत्यु भइरहेको हुन्छ । तर, सत्य के हो भने कसैको मृत्युमा मानिस खुसी हुन्छन् भने कसैकोमा संसारनै भावविभोर हुन्छ ।
साँच्चै मृत्यु सबैको एकनासको हुँदैन । नेकपा (एमाले) का उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा नेपाली राजनीतिका शालीन व्यक्तित्व सुवास नेम्वाङको मृत्युमा आज सारा नेपाल नै शोकाकुल देख्दा उनीप्रतिको सम्मान झन् बढेर आयो ।
शालीन, तार्किक र जिम्मेवार नेतृत्वको परिचय बनाएका सुवास नेम्वाङको अन्तिम भाषण भने सम्झिन लायकमात्र छैन नेपाली राजनीतिमा सहिष्णुताका सन्दर्भमा मार्गर्दशक बन्न सक्छ ।
धरानको उनको भाषणको अंश यस प्रकार थियो- ‘हामीले गरेका हौं धर्म निरपेक्षता घोषणा । समावेशी त हामीले बनाएका हौं । अनि यो ठाउँमा शीर ठाडो पारेर छाती फुकाएर विनम्रतापूर्वक म आग्रह गर्न चाहन्छु- किराँतहरूका महागुरु फाल्गुनन्दलाई यो देशको राष्ट्रिय विभूति मेरो पहलमा, हाम्रो पार्टीको पहलमा, हाम्रो पार्टीको नेतृत्वमा हामीले घोषणा गरेका हौं । अब फाल्गुनन्द किराँतीहरूको मात्र रहेनन्, उनी सिंगो देशको, सबै जाति भाषा धर्म संस्कृतिका मान्छेको महागुरु भए ।यति काम गर्ने पार्टीलाई भन्नोस् त, पहिचानविरोधी भन्न मिल्छ ?’
उनी त्यतिमा रोकिएनन् । पहिचानका नाममा उग्र र अराजक भई ढुंगा मुढा गर्नेहरूलाई आफ्नै भद्र शैलीमा उत्तर दिँदै भने- ‘ठीक छ, हिँड्ने क्रममा कहीँ कतै अलिकति कमजोरी भयो कि भन्नु, छलफल गर्नु एउटा कुरा हो, तर पहिचानविरोधी भन्ने, अनि को-को साथीहरूले ढुंगा हान्ने, बिर्सिसकेँ मैले । ढुंगा चाहिँ हानेका हुन् है । किनभने, बुधबारे (झापा) मा ढुंगा खाँदाखेरि म पनि अध्यक्ष कमरेडसँगसँगै थिएँ । पाँच/सातदिन पछाडि एउटा भाइले फोन गरे मलाई- दाइ तपाईँ पनि हुँनुहुँदोरहेछ, तपाईँलाई चाहिँ हिर्काएको हैन है ढुंगा रे । मलाई यो तरिका खुबै मन पर्यो क्या । मन परेको कुरा मन पर्यो भन्छु । सँगै गाडीमा हिँडेको छ अध्यक्षसँग । गटङटङ असिनाजस्तो ढुंगा बर्सिएको छ । त्यो चाहिँ केपी ओलीमाथि मात्रै हो, तँलाई चैँ हैन है भनेपछि हेर्नोस् त ! भन्नेले भनिगए । म पनि सोझो, मैले पत्याएँ नि त ।’
उनले थपे, ‘एकजना हाम्रा ताप्लेजुङतिरको लिम्बू डीएसपी, बल्ल बल्ल डीएसपी भएका थिए बिचरा । ढुंगाले धेरै होइन, १७ टाँका । टाउकोमा १७ टाँका लाग्यो । अर्को एकजना हवल्दार विचरा राजवंशी परेछन्, उनको च्यापु नै भत्कियो । प्लेट लगाएर उनलाई उपचार गर्न राखिराखेको थियो । म भेट्न गएको थिएँ । र यतिमात्रै मेरो मुखबाट फुत्त निस्कियो- हैन यो पहिचानको ढुंगा त खतरनाक हुँदोरहेछ । मलाई विश्वास छैन, यो पहिचानको ढुंगा हो भनेर । तर, यो पहिचानको ढुंगा त खतरनाक हुँदोरहेछ । ठ्याक्कै ताप्लेजुङको लिम्बू डीएसपीलाई लाग्ने । झापाको राजवंशी हवल्दारलाई लाग्ने ! कस्तो खालको ढुंगा हो यो ?’
लोकतन्त्रको महत्वलाई इंगित गर्दै उनले भने ‘म आग्रह गर्न चाहन्छु साथीभाइहरूलाई- यो ढुंगा हान्ने कुरा गलत हो । लोकतन्त्रको मूल्य मान्यताविपरीतका यस्ता काम कारबाहीहरू जहाँबाट भएको हो, त्यसलाई रोकौं । लोकतान्त्रिक विधि प्रक्रियाका बमोजिमका काम कारबाहीहरू गर्नुहोस् । कुनै कुरामा मेरो बारेमा चित्त बुझेन, विरोध गर्नुहोस् । पार्टीको बारेमा चित्त बुझेन, विरोध गर्नोस् । तर, लोकतन्त्रको मूल्य र मान्यतालाई तपाईँ हामीले बलियो बनाउँदै लिएर जानुपर्छ । यो नै देश र जनताको हितमा छ ।’
सामाजिक सञ्जालमा भाइरल भइरहेको उनको भाषणको यी अंशले मुलभुतरूपमा दुईवटा कुरा गरेको छ : लोकतन्त्रको महत्व र सह अस्तित्वको स्वीकार्यता । सही मानेमा भन्ने हो भने लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हो । समय समयमा लोकतन्त्रकै हत्या गर्ने वक्तव्यबाजी जिम्मेवार नेतृत्वहरूले नै गरेको पाइन्छ ।
हत्या र हिंसाको बाटो आजको युगको विकल्प हुन सक्दैन । शालीन व्यक्तित्वका छवि बनाएका नेम्वाङ लोकतान्त्रिक मूल्य मान्यताकै जगमा परिवर्तन सम्भव छ भनेर विश्वास गर्थे । उनी आफैँ संविधानसभाको अध्यक्ष हुँदा विभिन्न बाधा अवरोधका बाबजुद लोकतान्त्रिक प्रक्रियाबाट लोकतान्त्रिक संविधान जारी गरेका थिए ।
अर्को महत्वपूर्ण पक्ष उनले उजागर गरेको सहकार्य र सहअस्तित्व हो । आजको विविधताले भरिएको समाजमा राज्य निर्माणभन्दा राष्ट्र निर्माण बढी चुनौतीपूर्ण छ । सहअस्तित्व र सहिष्णुतालाई महत्व दिँदा धर्म निरपेक्षताका पक्षमा वकालत गर्दा उनले धर्मविरोधी मात्र होइन निश्चित धर्मको प्रचारकको रूपमा आरोप खेप्नपर्यो ।
हालसालै जातीय पक्षधरताका विरोधमा धारणा राख्दा उनलाई पहिचान विरोधीको संज्ञा दिन पछि परेनन् अतिवादीहरू । तर, उनले सधैँ सत्यको पक्षधरता देखाए, बहुलवादको स्वीकार्यताको आवाज बोले अनि लोकतन्त्रको पक्षमा वकालत गरिरहे ।
‘पहिचानको ढुंगा’ लाई बिम्बका रूपमा प्रयोग गरेर उनले जातीय र धार्मिक द्वन्दले निम्त्याउने भयाभव परिस्थितिलाई इंगित गर्न खोजेका थिए । साम्प्रदायिक दंगा फैलिएमा त्यसले यो जात र त्यो जात नभन्ने र सबै पक्षमा नकारात्मक प्रभाव पार्ने उनको राय थियो ।
जसरी उनले एक धर्मको वर्चश्वभन्दा धर्मनिरपेक्षता उत्तम हुने कुरा गरे आफ्नो जीवनको अन्तसम्म पनि एकल जातीय पहिचानको विपक्षमा मत राखि नै रहे । न उनी पहिचानका विरोधी थिए न त धर्मकै । उनी त राज्य एक धर्म या जाति विशेषको वर्चश्वका कुरामा मात्र फरक राय राख्थे ।
यो संसार छाडेर जाँदै गर्दा उनले आफू र आफू आवद्ध पार्टीलाई लगाइएका पहिचान र धर्मविरोधी आरोपको गतिलो जवाफ भने दिए । लाग्छ त्यो अन्तिम भाषण यमराजले एक युगपुरुषको अन्तिम इच्छा पूरा गर्न दिएको समय थियो ।
यदि उनको आत्माको शान्ति चाहने हो भने हामी सबैले जातीय, धार्मीक र सांस्कृतिक अतिवादलाई जरैदेखि उखेल्नुपर्छ । सहअस्तित्व , सहकार्य र समभावयुक्त लोकतान्त्रिक राजनीतिको पक्षधरता नै उनीप्रतिको सम्मान हुनेछ ।
अब फेरि त्यो पहिचानको ढुंगाले ताप्लेजुङको लिम्बूको टाउको नफुटाओस् , झापाको राजवंशीलाई नलागोस् अनि नेपाल आमाको प्रगति नरोकोस् । यो नै एक कुशल र शालीन अनि सर्वस्वीकार्य राजनेता सुवास नेम्वाङप्रति नेपाली समाजले प्रदान गर्ने उचित श्रदाञ्जली हुनेछ ।