कञ्चनपुरमा वडाध्यक्षले नियम बनाइ राजपत्र प्रकाशित गरे, वडा कार्यालयलाई छ यस्तो अधिकार ? – Nepal Press

कञ्चनपुरमा वडाध्यक्षले नियम बनाइ राजपत्र प्रकाशित गरे, वडा कार्यालयलाई छ यस्तो अधिकार ?

चितवन । एक साताअघि कञ्चनपुरको पुनर्वास नगरपालिकाको कार्यपालिका बैठक थियो । उक्त बैठकमा नगर प्रमुख तोयप्रसाद शर्माले सबै वडाध्यक्षहरुलाई एउटा मौखिक निर्देशन दिए- वडामा १२ बजेपछि म्यूजिक बजाउने, डिजे र मदिरा नियन्त्रण गर्न लाग्नुहोला ।

चाडपर्व नजिकिँदै जाँदा गाउँमा मदिर सेवन, होहल्ला बढ्दै गएको चर्चापछि बैठकमै ११ वटै वडाध्यक्षहरुलाई नगरप्रमुख शर्माको निर्देशन थियो त्यो ।

प्रमुखले दिएको निर्देशन पालना गर्नु स्थानीय तहका सेवा इकाई अन्तर्गतका वडाअध्यक्षहरुको जिम्मेवारी हुने नै भयो ।

सोही निर्देशन पालना गर्ने क्रममा वडा नम्बर ९ का वडाध्यक्ष नरबहादुर विकले त नियम नै आफैं बनाएर पास गरिदिए ।

९ नम्बर वडा कार्यालयको स्थानीय मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी नियम २०८०, निर्माण गरी वडा कार्यालयबाट स्वीकृत पनि भयो । स्वीकृत नियमलाई वडाअध्यक्ष नरबहादुर बिक स्वयंले प्रमाणित गरे । हस्ताक्षर र वडा कार्यालयको छाप लगाएर ‘स्थानीय वडा राजपत्र’ नाम दिएर राजपत्रमा प्रकाशित समेत गरिदिए । उनले राजपत्र मदिरा र डीजे नियन्त्रण तथा व्यवस्थापन घोषणा कार्यक्रम आयोजना गरेरै राजपत्र प्रकाशित गरे ।

अहिले सामाजिक सञ्जालमा पुनर्वास नगरपालिका वडा नम्बर ९ को राजपत्र सार्वजनिक भएसँगै स्थानीय तह अन्तर्गत वडा कार्यालयले राजपत्र प्रकाशित गर्न पाउने नपाउने विषय अन्यौल भइरहेको देखिन्छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले कानून बनाउने अधिकार स्थानीय तहलाई दिएको छ । उसले आफ्नो क्षेत्राधिकार भित्र रहेर गाउँसभा वा नगर सभाबाट कानून बनाउने अधिकार स्थानीय तहलाई दिएको छ । वडाध्यक्ष सभा र गाउँ/नगर कार्यपालिकाको सदस्य हुन्छन् । उनीहरुले आफ्नो वडाको समस्या हेरी प्रस्तावको लागि छलफल गराउन सक्छन् ।

कानून बनाउने सभाको हिस्सा बन्ने अधिकार भएका वडाध्यक्षलाई स्वयंलाई नै कानून बनाउने अधिकार भने छैन । यसबारेमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेल भन्छन्– वडाध्यक्षले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिरको काम गरेका हुन् ।

उनले शासकीय इकाइको थलो पालिका र सेवा दिने तल्लो इकाइ मात्रै वडा कार्यालय भएको बताए ।

वडाकै राजपत्र प्रकाशित गरेको विषयमा प्रतिक्रिया लिन वडाध्यक्ष बिकलाई सम्पर्क कोसिस गर्दा उनको नम्बर भने स्वीच अफ थियो ।

नगरप्रमुख तोयप्रसाद शर्मा भने राम्रो नियतले नियम बनाएका होलान् भन्छन् । उनले भने– राजपत्र नै प्रकाशित भएको विषय मलाई जानकारी छैन । तर मेरो निर्देशन पालना गर्नु कर्तव्य भएकोले उनले राम्रै कामको लागि निर्णय गरे होलान् जस्तो लाग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *