कन्तविजोक अवस्थामा गौतमबुद्ध क्रिकेट रंगशाला, सफाइका लागि बल्ल सल्बलायो महानगर (भिडिओ) – Nepal Press

कन्तविजोक अवस्थामा गौतमबुद्ध क्रिकेट रंगशाला, सफाइका लागि बल्ल सल्बलायो महानगर (भिडिओ)

काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण थालेको महत्वाकांक्षी गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक अभावका कारण अलपत्र छ । अहिले निर्माणस्थलको अवस्था विरक्तलाग्दो देखिन्छ ।

फाउन्डेसनले रंगशाला निर्माणका लागि आवश्यक स्रोत जुटाउन नसकेपछि काम रोकिएको थियो । सरकारले फाउन्डेसनबाट रंगशालाको स्वामित्व लिएर थप काम आफैंले अघि बढाउने निर्णय गरेको पनि धेरै भइसक्यो । तर, अहिलेसम्म प्रगति शून्य छ ।

रंगशालामा काम नभएपछि सबैतिर झाडीले छोपेको छ । यसअघि रंगशालाको नमुना मैदानमा क्रिकेट म्याचसमेत हुने गरेका थिए । तर, पछिल्लो समय त्यहाँ पनि सबै घारीले ढाकिएको छ । महानगरले रंगशाला निर्माणस्थलमा सामान्य सुरक्षामात्रै दिँदै आएको थियो ।

यसैबीच नेपाल क्रिकेट संघ चितवनमा नयाँ नेतृत्व आएसँगै गौतम बुद्ध रंगशालाको पूर्णतामा चासो दिइरहेको छ । संघले रंगशाला निर्माणलाई सुचारु गर्ने सन्दर्भमा भरतपुर महानगरसँग समन्वय गर्न थालेको हो ।

महानगरले केही दिनदेखि निर्माणस्थलको सफाइमा कामदारहरु खटाएको छ । अहिले करिब एक दर्जन कामदार त्यहाँ झाडी सफाइ गर्न खटिएका छन् ।

प्रदेश सरकारले मैदानको मेजरमेन्ट गरेर स्टिमेट गर्न निर्देशन आएको भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामाले बताए ।

उनले भने, ‘घाँस अत्यधिक बढेकाले मेजरमेन्टमा समस्या भयो । प्रदेश सरकारले मेजरमेन्ट गरेर स्टिमेट गर्नु भन्ने निर्देशन छ । त्यसअनुसार हामी घाँस क्लियर गर्दैछौं । त्यसपछि मेजरमेन्ट हुन्छ र हामी विस्तृत स्टिमेट गरेर बुझाउनेछौं ।’

अहिले दैनिक ३० जना कामदार घाँस काट्न खटिएको उनले जानकारी दिए । एक साताभित्र घाँस काटेर साइट क्लियर गरी मेजरमेन्ट गर्ने उनको भनाइ छ ।

चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियाले मैदानको सरसफाइ गरेर क्रिकेट खेल्न योग्य बनाउने उद्देश्य रहेको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘रंगशाला महानगरपालिकाको मातहतमा छ । तर, एउटा सरोकारवाला निकायको हैसियतले हामीले चासो दिएका हौं । यति ठूलो संरचनालाई यत्तिकै अलपत्र छोड्नु हुँदैन भन्ने हाम्रो मान्यता हो ।’

मैदानको सरसफाइपश्चात टेन्डर गरेर निर्माण कार्य अघि बढाइने उनले बताए ।

‘मैले बुझेअनुसार नयाँ डीपीआर बनाएर कम लागतमा निर्माण गर्ने महानगरको सोच छ । हामी आफ्नोतर्फबाट महानगरसँग समन्वय गर्न तयार छौं’, अध्यक्ष पियाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *