भौतिक मन्त्रालयका ९ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उप महानिर्देशकसहित नौ जना सहसचिवको सरुवा गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्रीस्तरीय निर्णय गर्दै सडक विभागका उपमहानिर्देशकसहित मन्त्रालयका महाशाखा, केन्द्र तथा आयोजनालगायतमा कार्यरत सहसचिवको सरुवा गरेका हुन् ।
मन्त्रालय स्रोतका अनुसार सडक विभागका उपमहानिर्देशक नरेशमान शाक्यको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा सरुवा भएको भने संघीय सडक सुपरिवेक्षण अनुगमन कार्यालय इटहरीमा कार्यरत प्रेमप्रकाश खत्रीको उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनामा सरुवा भएको छ ।
यस्तै, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखराबाट ललिजन खनालको सडक विभागमा उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।
पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनामा कार्यरत हरिकुमार पोखरेलको सडक विभागको पुल महाशाखामा, उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारबाट श्यामबहादुर खड्काको संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रबाट अजयकुमार मूलको हुलाकी राजमार्ग आयोजना निर्देशनालयमा सरुवा भएको छ ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयबाट विनोदकुमार मौवारको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकमा सरुवा भएको छ भने हुलाकी राजमार्ग आयोजनामा कार्यरत शुभराज न्यौपानेको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखरामा सरुवा भएको छ । यस्तै, जलमार्ग आयोजनामा कार्यरत कुवेर नेपालीको पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजना निर्देशनालयमा सरुवा भएको छ ।