डिजेल अपचलनको मुद्दामा डिपो प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी – Nepal Press

डिजेल अपचलनको मुद्दामा डिपो प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

पोखरा । नेपाल आयल निगम लिमिटेडको गण्डकी प्रादेशिक कार्यालय, कास्की (गगनगौंडा)मा भएको डिजेल अपचलन घटनामा प्रादेशिक कार्यालय गगनगौंडाको प्रमुख चित्तरञ्जन दासविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको छ ।

घटनापछि फरार रहेको प्रमुख दासविरुद्ध कास्की अदालतले पक्राउ पुर्जी जारी गरेको हो । डिपो प्रमुख दास भने अझै फरार छन् । घटना बाहिरिएपछि उनलाई नेपाल आयल निगम लिमिटेडले निलम्बनसमेत गरेको छ ।

सरकारी वकिलको कार्यालयले अदालतमा डिपो प्रमुख दासलाई कम्तीमा ५ वर्ष जेल सजाय र ५० हजार रुपैयाँ जरिवाना माग दाबी गरी मुद्दा दायर गरेको थियो । अन्य ३ जना व्यवसायीलाई जनही ३ वर्ष जेल सजाय वा ३० हजार जरिवाना वा दुवै सयाजको माग दाबी गरी मुद्दा दायर गरिएको थियो ।

डिजेल अपचलन घटनामा पक्राउ परेका पेट्रोल पम्प व्यवसायी बाबुराम जमरकट्टेलसहित ३ जनालाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । न्यायाधीश केशवप्रसाद बाँस्तोलाको इजलासले व्यवसायी जमरकट्टेलसहित गण्डकी–धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुंगाना र ट्यांकर चालक निर्मल थापालाई धरौटीमा छोड्न आदेश दिएको हो ।

ट्यांकरधनीसमेत रहेका जमरकट्टेललाई १ लाख ५० हजार, ढुंगानालाई १ लाख र चालक थापालाई ७५ हजार धरौटीमा छाड्न आदेश दिएको अदालतका शाखा अधिकृत दुर्गाप्रसाद रिजालले जानकारी दिए । सबै ३ जना धरौटी रकम बुझाएर थुनामुक्त भएका छन् । उनीहरु कैद नबसी नै मुद्दा लड्नेछन् ।

२५ साउनमा पोखरा डिपोबाट १२ हजार लिटर डिजेलको पैसा तिरेर निस्केको ट्यांकरलाई जिल्ला प्रशासन कार्यालय, कास्कीको अनुगमन टोलीले नियन्त्रणमा लिई जाँच गर्दा १५ हजार २ सय लिटर डिजेल फेला परेको थियो ।

तोकिएभन्दा ३ हजार २ सय लिटर बढी डिजेल अपचलन गरेको घटनामा प्रहरीले विस्तृत अध्ययन गरी आयल निगमको तत्कालीन डिपो प्रमुख चित्तरञ्जन दाससहित तिनैजनालाई कारबाहीका लागि मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरी गरी बिक्रीका लागि लैजाँदै गरेको ट्यांकर गत साउन २५ गते नियन्त्रणमा लिएको थियो । निगमको डिपोबाट डिजेल लोड गरी पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग२ख ८३६ नम्बरको ट्यांकर कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेको आदेशमा नियन्त्रणमा लिएको थियो ।

१२ हजार लिटर क्षमताको उक्त ट्यांकरमा ३ हजार लिटर इन्धन चोरी गरी बिक्री गर्न पठाइएको थियो । जिल्ला प्रशासन, नापतौल कार्यालय र आयल निगमले संयुक्त रुपमा नापजाँच गर्दा ३ हजार लिटर बढी इन्धन भेटिएको थियो ।

निगम गण्डकी प्रदेशका कार्यालय प्रमुख दासमाथि डिपोका लागि तोकिएको नोक्सानी लक्ष्यको दुरुपयोग गरी इन्धन चोरी गर्ने गरेको आरोप लाग्दै आए पनि यसअघि प्रमाण भेटिएको थिएन । दास प्रदेश प्रमुख बनेपछि गण्डकीमा निगमले अघिल्लो २ आर्थिक वर्षभन्दा दोब्बर नोक्सानी गराइएको निगम केन्द्रीय कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

डिपोबाट बिक्री हुने इन्धनको नापजाँच गर्न (डिप लिने)कार्यालयका अपरेसन इन्चार्ज परशुराम अधिकारीलाई नदिई दासले आफै गर्ने गरेका थिए । साउन २५ गते नियन्त्रण गरिएको ट्यांकरको चलान, बिल र गेटपास समेत दासले आफै सही गरेर पठाएका थिए ।

बरामद गरिएको ३ हजार लिटर डिजलको मूल्य करिब ४ लाख ५९ हजार रुपैयाँ छ । १२ हजार लिटरको बिल काटेर दासले १५ हजार लिटर डिजल उपलब्ध गराइदिएका थिए । बिक्री भएभन्दा बढी डिजल ओसारपसार गर्ने ट्यांकर जमरकट्टेलको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *