‘नाडा अटो शो २०२३’ विद्युतीय सवारी साधनको रौनक बढ्दो (तस्बिरहरू) – Nepal Press

‘नाडा अटो शो २०२३’ विद्युतीय सवारी साधनको रौनक बढ्दो (तस्बिरहरू)

काठमाडौँ । ‘नाडा अटो शो २०२३’ मा विद्युतीय सवारीहरुको रौनक देखिएको छ ।

यसअघि पेट्रोलियम सवारी साधनको बढ्दो रजगज हुने नाडा शोमा यसपालि भने विद्युतीय सवारी साधनले धेरै हिस्सा ओगटेको हो ।

तीन वर्षसम्म हुन नसकेको नाडा अटो शो यस वर्ष निकै तडकभडकका साथ आयोजना गरिएको छ ।

आर्थिक मन्दीले बजारमा रुपैयाँको कारोबार सुस्ताएको अवस्थामा व्यवसायीको सक्रिय सहभागिता र अवलोकन कर्ताको घूँइचोले नाडा अटो शो सफल हुने अपेक्षा रहेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापा बताउँछन् । अध्यक्ष थापाका अनुसार यस वर्ष मेलामा विद्युतीय सवारी साधनहरुको चर्चा बढिरहेको छ । अटो शामा एक सयभन्दा बढी स्टल भएपनि दुई पाङ्ग्रे र चार पाङ्ग्रे विद्युतीय सवारीका ब्रान्डहरू बढी नै रहेको देख्न सकिन्छ ।

हाल चार पाङ्ग्रे साधनमा एमजी, नेटा, बीआइडी, वुलिङ, स्काई वेल र दुई पाङग्रे सवारीमा टिभिएस, बेनेली लगायतका ब्रान्डले प्रदर्शनी गरिरहेका छन् । विगतमा पेट्रोलियम सवारीले नेपालमा आफ्ना कम्पनीहरू स्थापित भएका थिए भने यस वर्ष तीनै कम्पनीले विद्युतीय सवारीलाई नै प्रर्दशनीमा राखेको देख्न सकिन्छ । त्यस्तै, टाटा, हुन्डाई, किया, ग्रेटवाल, निसान लगायत ब्रान्डले पेट्रोलियम र विद्युतीय दुबैथरिलाई प्रदर्शनमा राखेका छन् ।

अहिले मानिसहरुको माग र चासो विद्युतीय सवारीहरूमा बढेकाले नै नाडामा यसको रझगज बढी देखिएको अध्यक्ष थापा बताउँछन् ।

पछिल्ला वर्षहरुमा नाडाले कारदेखि बाइकसम्म राख्ने गरेको थियो । तर, नाडाले मालबालक र यात्रुबाहक विद्युतीय गाडीहरू पनि थपेको छ । पेट्रोलियम ब्रान्डमा माइक्रो बसहरूलाई टक्कर दिइरहेका साना बिजुली बस सहित कमर्सियल ईभी ट्रकहरू पदर्शनमा देखिएका छन ।

मंगलबार देखि सुरु भएको ‘नाडा अटो सो-२०२३’ मा १२० वटा स्टल राखिएका छन् । जहाँ १६ ब्रान्डका चारपांग्रे, २२ ब्रान्डका दुईपांग्रे, ७ ब्रान्डका लाइट कमर्सियल भेहिकल र ९ वटा वित्तीय संस्थाका स्टल पदर्शनमा छन् । त्यसैगरी, ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको छ ।

यस अटो शो मा लगभग ७५ हजारले अवलोकन गर्ने आयोजकको दाबी छ भने मेला अवधिभर २० अर्ब बराबरको कारोबार हुने समेत जनाएको छ । जहाँ प्रतिटिकटको मूल्य २ सय रुपैयाँ तोकिएको छ भने विद्यार्थीका लागि २५ प्रतिशत छुटसहित प्रतिटिकट १५० रुपैयाँ तोकिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर