सुदूरपश्चिममा आत्महत्या गर्नेको संख्या घट्दो क्रममा – Nepal Press

सुदूरपश्चिममा आत्महत्या गर्नेको संख्या घट्दो क्रममा

डोटी । नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै गएका बेला सुदूरपश्चिममा भने सकारात्मक संकेत देखिएको छ । विगत ३ वर्षको तथ्याङ्क हेर्दा सुदूरपश्चिममा आत्महत्या गर्नेको संख्या घट्दो क्रममा रहेको छ । तीन वर्षको अवधिमा यस प्रदेशमा १ हजार ८ सय २७ जनाले आत्महत्या गरेका थिए ।

गत आर्थिक वर्ष (२०७९/०८०) मा सुदूरपश्चिममा ५ सय ५६ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा तीन सय पाँच पुरुष र दुई सय ५१ महिला रहेका छन् । यो संख्या आर्थिक वर्ष ०७८/०७९ को भन्दा २७ ले कम हो ।

आर्थिक वर्ष ०७७/७८ मा यस प्रदेशमा ६ सय ८८ जनाले आत्महत्या गरेका थिए । सो अवधिमा ३ सय ७९ पुरुष र ३ सय ९ जना महिलाले आत्महत्या गरेका छन् ।

यस्तै, आर्थिक वर्ष ०७८/०७९ मा ५ सय ८३ ले आत्महत्या गरेका थिए । सो अवधिमा ३ सय १९ पुरुष र २ सय ६४ महिलाले आत्महत्या गरेका प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

प्रहरीको त्रिवर्षीय तथ्याङ्क अनुसार सुदूरपश्चिममा आत्महत्या घट्दो क्रममा रहेको देखिएको छ ।

पाँच वर्षमा ३०६ बालबालिकाले आत्महत्या गरे

गत आर्थिक वर्ष (०७९/०८०) मा सुदूरपश्चिममा आत्महत्या गर्नेमा ७५ बालबालिकाहरूले आत्महत्या गरेका हुन् । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरण अनुसार २४ बालक र ५१ बालिका रहेका छन् ।

विगत पाँच वर्षको अवधिमा यस प्रदेशमा ३ सय ६ जना बालबालिकाहरूले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । आत्महत्या गर्नेमा बालिका १ सय ९० र बालक १ सय ६ रहेका छन् । आर्थिक वर्ष ०७५/०७६ मा १७ बालक र २५ बालिका गरी ४२ जनाले आत्महत्या गरेका छन् ।

यस्तै, ०७६/०७७ मा २५ बालक र ३२ बालिका गरी ५७, ०७७/०७८ २६ बालक र ४३ बालक गरी ६९ र ०७८/०७९ मा २४ बालक र ३९ बालिका गरी ६३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

वयस्क समूहका आत्महत्या गर्नेमा पुरुषको संख्या बढी देखिएको छ भने बालबालिकामा बालिकाको संख्या धेरै देखिएको छ ।

झुन्डिएर आत्महत्या गर्नेको संख्या धेरै

सुदूरपश्चिममा आत्महत्या गर्नेमध्येमा ७८.४८ प्रतिशतले झुन्डिएर आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । आत्महत्या गर्ने कुल १ हजार ८ सय २७ मध्ये १ हजार ४ सय ३४ जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।

यस्तै, विष सेवन गरेर ३ सय ५८, डुबेर १८, आगो लगाएर ४, हाम फालेर ११, औजार हातहतियारबाट १ र करेन्ट लागेर १ रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर