सन्न्यास तोडेर विश्वकपको पूर्वसन्ध्यामा ब्याट घुमाएका बेन स्टोक्स – Nepal Press

सन्न्यास तोडेर विश्वकपको पूर्वसन्ध्यामा ब्याट घुमाएका बेन स्टोक्स

लन्डन । अलराउन्डर बेन स्टोक्समाथि निर्णायक घडीमा इङ्ल्यान्डले अपेक्षा राख्छ । इतिहासले यस्तै भन्छ । तर, सन् २०१६ को टी-२० विश्वकपको फाइनलमा आफ्नो त्यो २०औं ओभर स्टोक्स सम्झन चाहँदैनन् ।

वेस्ट इन्डिजलाई विश्व विजेता बन्न त्यस ओभरमा १९ रन चाहिएको थियो । स्ट्राइकमा थिए कार्लोस ब्राथवैट । इङ्ल्यान्डका कप्तान इयोन मर्गनले स्टोक्सलाई बल दिए । सायद इङ्ल्यान्डले यो खेल सजिलै जित्ने अनुमान पनि गरेको थियो ।

वेस्ट इन्डिज ६ विकेट गुमाएर खेलिरहेको थियो । तर, स्टोक्स एकपछि अर्को बलमा निराश हुँदै गए । वेस्ट इन्डिजले २ बल बाँकी रहँदै खेल जित्यो । ब्राथवैटले स्टोक्सलाई लगातार चार बलमा चार छक्का प्रहार गरेका थिए ।

खेलपछि ब्राथवैटले सुरुमै भगवानलाई धन्यवाद दिन छुटाएनन् । इङ्ल्यान्डका कप्तान मोर्गनले सबै दोष स्टोक्समा मात्र थुपारेनन् र अनपेक्षित हारमा सामूहिक जिम्मेवारी लिए । त्यस खेल जितेको भए इङ्ल्यान्ड सर्वाधिक २ पटक टी-२० विश्व विजेता बन्ने एकमात्र टोली बन्ने थियो । इङ्ल्यान्डको हारले यो सफलता वेस्ट इन्डिजले प्राप्त गर्‍यो ।

तीन वर्षपछि इङ्ल्यान्ड एक दिवसीय विश्वकपको फाइनल पुग्यो । विश्व विजेता बन्न उसले न्युजिल्यान्डलाई हराउनुपर्ने थियो । न्युजिल्यान्डले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन जोड्यो । इङ्ल्यान्डलाई अन्तिम ओभरमा जीतका लागि १५ रन चाहिएको थियो ।

अघिल्लो ओभरमा २ विकेट गुमाएर ९ रन जोडेपछि इङ्ल्यान्डसँग अब बाँकी २ विकेट थियो । स्टोक्स क्रिजमा रहेका कारण इङ्ल्यान्डको आशा मरेको थिएन । विश्व क्रिकेटकै प्रभावशाली तेज बलर मानिने ट्रेन्ट बोल्टले सुरुका दुई बलमा स्टोक्सलाई रन जोड्न दिएनन् । इङ्ल्यान्डसँग ४ बलमात्र बाँकी थियो भने बनाउनुपर्ने रन १५ । तेस्रो बलमा उनले छक्का प्रहार गरे । चौथो बलमा ‘म्याजिक’ भयो । दोस्रो रन लिने बेलामा स्टोक्सले सम्भावित रनआउट टार्न खोज्दा बल उनको ब्याटमा लागेर ब्राउन्ड्री पार हुन पुग्यो ।

अम्पायरले दौडिएर लिएको २ रन र ब्राउन्डीमा पुगेको बललाई ४ रन मानेर ६ रन दिए । इङ्ल्यान्डलाई अन्तिम २ बलमा ३ रन आवश्यक रहेका बेला पाँचौं बलमा अदिल रसिद दौडिएर एक रन लिँदै रन आउट भएका थिए । छैटौं बलमा मार्क उड एक रन लिएपछि रनआउट भए । खेल सुपर ओभरमा पुग्यो ।

सुपर ओभरमा स्टोक्स र जस बटलरको जोडीले १६ रनको लक्ष्य दिएको थियो । न्युजिल्यान्डका मार्टिन गप्टिल र जिम्मी निसामले १४ रनमात्र बनाउन सके । अन्तिम दुई बलमा ४ रन जोड्न नसक्दा न्युजिल्यान्डको पहिलो पटक विश्व विजेता बन्ने सपना पूरा हुन सकेन ।

अविजित ८४ रन बनाएका स्टोक्स प्लेयर अफ दी फाइनल घोषित भए । इङ्ल्यान्ड एक दिवसीय क्रिकेटमा पहिलो पटक विश्व विजेता बन्यो । स्टोक्सले खेलपछि भने, ‘यस्तो खेल सायदै फेरि हुनेछ।‘

८६ रनमा ४ विकेट गुमाएको अवस्थामा उनले पाँचौं विकेटका लागि बटलरसँग ११० रनको साझेदारी गरेका थिए । स्टोक्सको कहानी विश्वकपमा मात्रै सीमित रहेन । अस्ट्रेलियामा गत वर्ष आयोजित टी-२० विश्वकपमा स्टोक्सकै निर्णायक प्रदर्शनमा इङ्ल्यान्ड विजेता बन्यो । पाकिस्तानविरुद्ध भएको फाइनलमा स्टोक्सले अविजित ५२ रन बनाए ।

उनै स्टोक्सले बुधबार न्युजिल्यान्डविरुद्ध १८२ रनको पाली खेल्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि इङ्ल्यान्डका कुनै पनि खेलाडीले यति धेरै रन बनाउन सकेका थिएनन् । जेसन रोयले सन् २०१८ मा अस्ट्रेलियाविरुद्ध १८० र एलेक्स हेल्सले सन् २०१६ मा पाकिस्तानविरुद्ध १७१ रन बनाएका थिए । स्टोक्स हालसालै सन्न्यास तोडेर एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका हुन् । आसन्न एक दिवसीय विश्वकपका लागि उनी खेलमा फर्कन राजी भएका थिए ।

चौथो नम्बरमा ब्याटिङमा आएका स्टोक्सले न्युजिल्यान्डका सबैजसो बलरलाई राम्रोसँग खेल्दै १२४ बलमा ९ छक्का र १५ चौका प्रहार गरेका थिए । १३ रनमा २ विकेट गुमाएको अवस्थामा उनले दाविद मलानसँग तेस्रो विकेटका लागि १९९ रनको साझेदारी गरेका थिए ।

न्युजिल्यान्डको क्राइस्ट चर्चमा सन् १९९१ मा जन्मिएका स्टोक्स मिडिल अर्डर ब्याट्सम्यान हुन् । उनले छैटौं नम्बरमा आएर दक्षिण अफ्रिकाविरुद्ध २५८ रन जोड्दै टेस्ट क्रिकेटमा विश्व कीर्तिमान बनाएका थिए । छैटौं नम्बरमा ब्याटिङमा आएर कसैले पनि यति धेरै रन बनाएको छैन । उनी टेस्ट क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान पनि हुन् ।

सन् २०११ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका स्टोक्सले हालसम्म टेस्टमा ९७ खेल खेल्दै १३ शतक र ३० अर्धशतक बनाउनुका साथै १९७ विकेट लिएका छन् । यस्तै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०८ खेलमा ४ शतक र २२ अर्धशतक बनाउनुका साथै ७४ विकेट हात पारेका छन् ।

इन्डियन प्रिमियर लिगमा उनी सन् २०१७ मा राइजिङ सुपर जायन्ट्समार्फत भित्रिएका थिए । पहिलो सिजनमै मस्ट भ्यालुएभल प्लेयर अफ दी सिजन घोषित भएका उनी लगत्तै अर्को सिजनमा सर्वाधिक महँगा खेलाडी बन्न सफल भएका थिए ।

गत अप्रिलमा आयोजित आईपीएलका लागि चेन्नई सुपर किङ्सले स्टोक्सलाई १६ करोड २५ लाख भारतीय रुपैयाँमा आबद्ध गरेको थियो । ठूला प्रहार गर्न सक्ने क्षमताका कारण उनी व्यवसायिक क्रिकेटमा अहिले पनि महँगा क्रिकेटरमध्येमा पर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *