सरकारले घोषणा गरेको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको समाचारले गम्भीर बनाएको छ : प्रधानमन्त्री (भिडिओ)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि सरकारले घोषणा गरेको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको भन्ने समाचारहरूले आफूलाई गम्भीर बनाएको बताएका छन् ।
१९औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले घोषणा गरेको पुरस्कार छिट्टै दिइने बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूको मनोबल र वृत्ति विकासलाई सधैं प्राथमिकतामा राखिनेछ, त्यसमा विश्वस्त रहनसमेत म तपाईंहरूमा आग्रह गर्दछु । सरकार हमेशा तपाईंहरूको साथमा रहेको जानकारी गराउँदै उच्च मनोबल र दृढताका साथ प्रतियोगितामा सहभागी हुन अपील गर्दछु ।’
सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध रहेको उनको भनाइ थियो ।
खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्म स्वाभीमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्ति विकासमा थप योगदान गर्न, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहने उनले सुनाए ।
उनले भने, ‘मैले पटक पटक जोड दिएर भन्दै आएको छु, खेलकुदमात्र एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् ठूल्ठूला युद्ध र मानव सिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूल्ठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन् । खेल कूटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् । खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो ।