माओवादी: फिनिक्स पंक्षी बन्ने कि बत्तीको पुतली !
एउटा मिथकअनुसार ५०० देखि १ हजार वर्षसम्म लामो जीवनचक्र भएको सुनौलो रंगको फिनिक्स पंक्षीले जीवनको अन्त्यमा काठका झिक्रा र घैमल बटुलेर आफैंले बनाएको गुँडमा आफैं जलेर खरानी बन्छ । अनि त्यही खरानीबाट नै पुनर्जीवित भएर त्यो पंक्षी फेरि त्यति नै जीवनकालसम्म बाँच्छ । त्यही भएर फिनिक्स पंक्षीलाई अमर पंक्षी पनि भन्ने गरिन्छ ।
नेकपा माओवादी केन्द्र अब बत्तीको पुतली बनेर सकिन्छ कि फिनिक्स पंक्षी झैं पुनर्जीवित भएर फेरि वर्तमान राज्यसत्ताको मुख्य हर्ताकर्ता बन्छ, यो आजको अहं सवाल हो । सत्ता होइन, राज्यसत्ता नै बदलेको माओवादी अहिले ‘डेथ बेड’मा आफ्नै अस्तित्व संकटको लागि संघर्षरत छ । माओवादी संगठन कमजोर भएसँगै वर्तमान व्यवस्था र संविधानमाथि नै गम्भीर प्रश्न उठाएर यो वा त्यो रूपमा पुनरुत्थानवादी तत्वहरूको बिगबिगी बढेको छ । नेपालमा विद्यमान हजारौं वर्ष लामो राजतन्त्रमध्ये पछिल्लो शाहवंशीय राजतन्त्रात्मक राज्यसत्ताको तख्ता माओवादीले पल्टाएर नै हालको गणतन्त्रात्मक व्यवस्था कायम भएको हो भन्ने कुरामा कुनै द्विविधा छैन ।
राज्यसत्ताबाट सधैं वञ्चित गरिएको वर्ग नयाँ व्यवस्थाअन्तर्गत अहिले राज्यको मूल प्रवाहमा सामेल छ । गणतन्त्रअघि दलित, महिला, मधेसी जस्ता सीमान्तकृत समूहहरू वडादेखि केन्द्रसम्म कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका कतै पनि सहभागी थिएन । सेना, प्रहरी, निजामती सेवामा उनीहरूको संलग्नता कतै थिएन । तर, राज्यसत्ताका सबै अंगहरूमा वञ्चित बनेका विभिन्न जाति, लिङ्ग र उत्पीडित समूहको अहिले जताततै समावेशीकरण भएको छ । उनीहरूलाई संविधानमा तोकिएको आरक्षण वा सहभागिताविना अहिले न निर्वाचन हुनसक्छ, न लोकसेवा आयोगको विज्ञापन खोल्न मिल्छ न त सेना-प्रहरीको भर्ना नै खुल्छ । राज्यको स्रोतसाधनमाथि यसरी हेपिएका र चेपिएका वर्गहरूको यो तहको समावेशीकरण हुनुलाई सामान्य राजनीतिक परिवर्तनमात्रै हो भनेर किमार्थ कम आँक्न मिल्दैन । यसरी दक्षिण एसियामा नै नेपाल समावेशिताको राम्रो नमुना मुलुक बनेको छ । माओवादीको दस वर्षको जनयुद्धको कारणले नै २०४७ को संविधान खारेज गरेर यस प्रकारको प्रतिफल प्राप्त भएकोमा दुईमत छैन ।
तर, राज्यसत्तामा यति ठूलो परिवर्तन गरेको पार्टीको संगठन डेढ दशकभित्रै यसरी संकटग्रस्त बन्नुपर्ने अवस्थाको विभिन्न नेताहरूले विभिन्न कारण औंल्याएका छन् । पार्टी यति कमजोर बन्नुका कारणहरूको लामो सूची जसले पनि बनाउन सक्छ । तर, एउटै मूल कारण हो- प्रतिस्पर्धाको राजनीतिमा आएर पनि पार्टी संगठनभित्र प्रतिस्पर्धाको वातावरणलाई निषेध गर्नु । यसैले माओवादीको यो दुर्गति भएको कुरामा कुनै सन्देह छैन । यदि पार्टीभित्र प्रतिस्पर्धा हुन्थ्यो भने अनेक धन्दामा सामेल भएका नेताहरू वडाबाटै महाधिवेशनमा पराजित हुने थिए । कांग्रेसलगायतका पार्टीहरूमा कतिपय पूर्वमन्त्रीहरू महाधिवेशनमा आफ्नै सामान्य कार्यकर्तासँग वडामै पराजित भएकोे दृष्टान्त सर्वसाधारणले पनि देखेकै हो ।
पार्टीको संगठन डेढ दशकभित्रै यसरी संकटग्रस्त बन्नुपर्ने अवस्थाको विभिन्न नेताहरूले विभिन्न कारण औंल्याएका छन् । पार्टी यति कमजोर बन्नुका कारणहरूको लामो सूची जसले पनि बनाउन सक्छ । तर, एउटै मूल कारण हो– प्रतिस्पर्धाको राजनीतिमा आएर पनि पार्टी संगठनभित्र प्रतिस्पर्धाको वातावरणलाई निषेध गर्नु ।
यदि माओवादीभित्र पनि वास्तविक महाधिवेशन गरी प्रतिस्पर्धाबाट नेतृत्व चयनको विधि बसालिएको भए भ्रष्टाचारी वा संदिग्ध भ्रष्टाचारी मान्छे अहिले जसरी नेतृत्वमा आउन नसक्ने कुरा प्रस्टै छ । माओवादीमा कार्यकर्ताबाट कोही पनि नेता महाधिवेशनबाट अनुमोदित हुनु नपरेपछि उनीहरू कार्यकर्ताप्रति उत्तरदायी भएनन् । सीधै मनोनीत गरेर नेता बनाइएका मान्छेहरू कार्यकर्तासँग मात्रै उत्तरदायी नभएका होइनन्, जनतासँग पनि अनुत्तरदायी बने । उनीहरू देश दोहन (भ्रष्टाचार)मा सामेल भएको कुरा पछिल्ला सरकारी अनुसन्धानले नै पुष्टि गरिसकेको छ । मनोनीत नेता भ्रष्टाचारमा सामेल हुने र कार्यकर्ताप्रति उत्तरदायी नहुने अनि स्वच्छ छविका कार्यकर्ता चाहिं जिम्मेवारी र अवसरबाट वञ्चित गरिंदा कोही पनि नेता कार्यकर्ता पार्टी निर्माणको काममा संवेदनशील बनेनन् । त्यसैको परिणाम अहिले पार्टी विघटनको डिलमा पुगेको छ ।
अहिले पूर्वमाओवादीहरूको एकताको कुरा पनि चलिरहेको छ । यो कुरा सुन्नमा श्रुतिमधुर छ । तर, मनोनयनकै विधिले पार्टी चलाउने योजनासहितको त्यो तथाकथित एकताले पार्टी थप नयाँ अन्तर्विरोधको सिकञ्जामा फस्ने कुरा पार्टी एकताका अघिल्ला घटनाक्रमले नै पुष्टि गरिसकेको छ । त्यसकारण जबसम्म पार्टीमा वास्तविक प्रतिस्पर्धा वा न्यायोचित जिम्मेवारीको वातावरण बन्दैन तबसम्म यो पार्टीले गति लिने कुनै गुञ्जायस छैन । कुनै उल्लेखनीय काम नगरे पनि कांग्रेस-एमालेका संगठनहरू माओवादीको तुलनामा कम क्षय हुनुमा प्रतिस्पर्धात्मक प्रणालीले नै मुख्य भूमिका खेलेको हो ।
अहिले अध्यक्ष प्रचण्डको नेतृत्वविना यो पार्टी चल्नै सक्दैन भन्ने भाष्य जबरजस्त तयार गर्न खोजिँदैछ । पार्टी त व्यक्तिले होइन, प्रणालीले चलाउने हो । प्रतिस्पर्धाबाट चयन भएको नेतृत्वले आआफ्ना तहमा पार्टी चलाएपछि मूल नेतृत्वमा पार्टीभित्रको जो मान्छे भए पनि त्यही प्रणालीले नै पार्टी चल्छ । बीपी कोइरालाले गिरिजाबाबुको नेतृत्वमा पार्टी चल्ने कुरामा सधैं शंका गरेका थिए । तर, उनले पार्टी चलाए, शेरबहादुर र ओलीहरूले पनि त्यही विधिमा राम्रैसँग पार्टी चलाइरहेका छन् । त्यसकारण सदस्यहरूले नै आफ्नो कमिटीको नेता छान्न पाउने वातावरण बनाउन सक्दामात्रै पार्टीलाई गतिशील बनाउन सकिन्छ र त्यसले पार्टीमा एक हदसम्म शुद्धीकरण पनि ल्याउन मद्दत गर्छ । तदर्थवादबाट चलेर अब पार्टी सिध्याउने कि फिनिक्स पंक्षी झैं पुनर्जीवन दिने ? आगे नेताहरूको मर्जी !
(लेखक नेकपा माओवादी केन्द्रमा आवद्ध छन् ।)
सहि दृष्टिकोण।