रुपन्देहीस्तरीय स्नुकरको उपाधि शंकरलाई – Nepal Press

रुपन्देहीस्तरीय स्नुकरको उपाधि शंकरलाई

रुपन्देही । रुपन्देहीमा जारी सातौं जिल्लास्तरीय स्नुकर प्रतियोगिताको उपाधि बुटवलका शंकर खड्काले जितेका छन् ।

खस्यौली स्नुकर क्लब बुटवलमा बिहीबार बेस्ट अफ इलाभेनका आधारमा खेलाइएको फाइनल खेलमा भैरहवाका शिशिर गुरुङलाई ६-४ ले पराजित गर्दै शंकर विजयी भए । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा भएको प्रतियोगितामा रुपन्देहीका १२८ जना खेलाडी सहभागी थिए । विजेता खड्काले ५० हजार र उपविजेता गुरुङले २५ हजार नगद पुरस्कार पाएका छन् ।

प्रतियोगितामा ५५ स्कोरसहित खड्काले हाई स्कोररको नगद १० हजार पुरस्कार पनि हात पारे । यस्तै उदीयमान खेलाडीमा सम्बन्ध विक र अनुशासित खेलाडीमा सागर गाहा र डेभिड गौचनले समान ५ हजार रुपैयांका दरले नगद पुरस्कार पाएका छन् ।

विजयी खेलाडीहरूलाई बुटवल उपमहानगरपाकिलाका प्रमुख खेलराज पाण्डेयले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा उनले स्नुकर खेललाई पनि उपमहानगरले आधिकारिक खेलको मान्यता दिने बताए ।

संघका अध्यक्ष सुजन पुनले स्नुकर खेललाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्न तिनै तहका सरकारको ध्यानाकर्षण गराए । उनले स्नुकर खेल विश्वमा पुरानो र प्रतिष्ठित खेल भएपनि नेपालमा ओझेलमा परेको गुनासो गरे ।

समापन समारोहमा संघका पूर्वसचिव एवं बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना, संघका प्रथम उपाध्यक्ष बासु प्रधान, सचिव प्रकाश क्षेत्रीलगायतले संघले आगामी दिनमा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *