सुवास नेम्वाङको छोराको काल्पनिक पत्रका बारेमा प्रष्टीकरण – Nepal Press

सुवास नेम्वाङको छोराको काल्पनिक पत्रका बारेमा प्रष्टीकरण

स्वर्गीय सुवासचन्द्र नेम्वाङप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छुँ । म पहिला केही दृष्टान्त पेश गर्दछु ।

बीबीसीमा छापिएको वेस्ट लोथियानका सात वर्षीया जेस हाइण्डमनले आफ्ना स्वर्गीय बुवालाई पठाएको चिठ्ठी निकै भाइरल बन्यो । केही दिनअघि मात्रै गाईजात्राको अवसरमा स्वर्गीय बीपी कोइराला र मदन भण्डारी बनेर गरिएको काल्पनिक नाटक निकै चर्चित बन्यो ।

हामीले पटकपटक बीपीलाई पत्र, मदनलाई पत्र, प्रधानमन्त्रीलाई पत्र, श्रीमान्‌लाई पत्र, बुवालाई पत्र भनेर लेखिरह्यौँ । मैले सुवासलाई पत्र भनेर लेखेको भए यो यति चर्चित पक्कै बन्ने थिएन । सबैको ध्यान लेखाईबाट तान्नु थियो ‘शीर्षक’ आकर्षक बनाएँ ।

पत्रभित्र मैले लेखेको विषयले स्वर्गीय नेम्वाङजीमाथि कुनै किसिमको असर गरेको छैन । मैले उहाँको आदर्श, निष्ठाबारे पटकपटक चर्चा गर्ने गरेको छुँ । आजमात्रै स्पेस फोरके टेलिभिजनमा प्रसारित सामाग्री ‘सुवासको अन्तिम संस्कार, पशुपति आर्यघाट’, केशव बडाल, शेरबहादुर तामाङजीसँग गरेको अन्तर्वार्ता हेरे पुग्छ ।

एकाध मिडियाले ‘सुवास नेम्वाङका छोराले नलेखेको पत्र’ भनेर अनावश्यकरूपमा यसलाई विवादमा पार्ने र नेम्वाङज्यूप्रतिको मेरो आदर सम्मानलाई अनदेखा गरेकोमा मलाई धेरै दुःख लागेको छ । पत्रकारिताको अभ्याससमेत बिर्सेर उहाँहरूले जसरी विवादित बनाउन खोज्नुभयो यसप्रति अवश्य उहाँहरूको पनि ध्यानाकर्षण भएकै होला । किनकी सार्वजनिक व्यक्तित्वको बारेमा मिडियाबाट लेखिने पत्र वा भावनात्मक अभिव्यक्तिहरु अन्तर्राष्ट्रिय अभ्यास पनि हुन् । मैले त भन्ने गरेको छु कि, सुवास नेम्वाङ संविधानको पिता हो । उहाँ अध्यक्ष भएकै बेला धेरै भूराजनीतिक अवरोधकाबीच उहाँको नेतृत्वमा संविधान जारी भएको हो ।

एउटा राष्ट्रकै पिता र मेरो पिता समान व्यक्तित्वको सम्मान र उहाँको असामयिक अवसानप्रति मेरो मनमा आएका भावना अनि देशको परिस्थितिलाई समेत समेटेर एउटा पुत्र समानको नागरिकले लेखेको पत्रलाई विवादित बनाएर कसैलाई पनि फाइदा छैन र म त्यसो नगरिदिन पनि विनम्र आग्रह गर्दछु । सुवास नेम्वाङ राष्ट्रपिता हुन्, संविधानको अभिभावक हुन् । उहाँको अगुवाइमा देशले संविधान पायो । अब यसको कार्यान्वय महत्वपूर्ण छ । काल्पनिक लेखमा मेरो कुनै कुत्सित मनसाय होइन । म पत्रकार लेखक हुँ । विषयवस्तुलाई पाठकको रुचिकर बनाउनु मेरो धर्म हो । योबाहेक मेरो उहाँप्रतिको सम्मान र उहाँका छोराछोरी तथा परिवारप्रतिको सम्मानमा कुनै फरक आ‍शय छैन । म अथाह यो शोकको घडीमा स्वर्गीय नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै उहाँको दल नेकपा एमालेको सिंगो परिवार तथा नेम्वाङको परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु । मलाई आशा छ, देशको एउटा नागरिकले संविधानका पिताको निधनमा पिता समानको व्यक्तिको स्मृतिको लेखेको पुत्र समानको नागरिकको पत्रका रूपमा उहाँहरूले बुझिदिनुहुनेछ ।

त्यसैले सबैलाई मेरो अनुरोध छ पत्रलाई एकपटक राम्ररी अध्ययन गरिदिनु होला । तर, मैले लेखेको पत्रलाई तोडमोड गरी अन्य सञ्चारमाध्यममा पनि आएको पाइएको छ, कृपया कसैको दुःखमाथि नखेलौं । अन्तमा पत्रमा काल्पनिक भनेर उल्लेख गरिएको व्यहोरा जानकारी गराउँदछु ।

सूर्योदय हुने जिल्लामा जन्मनुभएका सुवास कसैलाई कष्ट नगरी अस्ताउनुभयो । हार्दिक श्रद्धासुमन ।

(पत्रकार खेम बमले अन्तर्राष्ट्रिय अभ्यास र भावनाका आधारमा आफूले लेखेको काल्पनिक कथालाई लिएर कतिपयले गलत अर्थ लगाएकाले यो स्पष्टीकरण दिएका हुन् । )

यस्तो थियो, कल्पनामा आधारित बमको पत्र

बुवा म आइसकेँ, मलाई अन्तिमपटक पर्खिरहनुस् है । तपाईंको सग्लो अनुहार हेर्न मेरा भिजेका नयनहरु ओभानो भइसकेका छन् । अब त आँखाको पानी पनि रित्तिसकेछ । म तपाईंलाई हेर्ने आँट लिएर पोको पन्तुरो कस्दैछुँ । बुवा म आज आफैलाई धिक्कार्दै छुँ, देश बनाउन दौडिएको महामानवको छोरो परदेशमा भौतारिएको छ । आफ्ना देवतुल्य बुवाको आवाज गुमाएको छ । केही समय आफूलाई पर्खिएको चीर निन्द्राको शरिरलाई सुम्सुम्याउन बाहेक ऊ सँग अर्को विकल्प छैन । भक्कानिएकी मेरी आमा, बहिनी कसरी सम्हालिन् होला ? आफ्नै अगाडि एउटा खम्बा ढल्दा उनीहरुलाई कम्ति चोट परेको छैन ।

बुवा, परदेशिनु मेरो बाध्यता होइन, कति रहर जोडिएका छन्, कैँयन मेरा सपनाहरु छन् । म त्यो गरिबको कोखबाट जन्मेको भए मेरा चाहाना अलि सिमित हुन्थे होलान् तर म एक शक्तिशालीको कोखबाट धर्तिमा झरेछुँ । मैले यो देशमा सम्भावना नदेखेको होइन, म थप सम्भाव्यता अध्ययन गर्न परदेशिएको हुँ । म चित्त बुझाउँदै छुँ, मेरो मात्र होइन सारा नेपालीको पीडा यस्तै छ । बुढा आमाबा भित्तासँग कानेखुसी गर्छन्, बामे सरेको बालकझैँ ओहोरदोहोर गर्छन् मात्र मृत्यु कुरिरहेका हुन्छन् । छोराछोरीहरु मृत्युको खबर कुरिरहेका हुन्छन् ।

बुवा, हजुरले मात्रै चाहेर देशको कायापलट त पक्कै हुने थिएन । तपाईंले आफ्नो अभिभारा पूरा गरेर जानुभयो । २०७२ सालको संविधान जारी गर्दा कम्ता दुःख थिएन । देशी, विदेशी तत्वको आँखाको तारो बन्नुभएको थियो । माओवादीको जगजगी, सेनाले सिंहदरबार घेर्ने हल्ला, छिमेकीको धम्की सबै स्थितिलाई संयमतापूर्वक आफू अनुकुल बनाउनु त्यो तपाईंको खुबी थियो । मात्रै धेरै सम्भावना छोडेर जानुभयो, ती अवसर गुमाएर जानुभयो । हुनत भगवानको घरमा पनि तपाईंजस्तै महामानवको खाँचो खड्कियो होला । त्यै भएर यति निर्दयी बन्नुभयो होला ।

आज यो पीडा हरेक नेपालीको साझा बनिदिएको छ । बुवा, पीडा सानो ठूलो हुँदैन यसलाई तौलिन मिल्दैन । आजपनि तपाईंजस्तै चीर निन्द्रामा धेरै जना हुनुहुन्छ । तर, मेरो मनमा काउकुतीले किन छोडिरहेको छैन ? किन मलाई अत्यास लागिरहेको छ ? किन म आफै बेहोसी बनुला जस्तो भएको छ ? म अर्काको भूमिमा भएर पनि होला । भनेको समयमा टिकट पाइँदैन, भनेको समयमा जहाज उड्दैन । मलाई त रातिनै आउने मन थियो, मेरा बुवाको निश्कलंक अनुहारमा म्वाई खाने मन थियो ।

बुवा, म सोचिरहेको छुँ भोलि मेरी आमाको दिनपनि यस्तै त हुने होइन ? म नेपालमै बसौँ की फर्किउला केही सोच्न सकेको छैन । अब तपाईंजस्तो महान बन्नलाई मलाई सहज छैन । किनकी तपाईंले मलाई यो परिस्थितिबाट टाढा राख्नुभयो, राजनीतिको छायाँ पर्न दिनुभएन । मेरी आमा पनि राजनीतिबाट निकै पर बस्नुभयो । तपाईंले अरुका जस्तै परिवारका जम्मै सदस्यहरुलाई राजनीतिमा ल्याउन चाहानुभएन । न हामीलाई यो खेल खेल्न सिकाउनुभयो । अब कसरी बसौँला यो देशमा ?

मलाई कहिल्यै नमेटिने घाउ दिएर जानुभो, कहिल्यै नभेटिने ठाउँमा जानुभो । म विमानस्थलभित्र पस्दैछुँ । तपाईंको अनुहार एकपटक भएपनि हेर्ने मन छ । हजारौँ तपाईंका शुभेच्छुकहरुले सम्झिरहनेछन्, हामी पनि सम्झिरहने छौँ । हार्दिक श्रद्धाञ्जली बुवा ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *