डाक्टर कुटपिट घटना : दुईजनाविरुद्ध मकवानपुर प्रहरीमा किटानी जाहेरी
हेटौंडा । एक महिनाअघि अर्कै अस्पतालमा बिरामीको मृत्यु भएको विषयलाई लिएर हेटौंडा उपमहानगरपालिका- १ स्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कडा कारबाहीको माग गर्दै स्वास्थकर्मीको समूहले दुईजनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।
नेपाल चिकित्सक संघले मृतक राजेश प्रधानका छोरा रोहित प्रधान र भतिज अनुप प्रधानविरुद्ध किटानी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले नेपाल प्रेसलाई बताए ।
किटानी जाहेरी दर्ता गरेर चिकित्सकहरू पनि आन्दोलनमा उत्रिएका छन् । हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सकसहित स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिँदै आजबाट आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पारेका छन् ।
डेंगु संक्रमित हेटौंडा-१२ का ४१ वर्षीय राजेश प्रधानको प्रारम्भिक उपचारपछि चितवनको नयाँ मेडिकल कलेज थप उपचारका लागि लगिएकोमा उनको मृत्युपछि डाक्टरले लापरबाही गरेको भन्दै सञ्चोका डाक्टरलाई आफन्तसहित केही युवाले अस्पताल छिरेर डाक्टरमाथि कुटपिट गरेका थिए ।
प्रहरीले सीसीटीभी फुटेजको आधारमा मृतकका श्रीमती, छोरा, छोरी र भतिजलाई बिहीबार पक्राउ गरी आज म्याद थपको लागि जिल्ला अदालत लगेको छ ।