सूर्यविनायक-रत्नपार्क द्रुत बसका लागि डेडिकेटेड लेन
काठमाडौं । सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि डेडिकेटेड लेन बनाउन थालिएको छ । काठमाडौं डिभिजन कार्यालयले सडकमा रेड मार्क गर्न थालिएको डिभिजन प्रमुख नारायण निहुँरेले बताए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवसको दिनबाट द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए । यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा ठूला बस तयारी अवस्थामा राखेको छ भने सडक विभागले डेडिकेटेड लेन बनाउन थालेको हो । तीन दिनभित्र सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन सक्ने गरी काम थालिएको विभागले जनाएको छ ।
विभागले रत्नपार्कदेखि जडिबुटी, र जडिबुटीदेखि सूर्यविनायकसम्म दुई खण्ड गरेर मार्क गर्न थालेको हो ।
बिहान र बेलुका कार्यालय समयमा हुने ट्राफिक जाम न्यूनीकरण गर्न द्रुत बस सेवाको अवधारणा ल्याइएको हो । बिहान र साँझ बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म बस सेवा सञ्चालन हुनेछ ।