असोज ४ मा बस्ने कांग्रेस केन्द्रीय समिति बैठकका के-के छन् छलफलका एजेण्डा ?
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अर्को साता बस्दैछ । असोज ४ गतेका बस्ने बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । असोज २ गते बस्ने भनिएपनि संविधान दिवसको व्यस्तता देखाउँदै बैठक दुई दिन पर सारिएको थियो ।
पार्टीको विधान अनुसार दुई-दुई महिनामा बस्नैपर्ने नियमित बैठक भएकाले एजेण्डाबारे छलफल भइरहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।
उनले भने, ‘बैठकको एजेण्डाबारे शीर्ष तहमा छलफल हुँदैछ । कांग्रेस सभापतिय प्रणालीबाट सञ्चालन भएको होइन । धेरै कमिटीबाट चलेको छ । सबै तहमा छलफलपछि मात्रै एजेण्डा टुंग्गिन्छ ।’
उनले विभागहरूलाई पूर्णता दिनेबारे पनि छलफल भइरहेको बताए ।
उनले भने, ‘गत बैठकको भनिएको समय विभागहरूलाई टुंग्याउनेबारे प्रयास गरेको थियौं । केही ढिलाई भएको हो अहिले पनि पार्टीभित्र विभागलाई पूर्णता दिनको लागि होमवर्क भइरहेको छ । अबको बैठकसम्ममा टुंग्याउँछौं ।’
साउन पहिलो साता बसेको केन्द्रीय समितिको बैठकले भदौ १५ सम्ममा विभागलाई पूर्णता दिने निर्णय गरिएकोमा कार्यान्वयन भएको छैन । तोकिएका १५ विभागका प्रमुखहरूले समेत अहिलेसम्म औपचारिक पत्र दिएको छैन । अब बस्ने बैठकपछि मात्रै विभाग प्रमुखहरूलाई औपचारिक पत्र दिने देउवाको तयारी छ ।
अब बस्ने बैठकमा गत बैठकमा भएको निर्णय कार्यान्वयन, साउन २० देखि ३० सम्म चलेको पार्टीको आन्तरिक अभियान, आगामी मंसिरमा बस्ने भनिएको महासमितिको बैठकको तयार लगायतको विषयमा छलफल हुने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।
यस्तै, बैठकअघि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनपछि रोकिएको बीपी साहित्व महोत्सव पनि टुंग्याउने उनले बताए ।
उनले भने, ‘रोकिएको महोत्वसबारे छलफल गर्न भोलि बैठक बस्दैछ । अब तीन गते महोत्वसको समापन समारोह हुनसक्छ ।’
यस्तै, सरकार जिम्मेवारीभन्दा बाहिर हिँड्न थालेपनि नेताहरुले विकल्प खोज्नुपर्ने अभिव्यक्ति दिन थालेको उनले सुनाए ।
उनले थपे, ‘अहिले सरकार काम भन्दा पनि हो-हल्लामा केन्द्रित भएको छ । यसले जनताको मागलाई सम्बोधन गर्न सक्दैन । सरकार असफल भयो भने कांग्रेस पनि असफल हुन्छ भनेर साथीहरूले त्यही कुरा संकेत गरेर विकल्पको कुरा राख्न थाल्नुभएको हो । तर, तत्काल हामी विकल्पको पक्षमा छैनौं ।’
उनले गठबन्धनमा आवद्ध दलहरूसँग सरकार बिनासल्लाह अघि बढ्न थालेको बताए । यद्यपि, यस विषयमा बैठकमा नेताहरूले कुरा उठाएपनि कांग्रेस तत्काल सरकारको विकल्पको पक्षमा नरहेको उनको भनाइ छ ।
कांग्रेसभित्र इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइराला पछिल्लो समय सरकार आफैंले लिनुपर्ने पक्षमा उभिएको छ । उनीसहित महामन्त्री गगन थापासहित नेताहरू सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।
केही समयअघि उनीहरूले केन्द्रीय सदस्य अर्जुनरसिंह केसी निवासमा पार्टीको आन्तरिक राजनीति र सरकारको समीक्षा गर्न इतर पक्षको भेला समेत राखेका थिए । त्यो भेलामा शेखर कोइराल अनुपस्थित भएपनि १५ औं महाधिवेशनलक्षित टीम बनाउनेबारेसम्मको गृहकार्य अघि बढाएका थिए ।