प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच असोज ६ मा भेटवार्ता हुने, यस्ता छन् एजेण्डा – Nepal Press

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच असोज ६ मा भेटवार्ता हुने, यस्ता छन् एजेण्डा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणको क्रममा नेपाल र नेपाली जनताको हित एवं नेपाल चीन सम्बन्धलाई मजबुत तुल्याउन प्रयास हुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रमणमा नेपाल र चीनबीचको सम्बन्धलाई नेपालको पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा हुने सहयोगबारे छलफल हुनेछ । भ्रमणमा कोभिडको कारणले निरन्तर हुन नसकेको सीमा नाकाको बारेमा पनि छलफल हुनेछ ।’

उनले चीनका राष्ट्रपति सी चिनफिङसँग असोज ६ गते भेट्ने कार्यसूची तय भएको बताए ।

अमेरिकाबाट सीधै चीन जान लागेका प्रचण्डले राष्ट्रपति सीसँग भेटेर एसियन खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने बताए ।

हाङ्जाउमा राष्ट्रपति सीसँग भेटेपछि असोज ८ गते चिनियाँ समकक्षी लि छियाङसँग भेट हुने उनले बताए ।

चीन भ्रमणबारे प्रधानमन्त्री प्रचण्डकाे भनाइ

संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात असोज ५ गते छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि हाङ्गजाउ जाने कार्यक्रम तय भएको छ । संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्यूयोर्कबाट सीधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको हो ।

नेपाल र चीनबीच सदियौंदेखि सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको छ र हालैका वर्षहरूमा यो सम्बन्ध बहुआयामिक क्षेत्रमा अझ व्यापक र थप घनिष्ठ बन्दै गएको छ । चीन लामो समयदेखि नेपालको विकास साझेदार रहेको र नेपालको सर्वाङ्गीण विकासको प्रयासमा सहयोग गर्दै आएको छ । नेपालको प्रधानमन्त्रीको हैसियतमा मेरो यो तेस्रो चीन भ्रमण हुनेछ । यस भ्रमणले नेपाल-चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुनेछ भन्ने मैले विश्वास लिएको छु । यस भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल-चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग गर्ने मेरो प्रयास रहने कुरा म सम्मानित सदनलाई अवगत गराउन चाहन्छु ।

हाङ्गजाउमा नै चिनियाँ राष्ट्रपति महामहिम सी चिनफिङसँग भेटघाटको कार्यक्रम रहेको छ । सोही दिन म १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनेछु । त्यस्तै २५ सेप्टेम्बरमा बेइजिङमा समकक्षी महामहिम लि छियाङ्सँग मेरो भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको छ । त्यसपछि कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रीकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

छोङछिङको भ्रमणपश्चात नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम रहेको व्यहोरा सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु । कोभिड महामारीपछि प्रधानमन्त्रीको स्तरमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनका साथै नेपालको पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्र चीनबाट प्राप्त सहयोगबारे छलफल हुनेछ ।

भ्रमणका क्रममा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ । नेपालको प्रधानमन्त्रीको हैसियतमा मैले गर्ने छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत घनिष्ट र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने मैले विश्वास लिएको छु । साथै, संघीयता लागू भएपछिको दोस्रो आमनिर्वाचनपश्चात बनेको सरकार प्रमुखको हैसियतमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र नेपालको चासोका विषयहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने एवं शान्ति, दीगो विकास, जलवायु परिवर्तन जस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग र सद्भाव हासिल गर्न सहयोगी हुने विश्वास मैले लिएको छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर