सर्वोच्च अदालतको न्यायाधीशमा शर्माको नाम अनुमोदन – Nepal Press

सर्वोच्च अदालतको न्यायाधीशमा शर्माको नाम अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ । शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो ।

योग्यता, क्षमता र अनुभवको आधारमा शर्मालाई सर्वाेच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए ।

‘न्याय परिषदबाट सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तीको लागि सिफारिस गरी  ११ गते  समितिमा पत्र प्राप्त भएको थियो । संसदीय सुनुवाई समिसतिको १५ गते बसेको बैठकले प्रश्तावित सर्वोच्च अदालतको न्यायाधीश उपर उजुरीका लागि १० दिनको समयावधि राखि उजुरी सूचना प्रकाशन, प्रशारण गर्ने निर्णय गरेको थियो ।

उक्त अवधिमा निजउपर कुनैपनि सूचना वा उजुरी समिति समक्ष प्राप्त भएको थिएन । त्यसपछि आजै प्रश्तावित न्यायाधीशलाई समितिमा आमन्त्रित गरी संसदीय सुनवाई कार्य समेत सम्पन्न गरियो । तत्पश्चात आजको समितिको बैठकले विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित गरी नेपालको संविधानको धारा २९२ को उपधारा १ बमोजिम संसदीय सुनुवाईका लागि प्राप्त भएकोमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली २०८० तथा संसदीय सुनुवाई समितिको कार्यविधि २०८० बमोजिम समितिले सुनुवाई गर्दा प्रश्तावित व्यक्तिको योग्यता, क्षमता र अनुभव समेतको आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिमा नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रश्तावित व्यक्तिलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि अनुमोदन गर्ने प्रश्ताव पारित गरेकाे हाे ।

शर्मामाथि संसदीय सुनुवाई समितिमा कुनैपनि उजुरी परेको थिएन । न्याय परिषद्को गत भदौं १० गते बसेको बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाई समितिले अनुमोदन गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नु हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *