मलद्वारमा लुकाएर सुन तस्करी गर्ने गिरोहमा मन्त्री तीर्थ लामा नै जोडिए, पोल खुलेपछि तरुण दलका नेता फरार
बाग्मती प्रदेशका मन्त्री तथा काभ्रे कांग्रेसका सभापति तीर्थ लामाको सुन तस्करी गिरोहसँग कनेक्सन पुष्टि, पक्राउ परेकाबारे माओवादी सांसद सूर्यमान दोङको चासो
काठमाडौं । त्रिभुवन विमानस्थलबाट भइरहेको सुन तस्करी सञ्जालको प्रारम्भिक अनुसन्धानमा बाग्मती प्रदेशका खानेपानी तथा सिंचाइमन्त्री तीर्थ लामाको संलग्नता खुल्ने आधार भेटिएका छन् ।
काठमाडौं प्रहरी परिसरको टोलीले विमानस्थल बाहिरबाट भदौ २५ गते बाबुलाल दोङसहितबाट बरामद गरेको मलद्वारमा लुकाइ ल्याएको सुन प्रकरणमा काभ्रे कांग्रेसका सभापतिसमेत रहेका तीर्थ लामाको कनेक्सन देखिएको हो ।
मन्त्री लामाको विशेष सहयोगी मानिने विकास लामाले विगतमा दुबई बसेकै बेलादेखि सुन तस्करीको काम गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनलाई कांग्रेसबाट समानुपातिक उम्मेदवार बनाउनसमेत जिल्ला सभापति तीर्थ लामाले सिफारिस गरेका थिए ।
पछिल्लो पटक बरामद भएको १ किलो सुन प्रकरणमा हालसम्म प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका- ३ घर भई पनौती नगरपालिका- ५ बस्ने बालुलाल दोङ, रोशी गाउँपलिका- ३ घट्टेखोलाका जगत लामा र महाभारत गाउँपालिका- ३ सानो पोखराका मिङ्मा दोर्जे स्याङतानलाई पक्राउ गरेको छ ।
सोही गिरोहमा संलग्नता खुलेका तरुण दलका केन्द्रीय सदस्य विकास लामा भने प्रहरीले खोजेपछि फरार भएका छन् । कांग्रेस जिल्ला सभापति तथा प्रदेशमन्त्री तीर्थ लामाका निकट सहयोगी विकास कांग्रेसको बाग्मती प्रदेश प्रचार तथा प्रसार विभागमा समेत मनोनीत भएका थिए ।
यसअघि यही गिरोहले पटकपटक ठूलो मात्रामा सुन तस्करी गर्ने गरेको अनुसन्धानमा खुलेको छ । विकास विगतमा पनि आपराधिक काममा संलग्न रहेर जेल बसेपछि छुटेका व्यक्ति हुन् । पक्राउ परेकाहरुले सुन तस्करीमा विकास लामाको नाम पोलेपछि तीर्थको समेत संलग्नता खुल्ने भएकाले काभ्रे कांग्रेसमा खैलाबैला मच्चिएको छ ।
पक्राउ परेकामध्ये एकजना बाबुलाल दोङ माओवादी केन्द्रका सांसद सूर्यमान दोङ निकट रहेको बताइएको छ । अभियुक्तबाट बरामद भएको क्रेटा गाडीबाट मन्त्री तीर्थ लामाले काटेको चेकसमेत भेटिएपछि उनको भने संलग्नता देखिएको बताइएको छ ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा काभ्रेको महाभारत गाउँपालिका गोकुलेस्थित विकास योञ्जन (लामा)को व्यवसायिक साझेदारका रुपमा मन्त्री तीर्थ र भुम्लु गाउँपालिकाका उपाध्यक्ष जीतेन्द्रमान तामाङसमेत देखिएका छन् । जीतेन्द्र पनि नेपाली कांग्रेसका नेता हुन् ।
एक प्रहरी अधिकारीले भने, ‘विकास लामाको गिरोहले पटक पटक सुन तस्करी गरेको पाइयो । उनीहरुको सीधै कनेक्सन तीर्थ लामामार्फत भएको देखिन्छ । तीर्थ लामाले एयरपोर्ट सेटिङ गरेकोसमेत भन्नेछ । तर, विकासलाई पक्राउ नगरी तीर्थ लामाको थप संलग्नता पुष्टि गर्न सकिएको छैन । अहिले पक्राउ परेकाहरुबाट विकाससम्म पुगिएको छ ।’
विकाससँग तीर्थको राजनीतिक निकटतामात्र नभएर व्यवसायिक र करोडौंको आर्थिक कारोबारसमेत पुष्टि हुने आधारहरु भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको बाग्मती प्रदेश ०१ २७ च ९९६० नम्बरको क्रेटा गाडीबाट बरामद भएको चेक तीर्थ लामाको नाममा उनकै खाताबाट काटिएको छ ।
विकास र तीर्थको गिरोहले विगत दुई वर्षदेखि सुन तस्करी गरिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । लामाले तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको आडमा धन्दा चलाएका थिए ।
पक्राउ परेका बाबुलालले सुरुमा सुन आफ्नो रहेको बताए पनि विकास र तीर्थका लागि बोक्ने गरेको खुल्दैछ । यो गिरोहले मासिक १० किलोसम्म सुन विमानस्थलबाट सेटिङमै बाहिर निकाल्ने गरेको पाइएको छ ।
तीर्थ र विकास तथा पक्राउ परेका तीन जना भरियाको खातामा प्रारम्भिक अनुसन्धानबाट पनि वार्षिक ५० करोडभन्दा धेरै कारोवार हुने गरेको देखाएको छ ।
पक्राउ परेका बाबुलाल, जगत लामा र मिङमा दोर्जे स्याङतान भने विकास र तीर्थका भरियामात्र रहेको बुझिएको छ ।
दुबईबाट हिमालयन एयरलाइन्सको उडानमा आएका बाबुलालले मलद्वारमा लुकाएर ल्याएको सुन बरामद गरिएको थियो । यो गिरोहसँगै बरामद भएको गाडीसमेत तीर्थ लामाले प्रयोग गर्ने गरेको पाइएको छ ।
पटक–पटक अपहरण, लुटपाट र चोरीमा पक्राउ परी सजाय भोगेका विकासको अस्वाभाविक आर्थिक अवस्था रहेको कांग्रेस नेताहरु बताउँछन् । काभ्रे, मकवानपुर तथा विभिन्न जिल्लामा भएका अपराधमा उनी संलग्न रहेको र अपराधको रेकर्ड निकालेर हेर्ने काम भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
निर्वाचनका समयमा विकासले तीर्थलाई एक करोड चुनावी खर्च उपलब्ध गराएको कांग्रेस नेताहरु बताउँछन् । तीर्थ काभ्रे १ को प्रदेशसभा (क) बाट एमालेका चन्द्र लामालाई ३ मतले हराएर प्रदेश सांसद भएका थिए ।
विकास बनेपा- ९ मा बसोबास गर्दै आएका थिए । तस्करीबाट ल्याएको सुन बनेपामा ल्याएर गाल्ने गरेका थिए । बनेपामा रहेको एउटा सुन गाल्ने पसलमा भारतीय मजदुरलाई त्यसको जिम्मेवारी दिएका थिए ।
साताको दुई केजी सुन दुबईबाट नेपाल ल्याइ नेपाल र भारतका विभिन्न स्थानमा पुर्याउने अभियानमा उनीहरुको समूह सक्रिय रहेको खुलेको छ । विमानस्थलमा राजनीतिक सेटिङ गराई दुबईबाट हरेक दिन नेपाल ल्याउने गरेको सुन बोक्ने भरिया हुन् पक्राउ परेका तीन जना बाबुलाल, जगत र मिङमा । उनीहरु तीनै जना विकासको घरमा बस्दै आएका छन् ।
विकासका भाइ निरज योञ्जन अर्का सहयोगी र योजनाकार हुन् । उनीहरुको समूहले सुनका अलावा आईफोन, हुण्डी कारोबारलगायतका अवैध कारोबार गरिरहेको छ । पछिल्लो समय तीर्थको राजनीतिक संरक्षणमा उनीहरुले तस्करीलगायत आपराधिक गतिविधि गरिरहेको काभ्रे प्रहरीको उच्च स्रोतले जनाएको छ ।
यो समाचारलाई लिएर मन्त्री लामाले गरेको खण्डन यस्तो छ-
विकास योञ्जनले के काम गर्छ ? उनको व्यवसाय के हो ? मलाई थाहा छैन तर उनी नेपाली कांग्रेस पार्टीको प्रदेश अधिवेशन प्रतिनिधि हो तर मसँग कुनै पनि व्यक्तिगत र व्यावसायिक सम्बन्ध छैन । पार्टी कार्यकर्ताको हिसावले भेटघाट तथा राजनैतिक सम्पर्क हुनु स्वाभाविकै हो । राजनीतिक कार्यकर्ताको भूमिकाबाहेक सांसदको, पार्टी सभापतीको र मन्त्रीको हैसियतमा कुनै सहयोगी भूमिकामा उनी थिएन र छैन । प्रदेशसभा क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका सबै इच्छुक उम्मेदवारहरु नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले सिफारिस गरेको हो । यो सामान्य प्रकृया हो ।
विकास योञ्जन हालसम्म तरुण दलको केन्द्रीय सदस्य भएको छैन । नेपाली कांग्रेस पार्टीको अभिलेख हेर्दा हुन्छ । पार्टीको कुनै पनि सदस्यले गर्ने गलत कर्मको संरक्षणमा म अहिले सम्म लागेको पनि छैन र लाग्ने पनि छैन ।
विकास योञ्जन सँग मैले लिनुपर्ने र दिनुपर्ने कुनै कारोबार थिएन र छैन । प्रहरी मुचुल्कामा बरामद गरेको सामाग्रीमा पनि चेक बरामद भएको उल्लेख छैन । प्रहरी मुचुल्का हेर्न सकिन्छ ।
हाल सम्म विकास योञ्जनले गर्ने कुनै व्यवसायमा मेरो कुनै प्रकारको सहभागिता र संलग्नता छैन र मैले गर्ने व्यवसायमा पनि विकास योञ्जनको कुनै प्रकारको संलग्नता छैन । कुनै प्रकारको कारोबार भए सबैतिर अभिलेख हेर्न सकिनेछ ।
एयरपोर्ट सेटिंगको विषय मेरो कल्पनाभन्दा बाहिरको हो । यसको पुष्टि गर्न चुनौती दिन्छु ।
हाल सम्म विकास योञ्जनको गाडी मैले प्रयोग गरेको छैन । कसैसँग प्रमाण भए पुष्टि गर्न चुनौती दिन्छु । म आफू निर्वाचनको उम्मेदवार बन्दा विकास लामा बाट कुनै सहयोग लिएको छैन । कारोबारको अभिलेख वा कुनै आधार र प्रमाण भए पेश गर्न चुनौती दिन्छु ।
देश त अफगानिस्तान नै भएछ क्या हाे देश चलाउने नेताहरू नै सबै तस्कर भएपछि ।
यो गठबन्धन नै तस्करहरूको झुण्ड हो । देशलाई भारतको गुलाम बनाउने, देश कमजोर बनाएर देशभक्तहरूलाई विदेशिन बाध्य पार्ने, भ्रष्टाचार गर्ने, तस्करी गर्ने नै यो गठबन्धनका लठैतहरू हुन् । गठबन्धनलाई माटोमा नमिलाएसम्म देश बर्वाद मात्र हुन्छ । जनताले अब यिनलाई देखाउने बेला भयो । एउटा चटके पदबाट हटनु परेमा लाखौं जनता सडकमा उतार्छु भनेर जनयुद्वको जस्तै धम्कि दिदैछ । यो नौटङ्की नै हो देशको रोग ।यसलाई पहिला जनताले पाठ सिकाउनु पर्छ । लाखौं होईन १०० जना उतारेर देखाओस् ।