लिङ्देनपछि कमल थापाको प्रस्ताव- राजालाई अभिभावकीय संस्थाका रुपमा अघि बढाऔं, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गर्न माग गरेका छन् ।
काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले राप्रपा नेपाल सबै नेपाली अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाको पक्षमा रहेको बताए ।
उनले भने, ‘हामी कसैलाई निधेष गर्न चाहन्नौं राजादेखि माओवादीसम्म सबै अटाउने मौलिक प्रजातन्त्र स्थापना गर्न चाहन्छौं । त्यसैले सबै दलहरुलाई आग्रह गर्न चाहन्छु, सबै किसिमका पूर्वाग्रहबाट माथि उठेर सबै धर्मका बीचमा समानता कायम गरेर राष्ट्रिय पहिचानको रुपमा हिन्दू राष्ट्र कायम गरौं । संघीयतालाई खारेज गरेर केन्द्र र स्थानीय तह गरी दुई तहको सरकारमात्रै कायम गरौं । राजा अभिभावकको रुपमा रहने र शासन जनताले गर्ने नैतिक शक्ति भएको अभिभावकको रुपमा राजसंस्था कामय गरौं ।’
त्यसो त बुधबार काठमाडौंमा आयोजना गरेको राप्रपाको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले पनि राजालाई ‘स्पेश’ दिएर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका थिए ।
उनले भनेका थिए, ‘राजालाई अभिभावकीय संस्थाको रुपमा अगाडि बढाऔं । नेपाल जस्तो सानो देशलाई यति धेरै जनप्रतिनिधि भारी हुन्छ । संघीयताले राष्ट्रिय ऋण बढायो । संघीयता कटौती गरौं । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरौं ।’