नेपालमा बालबालिकामाथि हुने अपराधको डरलाग्दो अवस्था, यस्तो छ तथ्यांक
डोटी । नेपालमा शुक्रशार राष्ट्रिय बाल दिवस मनाइएको छ । स्थानीय तहहरु, प्रदेश सरकार र संघीय सरकारले आ-आफ्नै शैली र व्यवस्थामा बाल दिवस मनाएका हुन् । बाल दिवस मनाउने क्रममा विभिन्न गैरसरकारी संस्थाहरुको पनि सहयोग, सहभागिता र ऐक्यवद्धता रहेको छ ।
राष्ट्रिय बाल दिवस २०२१ सालदेखि मनाउन थालिएका पाइन्छ । भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन सुरु गरियो ।
नेपालका तत्कालीन महारानी रत्ना राज्यलक्ष्मी देवी शाहले भारत भ्रमणका क्रममा महात्मा गान्धीको जन्मदिनमा राष्ट्रिय बाल दिवस बाल दिवस मनाउने गरेको देखिन्छ ।
सोही कुराबाट प्रभावित भई उनले नेपाल बाल संगठन स्थापना गरिन् । उनले आफ्नो जन्मदिनको अवसर पारी २०२१ भदौ ४ मा बालमन्दिरमार्फत टुहुरा, अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बाल दिवसको घोषणा गरी नियमित रुपमा मनाउन थालेको पाइन्छ ।
२०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुनस्थापनापछि गठित अन्तरिम सरकारले संयुक्त राष्ट्रसंघीय बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई सन् १९९० को सेप्टेम्बर १४ अर्थात् २०४७ साल भदौ २९ गते अनुमोदन गरेको दिनलाई नै बाल दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।
त्यसैअनुसार २०६३ सालदेखि भदौ ४ गतेलाई छाडेर भदौ २९ गते यो दिवसलाई देशव्यापी रुपमा मनाउने गरिएको छ । यस बर्ष बाल दिवसको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने रहेको छ ।
निर्दोष आँखा, निर्दोष हाँसो, निर्दोष मन, हैरान पार्ने गरी दोहोरिने सामान्य प्रश्न, दोहोर्याइरहने गल्तीहरु, तोते बोली, बदमास र सैतानी व्यवहार, अवोध गतिविधि, सानो कुरामा खुसी र दुःखी हुने बानी, कार्टुनमा रमाउने, अनि असीमित सपना बोकेका ती कलिला बालबालिका र तिनको सुरक्षा एवं संरक्षणको लागि बाल दिवस मनाउने गरिन्छ ।
बालअधिकार सम्वन्धी महासन्धीले ग्यारेण्टी गरेका बालअधिकारका चार क्षेत्रहरु बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार (बासंविस) को सुनिश्चिता गर्नका लागि वर्षेनी ठूलो धनराशी खर्च गरेर बाल दिवस मनाउने गरिन्छ । तर अपराध तालिकाले भने बालबालिकाहरु सुरक्षित नरहेको देखाएको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको सूचना अनुसार नेपालमा विगत ३ वर्षमा जबरजस्ती करणीबाट ७ हजार ३४५ महिला पीडित भएका छन् । त्यसमध्ये ४ हजार ७४० बालिकाहरु छन् । यो संख्या बलात्कृत भएका कुल संख्याको झण्डै ६५ प्रतिशत हुन्छ । आर्थिक वर्ष आर्थिक वर्ष ०७७/०७८ मा १ हजार ६६५, ०७८/७९ मा १ हजार ५६० र ०७९/०८० मा १ हजार ५१५ बालिका बलात्कृत भएका छन् ।
३ वर्षको अवधीमा १ हजार ९ बालबालिकाहरु बाल यौन दुर्व्यवहारका शिकार भएका छन् । जसमा बालक ११ र बालिका ९९८ रहेका प्रहरी प्रधान कार्यालयले उपलव्ध गराएको तथ्याङ्कमा उल्लेख छ । यस अवधीमा १८६ बालविबाहका मुद्दा प्रहरीमा दर्ता भएका छन् ।
प्रहरीका अनुसार ३ वर्षको अवधिमा ४३८ बालबालिका बेचबिखनका घटनाहरु भएका छन् । यस अवधीमा १५३ बालबालिकाहरुमाथी बोक्सीको आरोप लागेको छ । यस्तै, यो अवधीमा ८६१ बालिकाहरु जवरजस्ती करणी उद्योगका शिकार भएका छन् भने घरेलु हिंसाबाट ४१५ बालबालिकाहरु पीडित भएका छन् ।
३ वर्षको अवधीमा ९६ अवैध गर्भपतनका घटनाहरु भएका प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यस अवधीमा १ सय १ बालबालिकाहरु अप्राकृतिक मैथुनका शिकार भएका छन् । यस अवधिमा ८ सय १३ बालक र १ हजार २ सय ५५ बालिका गरी २ हजार ६८ बालबालिकाहरुले आत्महत्या गरेका छन् ।