हेटौंडाको भावना आधारभूत विद्यालय स्थापना दिवसमा बालबालिकालाई पोशाक वितरण
हेटौंडा । मकवानपुरस्थित एक सामुदायिक विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र अत्यावश्यक पोशाक वितरण गर्ने सहयोगी हातहरु मिलेका छन् ।
भावना आधारभूत विद्यालय मकवानपुरमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाक बितरण गरिएको हो । सोही जिल्लाबासी हाल काठमाडौंमा बस्ने सो विद्यालयका पूर्व विद्यार्थी प्रदीप पौडेलले उक्त विद्यालयमा अध्ययनरत ८२ जना विद्यार्थीलाई शुक्रबार थ्री पिस ट्याकसुट वितरण गरेका हुन् ।
विद्यालयको ३४ औं वार्षिकोत्सव तथा बालदिवसको उपलक्ष्यमा पौडेलले १ लाखभन्दा बढीको विद्यालय पोशाक वितरण गरेको आयोजकले बताएका छन् । मकवानपुर जिल्लाको हेडांैडा उपमहानगरपालिका वडा नम्बर १८ मा पर्ने भावना आधारभूत विद्यालयमा अध्ययनरत आर्थिक अवस्था न्यून भएका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरिएको पौडेलले बताए ।
विद्यालयमा आयोजित विशेष कार्यक्रममा २०४८ देखि २०७३ सम्म अध्यापन गराउने शिक्षिका सुमित्रा भण्डारीलाई पुरस्कारसहित सम्मान गरिएको थियो । कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिका ४ का सामाजिक अभियन्ता विनोद सापकोटाले आगामी दिनमा आफूले पनि विद्यालय र विद्यार्थीका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उक्त विद्यालयको प्रधानाध्यापक रुपा रिजाल श्रेष्ठले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक बितरण गरेकोमा पौडेललाई धन्यवाद व्यक्त गरिन् ।