तीजमा फैलिएका रंगहरु : मातृसत्ता खोज्दै – Nepal Press

तीजमा फैलिएका रंगहरु : मातृसत्ता खोज्दै

पछिल्ला वर्षमा दरखाने अवधि बढेकोमा केही व्यक्तिलाई आपत्ति छ । झन सामूहिक रुपमा महिलाहरु दरखाने चलनप्रति यस्ता व्यक्ति क्लेष पोख्छन् । तीजको महिमा समयावधि बढेर महिनादिन तन्केकोमा यी व्यक्तिहरुमा टाउको दुखाइ छ । यिनको परिभाषामा यसलाई संस्कृतिमा विकृति भित्रिएको व्याख्या छ ! तर, यी राग बोकेका व्यक्तिहरुलाई के थाहा, यही तीज कुनै बेला महिला अधिकार खोज्दै यहाँसम्म आउन पितृसत्तात्मक घेरा तोड्न अनेकौं पापड पेलेको थियो । हो, यही पितृसत्तात्मक सोच आज पुनः उही महिला अधिकार खोसिएको तीज खोजेको छ । यो पितृसत्ता भन्छ, ‘महिलाले नाच्न, गाउन, रमाउन हाम्रो आदेश पर्खनुपर्छ ।’ यो त्यही धार्मिक अतिवादी सोच हो, जसले महिलालाई अभावमा बाँच्ने घेराभित्रको तीज खोजिरहेको छ । अधिकार प्राप्त तीज खोस्न चाहन्छ । सामूहिकताका यी नाचगान उनीहरुका लागि भड्किलो लाग्छ । आउनुस्, तीजमा फैलिएका रंगहरु र यसले तयार गरिरहेको मातृसत्ताको रुपबारे संक्षेपमा चर्चा गरौंः

तीज गीतको भाका भन्नेबित्तिकै अग्रज गायिका हरिदेवी कोइरालालाई सम्झनुपर्छ । हिजो उनका हरेक गीतले महिला स्वतन्त्रता खोजेको थियो । ती गीतहरु महिला क्रान्तिका बुल्डोजर थिए । जसले आज स्वतन्त्र समाज निर्माण गरिदिएको छ ।

न खानुछ माछा मासु न चाख्नुछ इति घीउ, सधैं दुब्ली भन्नुहुन्छ क्यारि लागोस् जीउ । वर्खाभरि मेला जाँदा, सारै दुःख पाउने हो, एउटै सारी सुकाएर कति लाउने हो ।

हिजो हरिदेवीका यी गीतका पंक्तिले ती अभावका दिनहरुबाट मुक्ति खोजेको थियो । महिलाले पौष्टिक चिज खान कि परिवारको स्वीकृति चाहिन्थ्यो कि त माइतमै पुग्नुपर्ने अवस्था थियो । नयाँ कपडा फेर्न त रहरमै सीमित हुन्थ्यो । हो, आज ती सबै बन्धनहरु तोडिएका छन् । तीजको फैलिँदो रुप आज आदिमकालको मातृशक्तिलाई पुनरावृत्ति गर्ने सेतु बन्दैछ । सम्भवतः नेपाल जस्तो गरिब मुलुकमा विश्वका कैयौं पर्वहरुलाई उछिनेर तीज महिलालाई पूर्ण अधिकार प्रदान गर्ने चाड बनिरहेको छ । नेपालमा तीजको फैलावट कहाँबाट सुरुवात भयो ? एक पटक इतिहासमा फर्कौं ।

नेपाली पुर्खाको सृजना

सन् १७५० अप्रिल २२ मा काशी क्षेत्रका ब्राह्मणबीच एउटा विवाद सृजना भयो । दुई समूहमा बाँडिएका यी ब्राह्मणहरुमा पूजाआजा गर्दा महिलालाई प्रतिवन्ध लगाउने वा अधिकार दिनेबारेमा मतभेद थियो । एकथरिले महिला सृष्टिका जननी भएकाले उनीहरुलाई व्रत, पूजाआजा गर्ने थालनी गर्नुपर्छ भन्ने तर्क प्रस्तृत गर्‍यो । यो समूह निकै कमजोर थियो । बहुसंख्यक ब्राह्मणले यो समूहलाई भारतका विभिन्न मन्दिरमा पूजा गर्न रोक लगाउने निर्णय गरे । फलस्वरुप केही वर्षमा सानो ब्राह्मणको समूह उत्तरतर्फ लाग्यो र हिमालय क्षेत्रका मठमन्दिरमा पूजा गर्न आइपुग्यो ।

पितृसत्तात्मक सोच आज पुनः उही महिला अधिकार खोसिएको तीज खोजेको छ । यो पितृसत्ता भन्छ, ‘महिलाले नाच्न, गाउन, रमाउन हाम्रो आदेश पर्खनुपर्छ ।’ यो त्यही धार्मिक अतिवादी सोच हो, जसले महिलालाई अभावमा बाँच्ने घेराभित्रको तीज खोजिरहेको छ । अधिकार प्राप्त तीज खोस्न चाहन्छ । सामूहिकताका यी नाचगान उनीहरुका लागि भड्किलो लाग्छ ।

त्यतिबेला दक्षिण एसियामा देशको अस्तित्वभन्दा राज्यको शासन शक्तिशाली हुन्थ्यो । भारततिर करिव ५०० भन्दा बढी शक्तिशाली राज्य थिए । यी स्वतन्त्र थिए । नेपालतिर पनि त्यही हालत थियो । त्योबेला करिब दुई हजार वर्षअघि मंगोलिया क्षेत्रबाट आएका किराँत, दक्षिण क्षेत्रबाट भर्खर आएका ब्राह्मणहरुबीच सामूहिक बसोबासहरु नेपाल क्षेत्रमा निर्माण गरिए ।

किराँतकाल, लिच्छविकाल र मल्लकालमा अन्तरजातीय घुलमिलका बस्तीहरु तयार हुँदै गएका थिए । आदिमकालमा मानिसहरु घुमन्ते जीवन र बसाइसराइ तीव्र थियो । आजको मितिसम्म अध्ययन गर्दा नेपाल क्षेत्रमा किराँतहरु करिव २५ सय वर्षअघि मंगोलिया क्षेत्रबाट, ब्राह्मण, क्षेत्री, ठकुरीहरु करिब हजार वर्षअघि ककेसस क्षेत्र (हालको आर्मेनिया, अजरबैजान, रुस, बुल्गेरिया, ताजिकिस्तान) हुँदै भारतबाट नेपाल क्षेत्रमा प्रवेश, थारुलगायतका जातिहरु अफ्रिकाका विभिन्न क्षेत्रबाट भारतको दक्षिणी भूभाग हुँदै नेपालमा आवागमन र हालका सबै जातजाति विभिन्न स्थानबाट यहाँ यही कालखण्डमा भित्रिए ।

कोही छिटो आए, कोही अलि ढिलो । विश्वका विभिन्न भागमा छरिएका मानिसहरु नेपाल क्षेत्रमा भित्रिएपछि जुन शक्तिशाली समूह थियो, त्यसैले शासन गर्दै गयो । हो, यही कालखण्ड थियो, जुन बेला नेपालको अस्तित्वका लागि मौलिक रीतिरिवाज, चाडपर्व, धर्म, मूल्य मान्यता र पहिचानका सृजना सामूहिक निर्णयका आधारमा गरिएका थिए ।

यो अवधिमा किराँतहरुका पर्वबीच खस आर्य समाजअन्तर्गत ब्राह्मणहरुका चलन अन्तरघुलन हुन थाल्यो । फलस्वरुप माछामासु नखाने ब्राह्मणहरुले चाडपर्वमा मासु खाने प्रचलन सुरु गरे । हुन त सनातन धर्ममा बलिप्रथा पहिल्यैदेखि चल्दै आएको थियो । तर, बलि दिएका बोका-राँगाको मासु ब्राह्मणले खाँदैनथे । यो चलन चिरेर नेपालका ब्राह्मणले माछामासु खाने चलन सुरु गरे । सन् १९४३ अप्रिलमा भारतीय समाजवादीका नेता जयप्रकाश नारायणले नेपाल भूमिमा आउँदा भनेका थिए, ‘नेपाली ब्राह्मणहरुमा अलग सोच विकास भएको छ, यसले सम्भवतः पुरानो चलनबाट मुक्त गरेको होला र ब्रिटिशले नेपाल भूमिमा ठुलो हमला गर्न आवश्यक ठानेन कि !’

उनी भारत छोडो आन्दोलनको तयारी गर्न नेपालभित्र आउजाउ गर्ने नेतामा पर्थे । जयप्रकाशका केही कृतिमध्ये उनले नेपालमा तयार गरेको ‘आजाद दस्ता’ मा नेपालका हिन्दूले अलग सृजना गरेको पहिचानबारे संकेत गर्दै भनेका छन्, ‘नेपालका हिन्दू भारततर्फका हिन्दूभन्दा पर छन्, जुन हिमालय क्षेत्रका राज्यसँग मिश्रण छ ।’ अर्थात उनले भने झैं किराँतहरुको प्रकृति पूजा र हिन्दूहरुको सनातनी धर्मबीच समागम भएकोतर्फ स्पष्ट संकेत गर्छ ।

भारतमा पनि तीज मनाइन्छ । तर, नेपालको तीज महिलामैत्री छ भने भारतको तीज पुरुषपूजक जडमा जकडिएको छ । पुरुषको सौभाग्यको लागि मात्र भारतमा महिलाहरु तीजमा व्रत बस्छन् । न उनीहरु तीजमा गीत गाउँछन् न त स्वतन्त्रपूर्वक विचरण गर्न पाउँछन् । नेपालमा भने व्रत बस्नेबाहेक सबै कार्यहरुमा महिला अधिकार र महिलाकै आदेशलाई मात्र प्रधानमा राखिएको छ ।

त्यसपछि नेपालमा आफ्नै मौलिक चाडहरु सृजना गरिए । यी चाडमध्येको प्रमुख थियो, दशैं । यो दशैं त्योबेला बसन्त ऋतुमा पर्थ्यो । देवीलाई बलि चढाउने र त्यसको मासु अनिवार्य खाने प्रचलन सुरु गरियो । गर्मी मौसम सुरु भएकाले यसलाई उपयुक्त महिनामा सार्ने निर्णय भयो र शरद ऋतुमा तिथिअनुसार दशैं पर्व मनाउने त्यो बेला निर्णय भएको इतिहासमा उल्लेख छ । योसँगै नेपालका हरेक चाडहरु आफ्नै मौलिक ढंगले विकास गरिएका तथ्यहरु छन् ।

धेरैलाई लाग्न सक्छ, तीज त भारतमा पनि मनाइन्छ । हो, भारतमा पनि तीज मनाइन्छ । तर, नेपालको तीज महिलामैत्री छ भने भारतको तीज पुरुषपूजक जडमा जकडिएको छ । पुरुषको सौभाग्यको लागि मात्र भारतमा महिलाहरु तीजमा व्रत बस्छन् । न उनीहरु तीजमा गीत गाउँछन् न त स्वतन्त्रपूर्वक विचरण गर्न पाउँछन् । नेपालमा भने व्रत बस्नेबाहेक सबै कार्यहरुमा महिला अधिकार र महिलाकै आदेशलाई मात्र प्रधानमा राखिएको छ । यो एक प्रकारको मातृशक्ति हो । मातृ अर्थात आमा, आमा भनेको महिला । हो, यही महिला शक्तिका लागि प्रतीक बनेर फैलिएको तीज आज नेपालका लागि अलग पहिचानमा दरिएको छ ।

नेपाली चाड मातृसत्ताका जग

अब लागौं, नेपालका पर्वहरु भारतका चाडहरुभन्दा भिन्न किन बने ? किराँतको मुन्धुमलाई नेपाली हिन्दूको सनातनमा मिसाएर मौलिक नेपालीको पहिचानमा स्थापित गरिएकोतर्फ फर्कनुपर्छ । करिब दुई हजार वर्षदेखि जन्म, मृत्यु, पर्व, उत्सव आदिमा मुन्धुम र नेपाली हिन्दूको समीश्रणका आधारमा कर्महरु गरिएका छन् । पछि यसैमा आधारित चाडहरु तयार गरिए । सबै नेपाली धर्मावलम्बीका लागि अपनत्व बने यी चाड । बुद्ध धर्मको दर्शन र सनातन हिन्दूका शास्त्रका आधारमा संयुक्त मन्दिरहरु निर्माण गरिए । अन्ततः नेपाली समाज बहुजातीय, बहुधार्मिक समाजको संयुक्त परिवार बन्यो ।

केही नेपालीहरु भारतीय हिन्दू धर्म र त्यहाँको जातसँग नेपालीको पहिचान तुलना गरेर भ्रम सृजना गर्छन् । यो अतिवाद उत्पादन गर्न पछिल्ला दिनहरुमा माछामासु निषेध जस्ता विषयहरु उठान गरेर नेपालको मौलिकता मास्न खोजिरहेका छन् । हामी दशैं मनाउँछौं । मासु खान्छौं । छोरीहरुले टीका लगाएर दक्षिणा पाउँछन् । यो पनि दिदीबहिनी प्रधान चाड हो । भारतमा दसरा मनाइन्छ । त्यहाँ छोरीले बाबुलाई ढोग्छिन् । अर्थात पुरुष प्रधानता । तर, हाम्रा तमाम बाबुहरु छोरीहरुलाई ढोगेर मातृशक्तिलाई शीरमा राख्छन् । हामी नवरात्रमा भोज गर्दा भारतमा महिला व्रत बसेर पुरुषको आयुको कामना गर्छन् । नेपालमा भने हरेक छोरीहरु पिङ खेल्न कुदिरहेका हुन्छन् । तिहारमा सारा दाजुभाइले दिदीबहिनीलाई ढोग्दै टीका थाप्छन् । भारतीय दीपावलीमा महिलाको स्वतन्त्रतासँग कुनै साइनो छैन । किनकि हाम्रो समाजमा देउसीभैलो खेल्न छोरीहरुलाई अलग रुपको स्वतन्त्रता प्रदान गरिएको छ ।

भारतमा हरितालिका तीज, जहाँ महिलाहरु पलपल हारिरहेका हुन्छन् । नेपालमा हरितालिका तीज जहाँ पलपल महिलाहरु जयजयकार बनिरहेका हुन्छन् । जहाँसम्म मनोरञ्जनको अवधि धेरै भयो भन्ने प्रश्न छ । यो परिवर्तनको स्वरुप हो । तीज रुपान्तरणको स्वरुप हो । आज गरिब परिवारको महिला र धनी परिवारको महिलाबीच सम्बन्ध जोड्ने कडी बनेको छ तीज ।

हामी दशैं मनाउँछौं । मासु खान्छौं । छोरीहरुले टीका लगाएर दक्षिणा पाउँछन् । यो पनि दिदीबहिनी प्रधान चाड हो । भारतमा दसरा मनाइन्छ । त्यहाँ छोरीले बाबुलाई ढोग्छिन् । अर्थात पुरुष प्रधानता । तर, हाम्रा तमाम बाबुहरु छोरीहरुलाई ढोगेर मातृशक्तिलाई शीरमा राख्छन् ।

महिनौं दिनअघिदेखि दर खाइरहेका दृश्यलाई आलोचना गर्नेले वास्तविकता बुझ्न सक्नुपर्छ । एक पटक हेरौं यो दृश्य । यो दर खानेमा टोल, समूह, कार्यालय, कलेज, आमा समूह हुन् । यिनै समूहले पार्टी प्यालेस वा फराकिलो स्थानमा दर खाइरहेका हुन्छन् । एकएक व्यक्तिसँग थोरै पैसा उठाएर सामूहिक रुपमा दर खाएका हुन्छन् । एउटा गरिब परिवारको बुहारी एक्लैले यतिका परिकार किनेर खान सक्दैनन् । तर, सामूहिक रुपमा आज ती तमाम गरिब परिवारका छोरीहरुले दर खान पाएका छन् । धनी र गरिबबीचको अन्तर मेटिँदै गएको छ ।

हामीले रुपान्तरित समयलाई बुझ्न सक्नुपर्छ । हिजो जबरजस्ती मागी विवाह हुने गरेकोमा आज रोजी विवाह छ । हिजो माइत जान श्रीमानको अनुमति लिनुपर्नेमा आज स्वनिर्णय गरेर श्रीमतीहरु माइत पुग्छन् । हिजो ९० प्रतिशत महिला कृषिमा आश्रित थिए । अर्थात घाँस काट्नु, घरको काम गर्नु वा राति अबेरसम्म खेतको काम गरेर एक दिन तीज मनाउन समय छुट्याउनु बाध्यता थियो । आज अधिकांश छोरीहरुको जीवनमा परिवर्तन आएको छ । हो, अझै पनि ग्रामीण महिलाहरु र विपन्न परिवारका छोरीहरुलाई पुरानै दुःख यथावत छ । उनीहरु पनि आर्थिक सम्पन्न महिलासरह पुग्न जरुरी छ । यसैको लागि त अझै तीजको महत्व झल्काउन आवश्यक छ ।

हिजो हरिदेवी कोइरालाले महिला अधिकारका शब्द खोजेर तीजको भाका निर्माण गरिन् र आज यो अधिकार प्राप्त भयो । समयानुसार तीजका भाका परिवर्तन हुनु, पहिरनमा आधुनिकता खोज्नु र यसको उपयोगमा नयाँपन ल्याउनु नै हरिदेवी कोइरालाले खोजेको महिला अधिकारकै आवाज हो । त्यसैले त तुलनात्मक रुपमा आज धेरै महिलाले त्यो अतितको विभेद रुपी दुःखबाट मुक्ति पाइसकेका छन् ।

अतः महिलाहरुको मनोरञ्जनलाई कथित विकृतिको संज्ञा दिनु नै पुरुष प्रधान समाजको चित्र प्रस्तुत गर्नु हो । दिनहुँ भट्टीमा रमाएर घर फर्कने श्रीमानले आफ्नी श्रीमतीले तीजका अवसरमा सामूहिक दर खाँदा जलन व्यक्त गर्नु हिजैको अत्याचारलाई निरन्तरता दिनु हो । जहाँसम्म मदिरा सेवनको विषय छ, यो पनि लैंगिक समानतासँग जोडिएको अधिकार हो । विकसित मुलुकमा पुरुषले मात्र खानु, महिलाले नखानु भनेर भेदभाव चल्दैन । हाम्रो कानून र पर्वले पनि श्रीमानलाई मदिरा सेवन गर्न खुला र श्रीमतीलाई निषेध गरेको छैन । यो खाने नखाने भन्नेबारेमा लैंगिक विभेद कहींकतै उल्लेख छैन । यसको उपयोग, व्यवस्थापन, योसँग जोडिएको नैतिकता र आवश्यकता महिला-पुरुष दुवैबीचमा समान कर्तव्य र अधिकार छ । यसलाई अतिरञ्जित गरेर पुरानै लयमा तीजलाई फर्काउने भाष्य निर्माण गरिँदैछ ।

आज, तीज फैलिएकोमात्र छैन, रंगहरु भरेर हरेक महिलाको आँगनमा आएको छ । आज नेपालीहरुको तीजमा घाँस बोकिरहेकी महिला हुन् वा बैंकमा काम गरिरहेकी छोरी, उनीहरुलाई यसो समय मिलाएर साथीसंगीहरुसँग नाचगान गर्ने पूर्ण अधिकार प्राप्त छ । यो कुनै एउटा धर्मको चाड होइन । तीज सबै नेपाली महिलाको पर्व हो । महिला शक्तिलाई स्थापित गर्ने अवसर हो । व्रत लिनु वा नलिनु आआफ्नो चाहना हो । तीजका ती तमाम मूल्य मान्यता तोडिएका छैनन्, बरु थपिएका छन् । कामकाजी महिलादेखि फुर्सदिला छोरीहरुलाई आत्मविश्वास जगाउने उत्सव हो, तीज । सबै धर्म र सबै जातिलाई एक मालामा जोड्ने सेतु हो । नेपालीहरुको हरितालिका तीज, जहाँ महिलाहरुको मातृशक्तिलाई आज व्युँझाइरहेको छ ।

(लेखक त्रिपाठी साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *