‘कोड फर चेन्ज’ ले यस पटक पनि कोडिङ प्रतिस्पर्धा गराउने
काठमाडौं । आईटीका विद्यार्थीलाई आफूले सिकेका नवीनतम प्रविधिको व्यावहारिक अनुप्रयोग प्रदर्शनसँगै एक्सपोजर अवसर प्रदानको उद्देश्यले यसपटक पनि देशव्यापी प्रतिस्पर्धा गराइने भएको छ । विगत ६ वर्षदेखि प्रविधिको क्षेत्रमा अनुभवी कोड फर चेन्जले गत वर्ष झैं यस वर्ष पनि उक्त प्रतिस्पर्धा गराउन लागेको हो ।
नेपालमा सबैभन्दा ठूलो आईटी ह्याकाथोन दाबी गरिएको ‘कोडफेस्ट’ सातैवटा प्रदेशमा सेप्टेम्बर २१-२८ सम्म सञ्चालन गराई त्यहाँबाट छनौट भएकालाई राजधानी काठमाडौंमा अक्टोबर ६ ,७ र ८ मा प्रतिस्पर्धा गराइनेछ ।
कोड फेस्ट ह्याकाथोनको प्रारम्भिक तयारीसहित दर्ता प्रक्रिया अघि बढेको आयोजकले जनाएको छ । यसमा सबै किसिमका विद्यार्थीले टीम बनाएर दर्ता गराउन सक्ने बताइएको छ । एउटा टीममा कम्तीमा २ जना र बढीमा ४ जना सहभागी हुन पाउने बताइएको छ ।
दिगो विकासका लक्ष्यमध्ये ३, ४, ५, ९, ११, १३ र १६ नम्बर बुँदामा आधारित भएर सात थिममा यस वर्षको योजना रहेको आयोजकका परियोजना प्रमुख कृष्णप्रसाद पोखरेलले बताए ।
प्रमुखका अनुसार उक्त सात थिम गुड हेल्थ एण्ड वेल बीईङ्ग, क्वालिटी एजुकेशन, जेण्डर इक्युलिटी, ईण्डस्ट्रि इनोभेशन एण्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटीज, क्लाइमेट एक्सन, र पिस जस्टिस एण्ड ष्ट्रोङ्ग इन्स्टिच्युसनमा आधारित रहेर कुनै किसिमका समाधान सुझाउने गरी गरिने प्रोजेक्टहरुलाई छान्ने र बीचमा प्रतिष्पर्धा गराई उत्कृष्ट टीमहरूलाई विशेष पुरस्कार सहित विभिन्न ठाउँमा अवसर प्रदान गरिनेछ ।
कोडफेस्ट २०२३ को विजेता टीमले ५० हजार, पहिलो पदक विजेताले २५ हजार, दोस्रो पदक विजेताले १५ हजारसहित थप पुरस्कार प्रदान गर्नेछन् । टप टीमले नि:शुल्क होस्टिङ प्राप्त गर्ने गर्नेसँगै सहभागी सबै टीमलाई होस्टिङ सेवामा ३० प्रतिशत छुट दिइने पोखरेलले जानकारी दिएका छन् ।
इच्छुकले यस लिंकबाट आफ्नो टीम दर्ता गराउन सक्ने आयोजकले जनाएको छ ।