मापदण्डविनाका एलपी ग्यास बिक्री भइरहेकोमा योगेशले गराए ध्यानाकर्षण (भिडिओ)
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले अनधिकृतरूपले ५० देखि ४५० केजीसम्मका एलपी ग्यास बिक्रीवितरण भइरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समिति बैठकमा भट्टराईले सम्बन्धित मन्त्रालय र आयल निगमसँग अनुमति नलिई केही कम्पनीले बढी तौलका खाना पकाउने ग्यास बिक्रीवितरण गरिरहेको र यसले जोखिम उत्पन्न हुने भन्दै ध्यानाकर्षण गराएका हुन् ।
खाना पकाउने ग्यास १४ दशमलव २ किलो हुनुपर्ने मापदण्ड रहेकोमा बढी तौलको ग्यास बिक्रीको विषयमा सरोकारवाला निकायसँग समितिले छलफल गर्नुपर्ने भट्टराईको भनाइ छ ।
बढी तौलका ग्यास सिलिण्डरमा गुणस्तर चिन्ह नभएको र १४ दशमलब २ किलोको सिलिण्डरको थिकनेस र ५० देखि ४५० केजीसम्मका ग्यास सिलिण्डरको थिकनेस एउटै रहेको भन्दै उनले यसले ठूलो दुर्घटना निम्त्याउन सक्नेतर्फ सचेत गराए ।