पोखरामा सर्वाधिक पुरस्कार राशिको राष्ट्रिय फुटसल प्रतियोगिता हुँदै
पोखरा । पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशिको दोस्रो राष्ट्रिय फुटसल प्रतियोगिता गर्ने भएको छ । राजन एन्ड द ब्रदर्सको आयोजनामा असोज २७ देखि ३० गतेसम्म पोखरा रंगशालास्थित कभर्ड हलमा फुटसल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडीले समान २५/२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा भाग लिन २५ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । प्रतियोगितामा देशैभरबाट ३० भन्दा बढी समूहले भाग लिने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
राजन एन्ड द ब्रदर्सले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो । ‘परिवर्तनका लागि खेलकुद’ नारा साथ आयोजना गरिएको प्रतियोगितामा पोखराकै स्पोर्टस् क्यासलसँग सहकार्य गरिएको छ ।
आयोजकले अघिल्लो वर्ष ३ लाख रुपैयाँ राशीको राष्ट्रिय खुला फुटसल प्रतियोगिता गरेको थियो । अघिल्लो पटक आयोजक (स्पोर्टस् क्यासल) बाट सहभागी भएका सुमित श्रेष्ठ, राम शाही, आरुष सिंह र दिपेश घले नेपाली राष्ट्रिय फुटसल टिममा छनोट भएका छन् ।
आयोजकका तर्फबाट खेलेका ४ जना खेलाडी राष्ट्रिय फुटसल टिममा परेकाले आफूहरुलाई हौसल मिलेको प्रतियोगिता संयोजक राजन गुरुङले बताए ।