स्वदेशमै विद्युत् खपत गर्न विद्युतीय सवारीको प्रवर्द्धनमा ध्यान केन्द्रित गरेका छौं: ऊर्जामन्त्री बस्नेत – Nepal Press

स्वदेशमै विद्युत् खपत गर्न विद्युतीय सवारीको प्रवर्द्धनमा ध्यान केन्द्रित गरेका छौं: ऊर्जामन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा सरकारले नीतिगत प्रबन्धसँगै थप सहजीकरण गर्ने बताएका छन् ।

उनले वातावरण संरक्षणका साथसाथै देशभित्रै बिजुलीको खपत बढाउन विद्युतीय सवारीसाधनको प्रवर्द्धन जरुरी रहेको बताए ।

काठमाडौंको भृकुटीमण्डपमा जारी सवारीसाधनहरुको मेला नाडा अटो शो २०२३ को स्थलगत अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्न देशव्यापी थप चार्जिङ स्टेशन निर्माणलाई पनि प्राथमिकता दिइएको बताए ।

निजी क्षेत्रले चार्जिङ स्टेशन निर्माण गर्न चाहेको खण्डमा आवश्यक सहजीकरण गरिएको, विद्युत प्राधिकरणले प्रसारण प्रणाली तथा ट्रान्सफर्मरसमेत प्रबन्ध गरिरहेको जानकारी दिँदै मन्त्री बस्नेतले युग सुहाउँदो विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्न सकिने जति सबै काम गरिने विश्वास दिलाए ।

उनले प्राधिकरणले हालैमात्र देशभर ५१ वटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको जानकारी दिँदै क्रमशः थप स्टेशन निर्माण गरेर विद्युतीय सवारीसाधन प्रयोगलाई बढावा दिने बताए ।

निजी क्षेत्रलाई सघन रुपमा चार्जिङ स्टेशन निर्माणमा लगानी गर्न उनले आग्रह गरे । मन्त्री बस्नेतले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट मात्रै वातावरण संरक्षण र बिजुलीको खपत बढाउन सकिने स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर