दैनिक उपभोग्य वस्तुमा उपभोक्ता ठगिए, कन्जुमर कोर्ट पनि छैनः दुगड
काठमाडौं । दैनिक प्रयोगमा आउने वस्तु किन्दा उपभोक्ता ठगिरहेको पूर्वउद्योग राज्यमन्त्री मोतीलाल दुगडले बताएका छन् ।
नेकपा एमालेले आइतबार आयोजना गरेको ‘बढ्दो महँगी र उपभोक्ता हित’ विषयक कार्यक्रममा उनले उपभोक्ताहरुमा जगरुकतामा पनि नभएको बताए ।
‘देशको विडम्बना एउटा ‘कन्जुमर कोर्ट’ छैन । विश्वका अन्य देशमा ‘कन्जुमर कोर्ट’ रहेको हुन्छ । उपभोक्ता अधिकारका लागि ‘कन्जुमर कोर्ट’ नभएका कारणले हामी ठगिरहेका हुन्छौं । हरेक ठाउँमा ठगिनु परेको छ । अनुगमन पनि चाडपर्व आउनुभन्दा एक महिना पहिलेदेखि मात्रै हुन्छ । किन वर्षैभरि अनुगमन गर्न सक्दैनन् ? किन हामीले चाडपर्वमा मात्रै उपभोग गर्न हो ?’, उनले भने, ‘अब उपभोक्ता जागरण अभियान चलाउनुपर्छ । उपभोक्ताका हकहरु कहाँ कहाँ छन् र के के छन ? उनीहरुको हक अधिकारको संरक्षण गर्नुपर्छ । यसमा राज्यलगायत उपभोक्ता मञ्चको पनि दायित्व रहेको छ । उपभोक्ताहरु ठगीमा नपरुन् भनेर जागराण अभियान सुरु गर्नुपर्छ ।’
पूर्वराज्यमन्त्री दुगडले अहिले उपभोक्ता आफ्नो न्यायको लागि जिल्ला र उच्च अदालतमा जानुपर्ने अवस्था रहेको तर त्यहाँ कुनै काम कारबाही नहुने बताए ।
‘कुनै कम्पनीले समयमा काम सकाएन भने त्यसलाई कारबाही हुन्छ । तर, सरकारले आफ्नो काम समयमा सकाएन भने सरकारलाई प्रश्न कसले गर्ने ?’, उनले भने, ‘उपभोक्ता अधिकारका लागि लड्नुपर्छ । हामी नचाहिने कुरामा लड्छौं । तर, यस्तो महत्वपूर्ण विषयमा लड्दैनौं ।’