रेमिट्यान्समा ऐतिहासिक रेकर्ड, कस्तो छ देशको वर्तमान आर्थिक अवस्था ? – Nepal Press

रेमिट्यान्समा ऐतिहासिक रेकर्ड, कस्तो छ देशको वर्तमान आर्थिक अवस्था ?

एक महिनामै २५ प्रतिशत बढ्यो रेमिट्यान्स

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना (साउन) मा रेमिट्यान्स २५.८ प्रतिशतले बढेको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स २५.८ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २०.३ प्रतिशतले बढेको थियो ।

त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।

साउन मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९ हजार १५२ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६ हजार ४२३ कायम भएको छ ।

आर्थिक वर्ष २०८०÷८१ को पहिलो महिनामा कुल वस्तु निर्यात ८.७ प्रतिशतले कमी आई १३ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २८.७ प्रतिशतले कमी आएको थियो । भारततर्फ भएको निर्यात २०.८ प्रतिशतले कमी आएको छ । चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ५२७.२ प्रतिशत र १५.४ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८०÷८१ को पहिलो महिनामा कुल वस्तु आयातमा १.६ प्रतिशतले कमी आई १ खर्ब २९ अर्ब २४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १२.९ प्रतिशतले कमी आएको थियो ।

आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले कमी आई १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.४ प्रतिशतले घटेको थियो ।

चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई १५ खर्ब ७३ अर्ब १२ करोड पुगेको छ । आर्थिक वर्ष ०७९/८० को असार मसान्तमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको थियो ।

त्यस्तै, अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० साउन मसान्तमा १.२ प्रतिशतले वृद्धि भई ११ अर्ब ८५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० साउन मसान्तमा २.९ प्रतिशतले वृद्धि भई १३ खर्ब ८५ अर्ब २४ करोड पुगेका छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा ०८० साउन मसान्तमा २.९ प्रतिशतले कमी आई १ खर्ब ८७ अर्ब ८९ करोड कायम भएको छ ।

राष्ट्र बैंकको समीक्षा अवधिमा चालु खाता १२ अर्ब ९९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १५ अर्ब १३ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ८८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ९ करोड ८५ लाखले बचतमा रहेको छ ।

यस्ताे छ देशकाे आर्थिक अवस्था:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर