एसिया कपको उपाधि भारतलाई, ६.१ ओभरमै भेट्यो लक्ष्य – Nepal Press

एसिया कपको उपाधि भारतलाई, ६.१ ओभरमै भेट्यो लक्ष्य

काठमाडौं । भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । आज भएको फाइनलमा श्रीलंकालाई १० विकेटको लज्जास्पद हार चखाउँदै भारत उपाधि विजेता बनेको हो ।

टस जितेर ब्याटिङ रोजेको श्रीलंका ५० रनमै अलआउट भएको थियो । मोहम्मद सिराजले एकै ओभरमा ४ विकेट लिएपछि धराशयी बनेको श्रीलंकाले कुनै पनि क्षण भारतलाई चुनौति दिन सकेन । श्रीलंकाका दुईजना ब्याट्सम्यानले मात्रै दोहोरो अंकमा रन बनाए । चार जना ब्याट्सम्यान शून्यमा आउट भए ।

सिराजले ७ ओभर बलिङ गर्दा २१ रन दिएर ६ विकेट लिए । हार्दिक पाण्ड्याले २.२ ओभरमा ३ रन मात्र खर्चेर तीन विकेट लिए भने जसप्रित बुमराहले १ विकेट लिए । श्रीलंकाका कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए ।

जवाफी ब्याटिङमा भारतले ६.१ ओभरमै लक्ष्य भेट्टायो । कप्तान रोहित शर्माको स्थानमा इसान किसनले शुभमन गिलसँग ब्याटिङ सुरुवात गरेका थिए । उनीहरुले श्रीलंकाका बलरहरुलाई कुनै मौका दिएनन् । गिलले १९ बलमा ६ चौकासहित २७ रन बनाए भने किसनले १८ बलमा २३ रन बनाए ।

भारतले आठौंपटक एसिया कपको उपाधि जितेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *