यी हुन् ४ जनाको सामूहिक हत्यामा संलग्न व्यक्ति र प्रयोग गरेको हतियार (तस्बिरहरू) – Nepal Press

यी हुन् ४ जनाको सामूहिक हत्यामा संलग्न व्यक्ति र प्रयोग गरेको हतियार (तस्बिरहरू)

काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुनेस्थित गैह्रिगाउँमा भएको सामूहिक हत्याका आरोपितलाई सार्वजनिक गरेको छ । प्रहरी परिसर टेकुमा आयोजित पत्रकार सम्मेलनमार्फत आरोपित व्यक्ति सञ्जय भण्डारीलाई सार्वजनिक गरिएको हो । स्थायी घर सिन्धुपाल्चोक भएका भण्डारी काठमाडौं काँडाघारी वीरेन्द्र चोक बस्दै आएका थिए ।

उनलाई घटनाको क्रममा लगाएको कपडासहित पक्राउ गरिएको प्रहरी परिसर टेकुका एसएसपी सोमेन्द्रसिंह राठौरलेले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । ‘तपाईंहरु अहिले पनि कपडामा लागेका रगतका छिटाहरु देख्न सक्नुहुन्छ’, एसएसपी राठोरले भने ।

केही दिन अघि नवीन राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसइबी साँध्नका लागि बारम्बार प्रयास गरेको र त्यही क्रममा हत्या गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।

प्रहरी परिसर टेकुले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै सामूहिक हत्याकाण्ड भएपनि सीसीटीभी फुटेजसमेतको सहयोगमा अनुसन्धान गर्दा सञ्जय भण्डारीलाई पक्राउ गरिएको जनाएको हो ।

पक्राउ परेका भण्डारी बोल्न नसक्ने भएकाले प्रहरीले लेख्न लगाएको थियो । लेखेर उनले घटनाको स्वीकार गरेका थिए । उनले दिदीभिनाजुको घरबाट नवीन राईलाई भेटे छप्काइदिन्छु भन्दै खुकुरी बोकेर ल्याएको एसएसपी राठोरले बताए ।

भण्डारीले समिलको पछाडिको ढोकाबाट प्रवेश गरी हत्या गरेको खुलेको छ । राईलाई हत्या गरिसकेपछि अन्य तीनजनाले पनि देख्ने डरले हत्या गरेको भण्डारीले स्वीकार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको राठोरले जानकारी दिए ।

घटनापछि पनि उनी दिदिभिनाजुकैमा सुत्न गएका थिए । आइतबार बिहान भने प्रहरीले आफूलाई खोज्न सक्ने भन्दै सिन्धुपाल्चोक जान लागेका थिए । त्यही क्रममा उनी पक्राउ परेका हुन् । सिन्धुपाल्चोकमै उनले ८ कक्षासम्म र काठमाडौमा १२ कक्षासम्म अध्ययन गरेको प्रहरीले जनाएको छ ।

उनीमाथि सांकेतिक भाषाविज्ञ झिकाइ अनुसन्धान गरिएको र थप अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।

प्रहरीले घटनाको अनुसन्धानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो समितिले ३७ घण्टाको सक्रियतामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

तीनकुनेमा खुकरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोला पुगेका थिए । आरोपित सञ्जयले नवीन राईसितको रिसिइबीले चारजनाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । बोल्न नसक्ने सञ्जयले प्रहरीसामू लेखेर हत्या गरेको स्वीकार गरेका थिए ।

शनिबार नविन राईसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

 


प्रतिक्रिया

One thought on “यी हुन् ४ जनाको सामूहिक हत्यामा संलग्न व्यक्ति र प्रयोग गरेको हतियार (तस्बिरहरू)

  1. दु:खद :: यसरी मान्छेलाई रिस उठेको भरमा मारिदिने आँट अपराधीक मन कहाँ बाट आयो : समाज किन यत्ती बिक्रित बनेको हो !? वास्त्वमा :: यो बिक्रित मनोबिज्ञान सँग निकट बिगत गहिरो रुपमा जोडीन्छ !!
    :: भारतको उक्साहटमा प्रचन्डपथ देखाएर प्रचन्डको निर्देशनमा मन नपरेको मान्छे सफाया गर्ने र कुनै धक र डर अनी कारवाही नहुने बिगत कत्ती बलियो आधार छ !!
    :: अनी अहिले, गरेका अपराधहरु आफुलाई समर्थन गरे बापत मिनाह गरेर (पाखुरा देखाएर,पावर देखाएर) कुख्यात अपराधीलाई फूल माला सहित जेलबाट छुटाएर ‘मन्परी गर्न पाईन्छ आफ्नु राजमा : गठबन्दन मा आउने हो भने’ भन्ने मेसेज वा तथ्य स्थापित गरेको परिणाम् !!
    :: सरकार आँफै हत्या गर्छ : सहिद भनेर सम्मानको नाटक गर्छ : अरुले के सिक्छन के गर्छन् यो बाहेक !?
    :: लामु समय देखी चलेको मानब हत्या क्ष्रिँखला कहिले अन्त हुन्छ :: गठबन्दन सरकार !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर