राज्यमा भन्सार प्रशासनमात्र खराब हो त ? – Nepal Press

राज्यमा भन्सार प्रशासनमात्र खराब हो त ?

‘ब्रेक शु’भित्र लुकाएर काठमाडाैं एयरपोर्ट भन्सारबाट ६० किलोभन्दा बढी सुन तस्करी भएको कुरा अहिले अनुसन्धान सम्पन्न भै केही भन्सार कर्मचारीहरुलाई पनि मुद्दा चल्ने भएको छ । सोही विषयमा सामाजिक सञ्जाल र अनुसन्धान गर्ने निकायहरुसमेतले दिएको तनावका कारण उक्त कार्यालयमा कार्यरत अधिकृतभन्दा तलका प्रायः सबै कर्मचारीहरुले सरुवा मागेको र समयमा सरुवा नगरेको भनी कर्मचारीहरु आन्दोलित भएको कुरा पनि समाचारमा आएकै हो । सामाजिक सञ्जालबाट मात्र हैन हाम्रो समाजमा रहेका र देखिने हरेक विकृतिका विषयमा कुरा गर्दा ‘भन्सार जस्तो’ भनेर खराब वा नकारात्मक चित्रण गर्ने गरिन्छ । यसरी समाजमा चित्रण गरिए जस्तै के राज्य र समाजका सबै विकृतिको जड र खराब चैं नेपालमा भन्सार र भन्सार प्रशासनमात्र हो त ? अनि भन्सार र भन्सार प्रशासनबाहेक समाज र राज्यका अरु सबै निकायहरु सक्षम र दोषरहित छन् त ?

भन्सार भनेको सिमानामा रहने सरकारी निकाय र देशको पहिलो प्रवेश विन्दु पनि हो । भन्सार प्रशासनको रुपमा विमानस्थल र देशको सिमानामा देखिने प्रशासनले, विदेशीहरुलाई प्रवेश विन्दूमा पार्ने प्रभावका कारण सिमानामा देखिने समग्र देशको तस्वीर र राष्टको ऐनासमेत हो । कामको हिसाबले सीमा व्यवस्थापनका साथै वैध व्यापारलाई सहजीकरण गरी अवैध व्यापारमाथि नियन्त्रण कायम गर्दै व्यापार सहजीकरण गर्ने कार्य नै भन्सार प्रशासनको प्रमुख कार्य हो । गुणस्तरविहीन, अखाद्य तथा सार्वजनिक सुरक्षा र राष्ट्रिय हितमा प्रभाव पार्ने र रोगव्याधी तथा महामारी फैलाउने मालवस्तुहरुको आयात हुन नदिएर नियन्त्रण गरी सार्वजनिक हितको संंरक्षण गर्ने कार्य पनि भन्सार प्रशासनले नै गरिआएको छ । भन्सार प्रशासनले गर्नैपर्ने यस्ता कार्यहरु गर्न अन्य सरकारी निकाय र समाजको सहयोग अपरिहार्य छ । अझ नेपालमा सीमा व्यवस्थापनसम्बन्धी कार्य सुरक्षा निकायहरुबाट नै हुने हुँदा त्यस्ता निकायहरुको सहयोगविना त भन्सार र भन्सार प्रशासनले मात्र त्यस्ता अपेक्षित कार्य गर्न सम्भव छँदैछैन ।

नेपालको भन्सार प्रशासनकै बारेमा कुरा गर्दा समग्र राजस्वको ४८ प्रतिशतभन्दा बढी भन्सार विन्दूबाटै संकलन भैरहेको जगजाहेर छ । नेपाल र भारतबीच रहेको एकहजार ७७० किलोमिटरको खुला सिमाना र त्यसबाट चोरी तस्करीले पाएको प्रोत्साहनका कारण भन्सारबाट आयात भएकै मालवस्तुहरुको मात्र व्यवसाहीहरुले आन्तरिक कारोबार देखाउने गर्दा अधिकांश आयकर र मूल्य अभिवृद्धि करको आधार पनि भन्सार विन्दू नै हो । भन्सारबाटै आयातित कच्चापदार्थको खपतको आधारमा उद्योगहरुले समेत आफ्नो उत्पादन देखाउने तथा नयाँ उद्योग खोल्न र सञ्चालन गर्न आवश्यक मेसिन औजार पनि भन्सारबाटै आयात गर्नुपर्ने कुरा सबैलाई थाहा छ । यसर्थ उद्योगीकरण गर्न, उद्योग व्यापारको बढोत्तरीबाट रोजगारी सृजना गरी समग्र राज्यको आर्थिक अवस्थालाई चलायमान बनाउन वा राज्यको आर्थिक अवस्था मजबुत बनाइ अर्थतन्त्रलाई सुदृढ बनाउन समाजको जतिसुकै गाली खाएर भए पनि काम गर्ने निकायमा भन्सार कार्यालयहरु र भन्सार प्रशासनको विकल्प अहिलेसम्म कसैले देखाउन सकेका छैनन् ।

नेपालमा सीमा व्यवस्थापनसम्बन्धी कार्य सुरक्षा निकायहरुबाट नै हुने हुँदा त्यस्ता निकायहरुको सहयोगविना त भन्सार र भन्सार प्रशासनले मात्र त्यस्ता अपेक्षित कार्य गर्न सम्भव छँदैछैन ।

राज्यले तोकेको भन्सार विन्दूमा बसेर वैध व्यापारलाई सहजीकरण गरी चोरी तस्करीलाई निरुत्साहित र नियन्त्रण गरेर अवैध व्यापार नियन्त्रण गर्नु भन्सार प्रशासनको मुख्य कार्य हो । उक्त कार्य सम्पादन तथा समग्र राष्ट्रको हितका लागि सीमा क्षेत्रमा खटिने अन्य निकाय र स्थानीय समाजबाट यसमा सहयोग गर्नु अपरिहार्य छ । तर, सहयोग गर्नुपर्ने निकायहरुबाट नै सो कार्य भन्सार कर्मचारीको मात्र जिम्मेवारी जस्तो गरी प्रचार गर्ने र आफ्नो निहित स्वार्थको लागि भन्सार विन्दू भएर आएका मालवस्तुहरुलाई बारम्बार चेकजाँचको नाममा विभिन्न बाधा अड्चन र हडलहरु सृजना गरेर निरुत्साहित गर्नु कदापि उपयुक्त हुँदै होइन । यसबाट वैध व्यापारमा विचलन आउने र अनौपचारिक बाटोमा सहज रुपमा अवैध भन्सारहरु सञ्चालन हुने हुँदा त्यस्ता संयन्त्र र समाजबाट भन्सार कार्यालयहरुले कसरी व्यापार सहजीकरण र नियन्त्रणबीच तादाम्य मिलाउने ? अनि कार्यसम्पादनको सन्दर्भमा अञ्जानमा भएको सामान्य गल्तीलाई समेत तिलको पहाड बनाएर भन्सार कर्मचारीको हुर्मत लिने र भन्सार प्रशासनलाई खुइल्याएर भन्सार प्रशासनबाट तोकिएको लक्ष्यबमोजिम राजस्व असुली तथा अपेक्षाअनुसारका कार्य सम्पादनको अपेक्षा कसरी गर्ने ?

विगतको तुलनामा दिनदिनै बढ्दै गएको व्यापार र अन्तर्राष्ट्रिय कारोार तर वर्षैपिच्छे खुुम्चँदै गएको भन्सारको संगठन संरचना र संयन्त्रको त कुरा गरेर साध्यै छैन । २० वर्ष अगाडि करिब एक हजार ७०० भन्दा बढी रहेको कर्मचारी संख्या दशौं कार्यालय थपिँदा र राजस्वमा दशौं गुणा बढोत्तरी हुँदा पनि झन कार्यालय र कर्मचारी संख्या घटाउँदै करिब एक हजारको आसपासमा आइपुगेको छ । अझ भन्सारमा आवश्यक दक्ष र कार्यसँग आवश्यक कर्मचारीभन्दा ननकोर कर्मचारीको संख्या व्यापक बढेको देखिन्छ । यसरी दिन प्रतिदिन कार्यालयको कम्पाउण्डभन्दा बाहिर जान नसक्नेगरी खुम्चिँदै गएको भन्सार कार्यालयको संरचनाले विकास निर्माणका नाममा देशको सुरक्षा तथा आर्थिक संवेदनशीलतालाई नजरअन्दाज गरी सीमावर्ती भारतीय बजारसँग सहज पहुँच बनाउने गरी बन्ने राजमार्ग र विकास निर्माणका संरचनाले हाम्रो आर्थिक अवस्थालाई धराशाही बनाएकै छ ।

अझै सस्तो छ भनेर नेपालका बजारहरु सुकाएर पारिका बजारमा घरायसी सामानका नाममा मालवस्तुहरुको खरिद गर्न जाने प्रवृत्ति र घरायसी सामानका नाममा नै गरिब र निम्न वर्गका निम्सरा व्यक्तिहरुको शोषण तथा दुरुपयोग गरी पोका बोकाएर तस्करी गराएर रातारात करोडपति बन्न चाहने तस्कर व्यापारीहरुको समाजले प्रतिरक्षा गरुञ्जेल विचरा भन्सार प्रशासन भन्नुको के विकल्प छ र ? अझै आफ्ना नातागोता र आफन्तका नाममा भारतीय नम्बरका सवारी साधन खरिद गरेर पर्यटन प्रवर्द्धन गर्न राज्यले दिएको सुविधा पासको दुरुपयोग गर्दै बाह्रै महिना नेपालमा राखेर प्रयोग गर्ने हाम्रा देशका उग्र राष्ट्रवादी र नेपालको उद्योग व्यवसाय नै धराशायी बनाउन उद्यत राष्ट्रपे्रमीहरु रहेको हाम्रो समाज र संस्कृतिलाइ के भन्ने ? अनि आफ्नो स्वार्थ पूरा गर्न वा आर्थिक प्रलोभनमा परेर आफ्नै देशमा उत्पादन भएका मालवस्तुहरुलाई पारि जान नदिइ रोक्ने तर पारिका रोक्नुपर्ने मालवस्तुहरुलाई चैं गैरभन्सार प्रक्रियाबाट वा अवैध भन्सार कार्यालयहरु नै खडा गरेर स्वागत गर्ने हाम्रो सरकारी संरचनाले कसका लागि काम गरेको होला ?

यस्तो अवस्थामा यथार्थ नबुझी अरुको उक्साहटमा भन्सारलाईमात्र गाली गर्ने र आफनो दायित्व र जिम्मेवारी पूरा गर्नुको बदला भन्सार प्रशासनलाई नै पन्छाएर आफ्नो स्वार्थसिद्ध गर्न लागिपर्ने संरचना र संस्कारले कस्तो कामगर्ला ? अझ साँच्चै यथार्थ के हो भनेर थाहै नपाइ सामाजिक सञ्जालहरुको प्रयोगबाट तस्करहरुको स्वार्थ र बहकाउमा लागेर सरकारी संरचनाको उछित्तो काट्न नै रमाउने हाम्रो समाज, अरुको खैरो खनेर समाजमा आफ्नो प्रगति भएको ठान्ने हामी र हाम्रो राजनीति तथा संस्कार र अरुभन्दा आफूमात्र सक्षम भएको देखाउन चाहने हाम्रो व्यक्तिगत स्वभाव र सोही संस्कारमा बनेको सरकारी संरचना समग्रमा हाम्रो अवनतिका घोतक हुन् भन्दा फरक नपर्ला ।

राज्यले तोकेको भन्सार विन्दूमा बसेर वैध व्यापारलाई सहजीकरण गरी चोरी तस्करीलाई निरुत्साहित र नियन्त्रण गरेर अवैध व्यापार नियन्त्रण गर्नु भन्सार प्रशासनको मुख्य कार्य हो । उक्त कार्य सम्पादन तथा समग्र राष्ट्रको हितका लागि सीमा क्षेत्रमा खटिने अन्य निकाय र स्थानीय समाजबाट यसमा सहयोग गर्नु अपरिहार्य छ ।

सुनिन्छ, एयरपोर्ट भन्सारमै मात्र देखिने र नदेखिने गरी २४ वटाभन्दा बढी सरकारी संयन्त्र नै रहेका छन् । विदेशमा गएका नेपाली यात्रुले ल्याएको ५० ग्राम सुनका गहना र प्रयोग गरिरहेको आफ्नै परिवारका सदस्यहरुलाई ल्याइदिएको एक सेट मोबाइल फोनसमेत यात्रु गेटबाट बाहिर निस्कन नपाउँदै पक्राउ गर्न सक्ने हाम्रा सरकारी संरचनाहरुले के अर्कै सामानभित्र लुकाएर वर्षौदेखि ल्याएको सुन निकाल्ने कारखाना नै सञ्चालन गरेर कारोबार गर्दा पनि थाहा नपाएका होलान् भनेर विश्वास गर्न सकिन्छ र ? अनि त्यसरी सुन पास भएको विषय सुन भएको मालवस्तु जाँचपासमा संलग्न भन्सार कर्मचारीलाई मात्र देखाएर अरु सबै पानीमाथिको ओभानो बन्न मिल्छ कि मिल्दैन ?

भन्सार विन्दूमा कार्यरत कर्मचारी पनि हाम्रै समाजकै प्रतिविम्ब हुन् । समाज, राजनीति र कर्मचारीतन्त्र कुनै पनि देशका एक-अर्काका पूरक र पर्यायवाची हुन् भन्दा फरक नपर्ला । राम्रा नराम्रा दुवै प्रवृत्ति समाज र राष्ट्रका हरेक अंग वा जहाँ पनि हुन्छन् । अनुशासनविहीन समाज र सोहीअनुसारको समाजको उपज वा राजनीति रहुञ्जेल सोही समाज र राज्यबाट सञ्चालन भएको भन्सार प्रशासनमात्र अनुशासित हुने कुरा परिकल्पना सिवाय अरु हुनै सक्दैन । समाजका हरेक क्षेत्रमा कुनै न कुनै रुपमा समाजकै प्रतिविम्ब देखिने हुँदा भन्सार प्रशासनबाट पनि यदाकदा गल्ती कमजोरी हुन सक्छन् ।

त्यस्ता गल्ती कमजोरीमा दण्डित गर्दै राम्रो काम गर्नेलाइ पुरस्कृत गरेर निरन्तर सुधारको गुन्जायस जहिले र जहाँ पनि रहने कुरा स्पष्ट छ ।राम्रालाई प्रोत्साहन गर्दै नराम्रा र गलत प्रवृत्तिलाई निरुत्साहित गरेर अगाडि बढ्न सकेमात्र समग्र समाज र समाजको प्रवृत्ति सुधार हुँदै जान्छ । तर, राज्यका कर्मचारीतन्त्र र राजनीति एउटै समाजका उपज भएकाले यसमध्ये एउटालाई मात्र दोष दिएर अर्को चोखिन खोज्ने प्रवृत्तिले कर्मचारीतन्त्र मात्र हैन समाज र राजनीति पनि कहिल्यै सुध्रिन सक्दैन । समग्र समाज, राजनीति र कर्मचारीतन्त्र सुधार नभइ भन्सार र त्यहाँ कार्य गर्ने कर्मचारीबाट मात्र सुधार र उत्तम काम हुने अपेक्षा गर्नु सरासर गलत र एउटा परिकल्पनामात्र सावित हुन पुग्छ ।

अन्यमा भन्सार प्रशासनको सफलता र सक्षमता नै कुनै पनि राज्यको उन्नति, प्रगति र सफलताको सूचक पनि हो । कुनै पनि सम्पन्न मुलुकमा कमजोर भन्सार प्रशासनबाट कल्पनै गर्न सकिँदैन । त्यस्तै कमजोर भन्सार प्रशासनबाट आर्थिक रुपले सम्पन्न राष्ट्रको परिकल्पना गर्नु दिवा स्वप्नमात्र हो । तसर्थ, एउटाले अर्कोलाई गाली गरेर आफूमात्र चोखो देखिनुभन्दा राज्यको सुधारका लागि भन्सार र भन्सार प्रशासनमात्र हैन, समग्र समाजकै सुधार जरुरी छ । अब त्यतैतिर लाग्ने कि ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *