‘हट पोटेटो’ बन्दै सन्दीपको मुद्दा, न्यायाधीशको भागाभाग हुँदा १६ पटक फैसला पेसी स्थगित
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज तोकिएको पेसी स्थगित भएको छ । फैसला चरणमा पुगिसकेको मुद्दामा पेसी तोकिएर सुनवाइ स्थगित भएको आज १६औं पटक हो ।
जिल्ला अदालतका न्यायाधीशहरूले विभिन्न बहाना बनाएर मुद्दाको फैसलालाई धकेल्दै आइरहेका छन् । आज भने मुद्दा पेसी नै चढेन । जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहाल धेरैजना न्यायाधीशहरू उपलब्ध नभएकाले सन्दीपको मुद्दा पेसी नचढेको बताउँछन् । दाहालका अनुसार आज ८–९ वटा फाँटका मुद्दा स्थगित भएका छन् ।
जिल्ला अदालत काठमाडौंमा ३० वटा फाँट छन् । एउटा फाँटको मुद्दा एकजना न्यायाधीशले हेर्छन् । बिहान कुन फाँटको मुद्दा कुन न्यायाधीशले हेर्ने भनेर गोला तानिन्छ । अदालतमा उपस्थित भएका सबै न्यायाधीशले गोला थुत्छन् । सरुवा भएका न्यायाधीशहरू गोला तान्छन् तर इजालसमा बस्दैनन् । ती मुद्दाको सुनवाइ स्थगित भएको घोषणा गरिन्छ । आज ३० मध्ये १८ वटा इजलासमा मात्र मुद्दाको सुनवाइ भइरहेको छ ।
सन्दीपको मुद्दा जिल्ला अदालतको २८ नम्बर फाँटमा छ । कुनै पनि न्यायाधीशले उक्त फाँट नम्बरको गोला थुतेनन् । दाहालका अनुसार आज २८ नम्बर फाँट न्यायाधीश सूर्यबहादुर थापाको नाममा राखिएको छ । यो मुद्दाको सुनवाइका लागि नभएर निवेदन र बकपत्रहरूका लागि हो ।
दाहाल भन्छन्, ‘सरुवा भएका न्यायाधीशको नाममा फाँट छुट्याउने गरिन्छ । सम्बन्धित फाँटमा आएका निवेदन तथा बकपत्रहरू रोक्न नमिल्ने भएकाले मात्रै त्यसमा न्यायाधीशहरूको नाम राखिएको हो । उहाँहरूले मुद्दाको सुनवाइ भने गर्नुहुन्न,’ उनले भने ।
जिल्ला अदालत काठमाडौं ३९ जना न्यायाधीशको दरबन्दी छ । तर, अहिलेसम्म अधिकतम ३५ जना न्यायाधीशमात्रै अदालतले पाएको छ । पछिल्लो समय ९ जना रिक्त रहेको दाहालले जानकारी दिए । ३० जना न्यायाधीशमध्ये पनि ७ जनाको सरुवा भएको छ । दुईजनाले अवकाश पाएका छन् भने एकजनाको बढुवा भएको छ । त्यसैले २० जना न्यायाधीशमात्रै मुद्दाका लागि उपलब्ध हुन्छन् । आज महिला न्यायाधीश सकुन्तला कार्की पनि तीजका कारण बिदामा बसेकी थिइन् ।
जिल्ला अदालतका वरिष्ठतम न्यायाधीश राजुकुमार खतिवडा बढुवा भएका छन् । उनले मुद्दा हेर्दैनन् । अर्का न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठ र शंकरराज बरालल अवकाश पाएका छन् । यस्तै, भर्खरै सातजना न्यायाधीशको सरुवा भएको छ । सरुवा भएका न्यायाधीशमा दीपककुमार खरेल, वासुदेव पौडेल, दयाराम ढकाल, सूर्यबहादुर थापा, नारायणप्रसाद पराजुली, फणिन्द्रप्रसाद पराजुली, चन्द्रप्रकाश तिवारी हुन् । उनीहरू पनि इजलासमा बस्दैनन् । १० नम्बर इजलास पहिल्यैदेखि खाली थियो ।
सन्दीपको मुद्दा हेर्न जिल्ला अदालतका न्यायाधीशहरू अनिच्छुक देखिँदै आएका छन् । मुद्दाको फैसला आफूले गर्न नपरोस् भन्ने सबै न्यायाधीशहरूको चेष्टा छ । जे फैसला गर्दा पनि विवादित हुन सक्ने चिन्तामा न्यायाधीशहरू छन् ।
सन्दीपको मुद्दामा पेसी तोकिएको आज २८औं पटक थियो । मुद्दाको फैसला पेसी १६औं पटक स्थगित भएको छ । मुद्दा फैसला चरणमा प्रवेश गरेको सात महिना भइसकेको छ । पहिलो फैसला पेसी गत माघ ९ गते नारायणप्रसाद दाहालको इजलासमा परेको थियो । उक्त पेसी जिल्ला सरकारी वकिलको कार्यालयबाट स्थगत गराइयो । त्यसपछि माघकै २३ गते चन्द्रप्रकाश तिवारीको इजलासमा तोकिएको पेसी पनि जिल्ला सरकारी वकिल कार्यालयले नै स्थगित गरायो ।
त्यसयता, यो मुद्दा न्यायाधीशहरू क्रमशः फणिन्द्रप्रसाद पराजुली, दीपक ढकाल, माधवप्रसाद घिमिरे, केशव प्रसाद घिमिरे, शंकरराज बराल, नारायणप्रसाद दाहाल, दीपक ढकाल, फणिन्द्रप्साद पराजुली, शंकरबहादुर राई, राजुकुमार खतिवडा, प्रकाशप्रसाद पण्डित, शकुन्तला कार्कीको इजलासमा परेको छ । उनीहरू सबैले कुनै न कुनै बहाना बनाएर मुद्दाको सुनवाइ टार्दै आएका छन् ।