नेपालीले सबै खालका अतिवादी सोचबाट बच्नुपर्छ : अध्यक्ष तिमिल्सिना (भिडिओ) – Nepal Press

नेपालीले सबै खालका अतिवादी सोचबाट बच्नुपर्छ : अध्यक्ष तिमिल्सिना (भिडिओ)

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सँधै सबै खालका अतिवादको विरुद्धमा रहेको धारणा व्यक्त गरेका छन् ।

मुस्लिम आयोगले सोमबार काठमाडौंमा आयोजना गरेको ‘इस्लाममा सहिष्णुता तथा सहअस्तित्व र सामाजिक शान्ति प्रवर्द्धनमा यसको भूमिका’ विषयक गोष्ठीमा बोल्दै उनले सबै नेपाली अतिवादको विरुद्ध र शान्तिको पक्षमा रहेका बताए ।

‘मानिस चेतना र विवेकका हिसाबले सर्वश्रेष्ठ प्राणी भएपनि अहिले पनि धार्मिक, जातीय तथा भौगोलिक हिसाबले अतिवादी सोच राख्नेहरुले हिंसा मच्चाउन छाडेका छैनन्’, उनले भने, ‘मानव भएर पनि यस्ता अतिवादी सोच राख्नेहरु समाज र विश्वकै लागि कंलक शिवाय केही होइनन् ।’

अध्यक्ष तिमिल्सिनाले हामी सबै विभिन्न खाले अतिवादी सोचबाट बच्न आवश्यक छ भने । ‘मानव मानवका बीचमा विभेद गर भनेर कुनै पनि धर्मले भन्दैन’, उनले भने, ‘सबै धर्मको अर्थ विभेद होइन ।’

नेपालको नयाँ संविधानले सबै धर्म मान्नेहरुलाई समान दृष्टिकोण राखेको कुरामा जोड दिँदै अध्यक्ष तिमिल्सिनाले संविधानले विभेद नगरेपनि यसको कार्यान्वयन भने चुनौतीपूण रहेको बताए ।

नयाँ शिक्षा ऐनले पछाडि पारिएका भाषाभाषीहरुले शिक्षा आर्जन गर्ने विषयलाई सहज बनाउने विश्वास पनि अध्यक्ष तिमिल्सिनाले राखे ।

अर्को प्रसंगमा उनले मुलुकमा रहेका संवैधानिक आयोगहरुको प्रभावकारिता र आवश्यकताका विषयमा दश दश वर्षमा पुनरावलोकन गर्न आवश्यक रहेको बताए ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा साउदी अरेबियाको इस्लामिक मामिला मन्त्रालयका सचिव डा. अवाद साब्ती अल्नाजीले सबै जनताका बीचमा सहअस्त्वि बढाउने तथा सबै खाले अतिवाद र आतंकवादका विरुद्ध आवाज उठाउनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर