चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका पदाधिकारीहरुले तोडे अनसन (भिडिओ)
काठमाडौं । ३८ दिनदेखि माइतीघर मण्डलामा रिले अनसन बसिरहेका चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका पदाधिकारीहरुले सोमबारदेखि अनसन तोडेका छन् ।
स्वास्थ्यमन्त्री मोहन बस्नेतले संघर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको र चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन हुने तयारीमा रहेको आश्वासन दिएपछि १४ सूत्रीय माग राखेर अनसन बसेका उनीहरु हाललाई आफ्नो सडक संघर्ष स्थगित गर्न राजी भएका हुन् ।
अनसन तोडाउन स्वास्थ्यमन्त्री बस्नेतले आफ्नो सचिवालयका स्वकीय सचिव रामेश्वर आयार्च र रामचन्द्र दुलाललाई माइतीघर पठाएका थिए । मन्त्री बस्नेतका प्रतिनिधि आचार्यले अनसनमा बसिरहेका संघर्ष समितिका सदस्यहरुलाई जुस पिलाएर अनसन स्थगित गराएका थिए ।
अनसन स्थगित गरेपछि समितिका वरिष्ठ पाँच जना पदाधिकारी वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका थिए । मन्त्री बस्नेतसित भएको वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा.विकास देवकोटा, डा.टंक वाराकोटीलगायत थिए । संघर्ष समितिबाट संयोजक निर्मल सापकोटा, सहसंयोजक भुवनचक्र जोशीलगायतका पदाधिकारी थिए ।
वार्तामा संघर्ष समितिका संयोजक सापकोटाले आफूहरुले उठाएका १४ वटा मागका विषयमा मन्त्री बस्नेतलाई जानकारी गराउँदै नेपालको चिकित्सा शिक्षा सुधार गर्न सरकारले आफ्ना मागहरु सम्बोधन हुनुपर्नेमा जोड दिएका थिए ।
स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर अगाडि बढ्न सरकार तयार रहेको जानकारी गराउँदै यस विषयमा शिक्षामन्त्री र प्रधानमन्त्रीसमेत सकारात्मक भएकाले संघर्ष समितिले उठाएका मागहरु चाँडै सम्बोधन हुने बताए ।
उनले चिकित्सा ऐन संशोधन गर्न नसकिए अबको पाँच वर्षमा नेपालमा चिकित्सक र नर्सहरुको अभाव हुने दाबी गर्दै प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किसकेपछि यसका विषयमा ठोस पहल हुने स्पष्ट पारे ।
चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, सीटीईभीटीको तुरन्त पुनर्संरचना गर्नु पर्ने, प्रि–डिप्लोमाका स्वास्थ्य कार्यक्रम स्तरोन्नति गर्दै बाँकीमा तत्काल भर्ना खोल्नु पर्नेलगायतका १४ वटा माग राखेर संघर्ष समितिले साउन २७ देखि माइतीघर मण्डलामा रिले अनसन सुरु गरेको थियो ।