‘दमिनी भीर’माथि गैंती हानिरहेकी लच्छी
काठमाडौं । राजन मुकारुङद्वारा लिखित मदन पुरस्कार प्राप्त उपन्यास ‘दमिनी भीर’ (२०६९) ११ वर्षपछि स्टेजमा उक्लिएको छ, नाटकको रुपमा । नाटकका पात्रहरुले विभेदको डरलाग्दो विम्ब बनेको ‘दमिनी भीर’माथि गैंती, बेल्चा चलाइरहेका छन् । नाटकले भन्छ- आज पनि लच्छी वा धौले कान्छाहरुको नियति उस्तै छ । उनीहरु कतै न कतै जब्बर बनेको जातीय विभेदका अग्ला अग्ला भीरहरुमाथि गैंती हानिरहेकै छन् ।
दोस्रो जनआन्दोलनको संघारलाई पृष्ठभूमि बनाएर लेखिएको उपन्यासले उठाएको मुद्दा आज झण्डै दुई दशकपछि पनि उत्तिकै सान्दर्भिक देखिन्छ । अहिले पनि यसरी सान्दर्भिक देखिनुमा हामीले तमाम परिवर्तनलाई कसरी आत्मसात गर्यौं त ? मण्डला थिएटर, थापागाउँमा चलिरहेको नाटकले सोधिरहेको यक्ष प्रश्न हो यो ।
नाटकको सुरुमै सुके दमाईको सहनाई दुई टुक्रामा भाँचिन्छ । ऋण तिर्न नसकेर घर छाडेका सुकेकी भर्खर विवाह गरेकी श्रीमतीमाथि मुखियाको गिद्धे नजर पर्छ । सुकेकी श्रीमतीलाई मुखियाले बलात्कार गर्छ । अन्याय सहन नसकेर सुकेकी श्रीमती गाउँकै अग्लो भीरबाट हाम फाल्छिन् । सुकेको सहनाई श्रीमतीको आत्महत्यासँगै भाँचिन्छ ।
त्यस दिनदेखि उक्त भीरको नाम रहन्छ, ‘दमिनी भीर’ !
सुकेकी श्रीमतीले हाम फालेको उक्त भीरलाई भत्काउन सम्पूर्ण गाउँलेहरु गैंती, बेल्चा, झम्पल लिएर उत्रन्छन् । त्यो गाउँलेहरुको भीडमा हुन्छे, लच्छी । जो हिजो भीरबाट हाम फाल्ने दमिनी जस्तै निरीह छैनन् । बरु उनको जीवनमा जे जति आँधीहुरी आए, ती सबैलाई झेलेर न्यायको बाटोमा अग्रसर छिन् ।
लच्छी तल्लो जातकी हुन् । उनलाई ललाइफकाइ गाउँकै सामन्तको छोरा चेतनले बलात्कार गर्छ । छोरी बलात्कार भएको थाहा पाएपछि आक्रोशित बनेकी लच्छीका आमा हसियाँ लिएर चेतनलाई काट्न जान्छे । तर, साँझमा मातेर फिर्छे । उनको केही जोर चल्दैन । बस् रुन्छिन् ।
लच्छीकी आमाको आँसुले भन्छ, जातीय विभेदको संरचनामा निर्मित समाजमा उनीहरुको हैसियत के हो ? उनीहरुले पाउने न्याय कति धेरै टाढा र असम्भव छ, लच्छीकी आमाको आँसुसितको बोली काफी छ ।
लच्छीकी आमाको निराश बोलीपछि चेतनकी आमाले लच्छीका लागि कुनै अर्को पुरुष ल्याउँछिन् । त्यो पनि आफ्नो छोरालई उन्मुक्ति दिन । तर, लच्छीले मान्दिनन् । आफ्नो पेटको बच्चालाई एक्लै हुर्काउने उद्घोष गर्छिन् ।
नाटकले लच्छीको यही बोल्ड निर्णयबाट गति लिन्छ । उक्त निर्णयका कारण समाजमा उनले सहन परेको लाञ्छना, गालीगलौज, अवहेलना, अपमानको फेहरिस्त लामै हुन्छ । समाजले गर्ने छिःछि र दूरदूरको श्रृंखला अझ लामो हुन्छ । प्रश्नैप्रश्नको बीचमा समाजले गर्ने तिरस्कारको कथा झनै लम्बेतान हुन्छ । तर, लच्छी आफ्नो न्यायको बाटोमा कतै टसमस हुँदिनन् ।
लच्छीको जीवनका आरोहअवरोह र संघर्षपूर्ण यात्रामा जोडिन आउने पात्रहरुले नाटकलाई अगाडि बढाउँछ । लच्छीको शरीरमाथि आँखा गाड्नेहरुदेखि उनलाई निःस्वार्थ प्रेम गर्ने धौले कान्छाहरु पनि लच्छीकै कथामा तानिन्छन् । लच्छीकै कथामा थुंगा थुंगा बनेर पात्रहरु उनिँदै जान्छन् र शहर छिरेर ‘कथित ठूलो मान्छे’ बनेको चेतनसम्म पुगेर नाटक टुंगिन्छ ।
हिजोसम्म ‘चेतनले स्वीकार्नुपर्छ’ मात्रै भनिरहेकी लच्छी अन्तिममा चेतनले अपराध स्वीकार गरेपछि जीवनका बाँकी यात्रा धौले कान्छासित तय गर्ने निचोडमा पुग्छिन् । त्यति धेरै लामो समयसम्म चेतनबाट न्यायको खोजी गरिरहेकी लच्छीले चेतनलाई यत्तिकै किन छाड्छिन् ? दर्शकलाई नाटकले चित्तबुझ्दो जवाफ दिन सकेको छैन ।
तर, गाउँलेले अन्तिम निर्णय गर्ने अधिकार लच्छीलाई दिन्छन् । लच्छीले चेतनलाई इन्कार गर्छिन् । हिजोसम्म ‘स्वीकार्नुपर्छ’ भनिरहेकी लच्छीले एकाएक किन त्यस्तो निर्णय गर्छिन् ? नाटकले ठोस जवाफ त दिँदैन । तर, लच्छी स्वयंले निर्णय गर्ने जुन अधिकार पाएकी छन्, त्यसले जनजाति समुदायमा महिलाले कतै न कतै पाउने सानो स्पेसलाई देखाइएको छ । लच्छीले जे निर्णय लिन्छिन्, गाउँलेहरु उनको निर्णयमा सहमत हुनुको विकल्प नै हुँदैन ।
जात व्यवस्थाले कथित तल्लो जातका मानिसहरुको न्यायको खोजीलाई कसरी गुमराहमा राख्छ ? लच्छीको दुःख, संघर्ष र न्यायको खोजीमा केन्द्रित नाटकले जवाफ दिने कोसिस गरेको छ । जातीय विभेदको चपेटामा थिलथिलो बनेकाहरुको न्यायको बाटो कति सकसपूर्ण हुन्छ, लच्छीमार्फत् ‘दमिनी भीर’ले देखाउन खोजेको छ । पहुँचविहीन हुनु र त्यसमा पनि कथित तल्लो जातको हुनुपर्दा कस्ता अक्करे ‘दमिनी भीर’हरु खडा हुन्छन्, नाटकले देखाउन खोजेको छ ।
उपन्यासमा लेखक राजन मुकारुङले साकेलाको बिटमा भाषा चलाएका छन् । वाक्य संयोजन नै सिलीको बनोटमा छ । उपन्यासले भाषागत शिल्पहरु प्रयोग गरेर मुख्य रुपमा जुन मुद्दा उठाएको छ, नाटकमा त्यसलाई सम्बोधन हुने गरी पात्रहरुको उठान गरिएको छ । उपन्यासका सबै पात्र नाटकमा छैनन् । तर, उपन्यासका सबै मुद्दा नाटकमा समेटिएका छन् । यसमा निर्देशक इंगिहिपो कोइँच सुनुवारको निर्देशकीय कला देखिन्छ ।
नाटकले मुख्यतया पूर्वी नेपालको राई समुदायमा पुर्याउँछ । भाषाको लवज, पात्रहरुको बाँच्ने तरिकाले दर्शकलाई राई गाउँमै पुगेको आभास दिलाउँछ । नाटकका हरेक पात्रहरुसँग अगणित दुःख छन् । तर, उनीहरु दुःखैमात्र बोकेर हिँड्दैनन् । उनीहरु दुःखैमात्र देखाएर हिँड्दैनन् । न उनीहरु दुःखलाई लुकाएर हिँड्छन् न त दुःखलाई लतारेर नै हिँड्छन् । यही नै राई समुदायको विशेषता हो ।
मुख्यतयाः पाश्र्वमा बजिरहने सहनाई न लच्छीको मात्रै हो न त भीरबाट हाम फाल्ने सुकेकी श्रीमतीको मात्रै हो । सम्पूर्ण दलितहरुको व्यथा बनेर बजिरहन्छ सहनाई । सहनाईको क्रन्दनभित्र लच्छीहरुको आँसु लतपतिए जस्तो लाग्छ दर्शकलाई । रङहरुको संयोजनले पात्रहरुको मनस्थिति, अवस्थालाई सुन्दर तरिकाले चित्रित गरिएको छ ।
नाटकमा चेतनकी आमा, खच्चड ड्राइभर जस्ता फिलरको रुपमा आएका पात्रहरु पनि छन् । उनीहरु सबै लच्छीसित ठोक्किन्छन् र त्यही सकिन्छन् । चेतनकी आमा पनि लच्छीलाई डमी बेहुला खोजिदिएपछि पुनः देखा पर्दिनन् । सबै गाउँलेहरु देखापर्दै गर्दा गाउँकै मुख्यानी चेतनकी आमा पनि कतै कतै देखिएको भए लच्छी र मुख्यानीबीचको द्वन्द्वले नाटकलाई झनै सघन बनाएर लैजान सक्थ्यो । लच्छीको न्यायको बाटोमा तगारो जस्तो बनेकी मुख्यानी पुनः देखापरेकी भए लच्छीको संघर्षपूर्ण यात्रालाई दर्शकले अझै थप आत्मसात गर्न सक्थे ।
नाटकमा लच्छीको भूमिकामा पुनम थापाको अभिनय अब्बल छ । लच्छीलाई हरतरहले साथ दिने धौले कान्छाको रुपमा किरण चाम्लिङ राईले बेजोड अभिनय गरेका छन् । रियर राईले खच्चड ड्राइभर र चेतनको दुईवटा भूमिका निर्वाह गरेका छन् । दुवै भूमिकामा प्रश्न गर्ने ठाउँ दिएका छैनन् । अन्य कलाकारहरुको अभिनयले नाटकलाई झनै सुन्दर बनाइदिएको छ । निर्देशक सुनुवारले निर्देशकको रुपमा उपन्यासलाई जति मेहनत गरेर दृश्यमा उतारेका छन्, त्यो प्रशंसनीय छ ।
तस्विरहरु : मण्डला थियटर