लागूऔषध र प्रतिबन्धित औषधिसहित खाजा पसले पक्राउ
चितवन । भरतपुरमा खाजा पसल सञ्चालकले लागूऔषध तथा ठूलो परिमाणमा प्रतिबन्धित औषधि बिक्री गर्दै आएको पाइएको छ ।
भरतपुर १२ का सूर्यबहादुर कार्कीको खाजा पसलमा प्रहरीले छापा मार्दा लुकाएर राखेको अवस्थामा लागु औषध गाँजासहित प्रतिबन्धित औषधि बिक्री गर्दै आएको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार लुकाएर राखेको अवस्थामा लागुऔषध गाँजा ९४० ग्रामसहित बिक्री गर्न रोक लगाइएको औषधि पाइएको हो ।
प्रतिबन्धित औषधि ट्रामाडोल ५ हजार ७ सय ६६ ट्याब्लेट, प्रोमेथ २ हजार ९ सय ३८ ट्याब्लेट, एनार्गन २ हजार ७ सय ३५ ट्याब्लेट र नगद एक लाख ६ सय रुपियाँ बरामद गरिएको डिएसपी पण्डितले जानकारी दिए । उनका अनुसार सुर्य बहादुर कार्कीलाई लागुऔषध, प्रतिबन्धित औषधि र नगद सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
जनरल फिजिसियन डाक्टर भोजराज अधिकारीका अनुसार ट्रामाडोल, प्रोमेथ, एनार्गन लगायतका औषधि अधिक दुखाइका बेला र शल्यक्रिया पछिका बिरामीलाई दुखाइ कम गर्न प्रयोग गरिन्छ । यी औषधि चिकित्सकको अनुमति बिना प्रयोग गर्न र बिक्री गर्न पाइँदैन ।