विद्यालय बन्द गरेर सहयोग गरिदिन प्रधानाध्यापकलाई शिक्षक महासंघको अपील – Nepal Press

विद्यालय बन्द गरेर सहयोग गरिदिन प्रधानाध्यापकलाई शिक्षक महासंघको अपील

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले संसदमा दर्ता गराएको विद्यालय शिक्षा विधेयक २०८० संशोधनको माग गर्दै असोज ३ गतेदेखि काठमाडौं महानगरका विद्यालय बन्दका लागि सहजीकरण गरिदिन प्रधानाध्यापकहरुलाई आग्रह गरेको छ ।

महासंघले विज्ञप्ति जारी गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै यस्तो आग्रह गरेको हो ।

विद्यालय शिक्षा विधेयकले शिक्षकहरुको पेशागत हकहित नगर्ने, विद्यालय शिक्षालाई ध्वस्त पार्ने र अन्यौल सिर्जना गर्ने तथा सरोकारवालाहरुबीच द्वन्द्व सिर्जना गरी अराजकता निम्त्याउने भन्दै संशोधनको माग महासंघले राखेको छ ।

जसका लागि संविधान दिवस असोज ३ गतेदेखि काठमाडौं महानगरका विद्यालय बन्द गरी कार्यक्रम गरिने महासंघले उल्लेख गरेको छ ।

‘प्रस्तावित विधेयकमा अस्वभाविक प्रावधानहरु राखी शिक्षकहरुको आत्मसम्मानमा ठेस पुर्याउने काम गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, महासंघले शिक्षा मन्त्रालयबाट गरिने सम्पूर्ण औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु वहिष्कार गर्ने पनि घोषणा गरेको छ ।

उता सरकारले आजै महासंघलाई आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *