ऋषि पञ्चमी : महिनावारी पाप होइन, उत्सव मनाउँ – Nepal Press

ऋषि पञ्चमी : महिनावारी पाप होइन, उत्सव मनाउँ

हामी मध्य तीजमा छौं । ४ दिन मनाइने भए पनि महिनादिनदेखि नै तीजका भेटघाटहरुमा रमाइरहेका छौं । रातो वस्त्र, गहना लगाएर नजिकका इष्टमित्रसँग भेटघाट गरिरहेका छौं । नाचगान गरी तीजको उत्सव मनाइरहेका छौं ।

आफ्नो आन्तरिक क्षमतालाई गीतका शब्दहरुबाट व्यक्त गर्ने र महिलालाई सिर्जनात्मक बनाउने भएकाले तीज पर्वको महत्व हामीले स्वीकार पनि गरिरहेका छौं । यद्यपि, महिला सशक्तीकरण भनिरहँदा, सिर्जनात्मकता वृद्धि भनिरहँदा महिला द्वेषी दिन पनि छ । महिलासँग सृष्टिको सुन्दर अनि विवेकी प्राणी मानिस सिर्जना गर्ने प्रकृतिपदत्त क्षमता छ । एकातिर सृष्टिको सुन्दर सिर्जना गर्ने प्राकृतिक क्षमता अर्कोतिर महिला द्वेषी दृष्टिले निर्माण गरेका ऋषि पञ्चमी जस्ता दिन । जसले महिलालाई कमजोर र अछूत करार गरिदिएको छ ।

एउटै पर्वभित्र महिलालाई सशक्त परिभाषित पनि गर्ने र अर्कोतिर कमजोर करार गर्ने कस्तो सांस्कृतिक संयोजन ?

समाज परिवर्तनशील छ । मानव विकासको क्रम जतिबेला वैयक्तिक सम्पत्तिको विकास थिएन, त्यो समय को माथिल्लो वा तल्लो कुनै परिभाषित श्रेणी थिएन । समाज विकासको क्रमसँगै सबैभन्दा पहिले परिवार संस्थाको उदय भयो । अनि सुरु भयो, व्यक्तिगत सम्पत्ति आर्जन गर्ने परम्परा । भूमि जहाँबाट उत्पादन बढाएर लामो समय जिउने आधार बनाउन सकिन्छ, त्यही बढाउने ध्येय मानवमा बढ्दै जाँदा सम्पत्तिको स्वरुप परिवर्तन हुँदै गयो ।

त्यसपछि महिलालाई पनि आफूमात्रको वा परिवारभित्रको सम्पत्तिमा पुरुष सत्ताले नियन्त्रण गर्ने उपक्रम थालनी भएको समाजलाई लैंगिक दृष्टिबाट परिभाषित गर्ने विद्वानहरुका अनुसन्धानले पुष्टि गरिसकेको छ । पुरुष सत्ताले सिंगो महिलालाई मात्रै नियन्त्रण गरेन, विस्तारै उसका अंगअंगलाई सम्पत्तिको रुपमा लिएर त्यसलाई समेत नियन्त्रण गर्न थालेको देखिन्छ । जसको परिणाम चरित्र जोगाउने उपमाहरुमा सार्वजनिक भए ।

यसैको उदाहरण हो, हामीले रौनकतापूर्वक मनाइरहेको तीजको अन्तिम दिन ऋषि पञ्चमी पूजा । सात ऋषि, जसको आराधनाले महिनावारी पाप मोक्ष हुन्छ भनी पण्डितहरुले परिभाषित गरे ।

हामी यसै पनि सन्तानोत्पादन गर्ने जिम्मेवारीमा रह्यौं । सन्तान, परिवारको उन्नयनको लागि आफूलाई समर्पित गरिरहँदा यति धेरै कालखण्ड बितेछ कि आफ्नै शरीर नियन्त्रित भइसकेको पत्तै पाएनौं । त्यसैले त हामीलाई आज महिनावारी पाप मोक्ष पूजा गर्दा स्वयं अपमानित भएको बोध हुँदैन । हामी परिवारसत्ताको संरचनामा यति तल पुग्यौं कि कहिल्यै आफ्नो शरीरलाई स्वतन्त्र राख्नुपर्छ भनेर भेउ नै पाएनौं ।

धर्ममा व्याख्या गर्न सर्वस्वीकार्य एकाधिकारमा रहेकाहरुले हामीलाई घुमाउरो पाराले तल्लो वा अछूत र आफूहरु ऋषि कोटीको भएको व्याख्या गरिरहे । त्यसपछि आफैं जन्मिने महिलाका पाठेघरबाट गर्भ नरहेपछि हरेक महिना बग्ने रगतलाई अशुद्ध ठहर्‍याइदिए ।

सन्तान, परिवारको उन्नयनको लागि आफूलाई समर्पित गरिरहँदा यति धेरै कालखण्ड बितेछ कि आफ्नै शरीर नियन्त्रित भइसकेको पत्तै पाएनौं । त्यसैले त हामीलाई आज महिनावारी पाप मोक्ष पूजा गर्दा स्वयं अपमानित भएको बोध हुँदैन ।

अझ अशुद्ध र शुद्धको परिभाषालाई मजबुत बनाउन यस्ता कथाहरु बुन्दै गए, हामी पत्याइरह्यौं-

एकपटक विदर्भ देशमा उत्तङ्क नामका ब्राह्मण आफ्नी पतिव्रता पत्नीका साथमा निवास गर्थे । उनको परिवारमा एउटा पुत्र र एउटी पुत्री थिए । ब्राह्मणले आफ्नी छोरीको विवाह एकजना असल ब्राह्मणसँग गरिदिएका थिए । तर, उनकी पुत्री विधवा हुन पुगिन् । उनी आफ्नो वैधव्य माइती बसेर गुजार्दै थिइन् । उत्तङ्क ब्राह्मण आफ्नो आउँदो वृद्धावस्था र दुःखी कन्यालाई समेत लक्षित गरी पुत्रलाई घरव्यवहार जिम्मा लगाएर आफ्नी स्त्री र पुत्रीका साथमा गङ्गाका तटमा आश्रम बनाएर बस्न थाले ।

कन्याले पनि आफ्ना वृद्ध मातापिताको सेवाका साथै आफूलाई ईश्वर आराधनामा लगाउन थालिन् । एक दिन दिनभरि काम गरेर थाकेकी ती ब्राह्मण पुत्री आश्रम नजिकै एउटा ढुङ्गोमा अडेस लागेर आराम गर्ने उद्देश्यले पल्टिइन् । आधा रातमा ती कन्या निदाएकै बेला उसको शरीरमा कीरा उत्पन्न भए । बिहान व्युँझिँदा आफ्नी छोरीको शरीरमा कीरा परेको देखेर ब्राह्मणी असाध्यै विलाप गरी रुन थालिन् । रूँदारुँदै बेहोस भइन् । होश फर्किएपछि कन्यालाई बोकेर आफ्ना पति ब्राह्मण उत्तङ्क ऋषि भए ठाउँमा लिएर गइन् । अनि पुत्रीको अवस्था किन त्यस्तो हुन गयो भनी अनुरोध गरिन् ।

ब्राह्मणीका कुरा सुनेर उत्तङ्कले आफ्ना आँखा थुनी ध्यानदृष्टिले विचार गरी भने- हाम्री छोरी पूर्वजन्ममा कुनै एउटी ब्राह्मणी थिइन् । यिनले एक पटक रजस्वला हुँदा घरका समस्त भाँडाकुँडा चलाउनुका साथै स्पृश्यास्पृश्यको ख्यालै राखिनन् । यति दोषका कारण यस जन्ममा यिनको शरीरमा कीरा परेका हुन् । शास्त्रअनुसार रजस्वला भएर बिटुलिएका स्त्रीहरू पहिलो दिन चण्डाल्नी, दोस्रो दिन ब्रह्मघाती, तेस्रो दिन पवित्र धोबिनी समान हुने गर्छन् र चौथो दिन स्नान गरी शुद्ध हुने गर्छन् ।

घर व्यवहारमा शुद्ध मानिए पनि पाँचौं दिनमा मात्र देवकार्यका निम्ति र सातौं दिनमा पितृकार्य गर्न योग्य हुने गर्छन् । पछि जब ऋषि पञ्चमीको व्रतको अवसर प्राप्त भयो र आफ्ना संगीसाथीले व्रत लिन सुझाव दिँदासमेत वास्ता गरिनन् । व्रत र पूजाआजाको दर्शन मात्रले गर्दा यिनले ब्राह्मण कुल प्राप्त गरिन् । तर, यिनले व्रत लिन तिरस्कार गरेकी हुनाले यिनको शरीरमा कीरा परे ।

हामी स्वयंमा यति कमजोर भयौं कि यस्ता कथाहरु पत्याउने मात्रै होइन, पाप गर्‍यौं भन्दै पहिलो महिनावारीमा घैंटोको पूजा त वर्षैपिच्छे महिनावारी पाप कटाउन पूजा गरिरह्यौं । आज समाज बदलिएको छ । हामी आफू र आफ्ना सीमाहरुलाई बुझ्ने भइसकेका छौं । स्वाभाविक प्रजनन विकासको बारेमा बुझ्न हामीलाई दैवी शक्ति आवश्यक छैन । आज न पुरोहित पण्डितले हाम्रो महिनावारी प्रक्रियाका रुपमा बुझाइदिने प्रतीक्षा नै गर्नुपरेको छ ।

अन्तिम दिन जसलाई वर्षौंदेखि पापमोक्ष पर्व भनिरहेका छौं, त्यही दिन तीज मनाउने मानिसहरुबीच आफ्ना पहिलो महिनावारी अनुभव बाँड्ने । महिनावारी सुक्ने समय जसलाई रजनोवृत्ति भन्छौं, यस अवस्थामा आउने हार्मोनहरुका परिवर्तनबारे छलफल गर्न सक्छौं ।

यसै पनि तीज हामी महिलालाई भावना व्यक्त गर्न सशक्त बनाउने पर्व हो । महिनावारीलाई मर्यादित बनाइ महिलाका जीवन विभेदरहित हुनुपर्छ भन्ने अभियान चलाउने राधा पौडेल पनि तीज महिलाको सशक्त पर्व हो भन्नेमा विश्वस गर्छिन् । उनी अझ आफ्ना विकसित हुँदै गरेका अंगहरुलाई महसुस गर्ने र महिलाहरुबीच आआफ्ना शारीरिक मानसिक अवस्थाका बारेमा अभिव्यक्त गर्ने पर्व तीजलाई ठान्छिन् ।

यस्तो महत्वपूर्ण पर्वलाई हामीले महिनावारी उत्सवको रुपमा मनाउन सक्छौं । अन्तिम दिन जसलाई वर्षौंदेखि पापमोक्ष पर्व भनिरहेका छौं, त्यही दिन तीज मनाउने मानिसहरुबीच आफ्ना पहिलो महिनावारी अनुभव बाँड्ने । महिनावारी सुक्ने समय जसलाई रजनोवृत्ति भन्छौं, यस अवस्थामा आउने हार्मोनहरुका परिवर्तनबारे छलफल गर्न सक्छौं ।

पहिलोपटक महिनावारी हुँदै गरेका वा महिनावारीको उमेर छेउछाउ पुगेका छोरीहरुलाई पहिलो महिनावारीका व्यवहारिक कुराहरु सिकाउन सक्छौं ।

अहिले महिनावारीका बेला खानपान वास्ता नगर्दा रक्तअल्पता जस्ता समस्याबाट धेरै संख्यामा किशोरीहरु प्रभावित भएका तथ्यांकहरु राज्यले नै सार्वजनिक गरिरहेको छ । त्यो समय कस्ता खानेकुरा खाने वा कसरी आफ्नो प्रजनन स्वास्थ्यमा ध्यान दिने सिकाउन सक्छौं । महिनावारी प्याडका फरक फरक प्रकारहरु र प्रयोगका तरिका सिकाउन सक्छौं ।

हामीले मनाउने तीज उत्सवभित्रकै मिनी उत्सवको रुपमा ऋषि पञ्चमीलाई ‘महिनावारी विशेष दिन’ को रुपमा सरकारी क्यालेण्डरमा नै घोषणा पनि गर्न सक्छौं । राज्यले महिनावारी पाप होइन भनेर ऋषि पञ्चमी बिदा कटौती गरिसकेको छ । तर, पाप मोक्ष पूजाहरु रोकिएका छैनन् ।

बरु, महिला मन्त्रालय, राष्ट्रिय महिला आयोग, मर्यादित महिनावारी अभियन्ताहरुले ऋषि पञ्चमीको दिनलाई मर्यादित महिनावारी उत्सवको रुपमा मनाउन पहल गरौं । परिवर्तनको लागि ठूला अभियान चाहिँदैन । साना तर समाज परिवर्तनको महत्वपूर्ण कडी ऋषि पञ्चमीलाई बेग्लै तरिकाबाट मनाउने विकल्पको खोजी सुरु गरौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *