क्यान चुनाव: पारस-रोशनको तानातानमा चतुर, कसैसँग प्यानल नबनाउने अडान
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्व चयनका लागि आउँदो ५ र ६ गते केन्द्रीय अधिवेशन हुँदैछ । हालका अध्यक्ष चतुर बहादुर चन्द फेरि दोहोरिने सम्भावना बलियो बनिरहँदा पदाधिकारीको दौड भने पेचिलो हुने देखिँदैछ ।
कोभिडका कारण वर्तमान कार्यकालमा राम्ररी काम गर्न नपाएको तर्कसहित चन्दले फेरि अध्यक्षमा लड्ने तयारी गरेका हुन् ।
उनीबाहेक कसैले पनि अध्यक्षमा दाबेदारी प्रस्तुत गरेको छैन । यद्यपि, मतदान अगाडि जो-कसैले उम्मेदवारी दिन सक्छ ।
यसअघि हालका कोषाध्यक्ष रोशन सिंहले चन्दलाई चुनौती दिँदै अध्यक्ष भिड्ने सुर कसेका थिए । तर, प्रदेश अधिवेशनको नतिजा आफ्नो पक्षमा नदेखेपछि उनी हच्किएका छन् । आफूलाई पदाधिकारीमा समेटेको खण्डमा चन्दलाई नै अध्यक्षमा समर्थन गर्ने उनको रणनीति छ ।
नेपाल प्रेससँगको कुराकानीमा रोशनले चन्दसँग मिलेर जाने बताए । पदीय बाँडफाँडबारे भने टुंगो नलागिसकेको उनको भनाइ छ ।
‘सरसल्लाह भइरहेको छ । हामी मिलेर जाने कुरा भएको छ । आजभोलिमा हामी सबै कुरा टुंग्याउँछौं,’ उनले भने ।
अध्यक्षमा फेरि उम्मेदवारी दिने चन्दको घोषणालाई आफूले सम्मान गर्ने तर, उनलाई समर्थन गर्नेबारे निर्णयमा पुग्न बाँकी रहेको सिंहले बताए ।
अर्कोतर्फ बाग्मती प्रदेशको अध्यक्ष विजयी भएका नेपाली राष्ट्रिय टीमका पूर्व कप्तान पारस खड्का पनि क्यानको नेतृत्वमा आउन चाहन्छन् । औपचारिक घोषणा नगरे पनि केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने उनको तयारी छ ।
अध्यक्षमा लड्दा विजय सुनिश्चित नदेखेपछि पारसले सचिवमा लड्ने मनस्थिति बनाएका हुन् । अध्यक्ष चतुर बहादुर चन्दसँगै मिलेर जाने उनको पनि रणनीति छ । उनले हालै एक टेलिभिजन कार्यक्रममा चन्दसँग प्यानल बनाएर उम्मेदवारी दिन सक्ने बताएका थिए ।
निकट स्रोतका अनुसार चन्दले सचिवमा आफूलाई सघाए उनलाई अध्यक्षमा समर्थन गर्ने पारसले बताएका छन् । तर, चन्दले कुनै बलियो आश्वासन दिइसकेका छैनन् । आफू सबैलाई समेट्ने पक्षमा रहेको उनको भनाइ छ ।
पारस र रोशन दुवै चन्दसँग मिल्ने र एक–अर्कालाई क्यानको कार्यसमितिमा आउन नदिने रणनीतिमा रहेका छन् । बाग्मती प्रदेश चुनावदेखि उनीहरुबीच कटुता बढेको थियो । बाग्मती चुनावमा आफूलाई हराउनका लागि रोशन सिंह समूहले सबै बल लगाएको पारसको आरोप छ । रोशनलाई कुनै पनि हालतमा पदाधिकारीमा ल्याउन नहुने भनेर उनले चन्दसँग लबिङ गरिरहेका छन् ।
अर्कोतर्फ सिंह पनि पारसलाई केन्द्रीय कार्यसमितिमा ल्याउनु नहुने पक्षमा छन् । बागमती प्रदेशको अध्यक्ष भइसकेको व्यक्तिले केन्द्रको चुनावमा आँखा लाउनु नहुने उनको तर्क छ ।
सिंहको समूहले केही दिन अगाडि नै अध्यक्ष चन्दसँग बसेर एउटा समझदारी गरेको थियो । तर, सिंहलाई कुन पद दिने भनेर चन्दले निधो गरिसकेका छैनन् ।
चन्द भन्छन्- सबैलाई समेट्छु, प्यानल बनाउँदिन
अध्यक्ष चन्दले नेपाल प्रेससँग कुरा गर्दै सबै मिलेर जाने विषयमा छलफल भइरहेको बताए ।
‘प्यानल स्यानल नबनाउने, सबै मिलेर जाने कुरा भएको छ,’ उनले भने, ‘सकेसम्म सबै पक्षलाई समेट्छु ।’
आफू सबैसँग संवादमा रहेको चन्दले बताए ।
‘माग्नेजति सबैले नपाउन सक्छन् । तर, म सकेसम्म सबैलाई जोड्ने पक्षमा छु,’ उनले भने ।