रोनाल्डो पछिल्लो १२ महिनामा सर्वाधिक कमाउने खेलाडी, दोस्रोमा मेस्सी – Nepal Press

रोनाल्डो पछिल्लो १२ महिनामा सर्वाधिक कमाउने खेलाडी, दोस्रोमा मेस्सी

न्यूयोर्क। फोर्ब्सले पछिल्लो १२ महिना सर्वाधिक कमाउने शीर्ष १० खेलाडीको सूची सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक भएको सूचीअनुसार पहिलो स्थानमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छन् ।

हाल साउदी अरबको अल नासरबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले यो अवधिमा १३६ मिलियन अमेरिकी डलर कमाएका छन् ।

यो कर र एजेन्ट फीसहितको रकम हो । उनले तलब र बोनसबापत ४६ मिलियन र प्रायोजनलगायत अन्य माध्यमबाट ९० मिलियन अमेरिकी डलर कमाएको फोर्ब्सले उल्लेख गरेको छ । रोनाल्डो यो सूचीमा सन् २०१७ पछि पहिलो पटक र समग्रमा तेस्रोपटक पहिलो स्थानमा पुगेका हुन् । कुनै पनि फुटबल खेलाडीले विगतमा एक वर्षभित्र यति धेरै रकम नकमाएको पनि उल्लेख गरिएको छ ।

विगतमा टेनिसका रोजर फेडेरर, गल्फका टाइगर उड्स र बक्सिङका कनर म्याकग्रेगरले मात्र योभन्दा बढी रकम कमाएको पनि फोर्ब्सले जनाएको छ ।

सामाजिक सञ्जाल, क्रिप्टोकरेन्सीलगायतका कारण मैदान बाहिर रोनाल्डोको आम्दानी, मैदानबाट हुनेभन्दा करिब दोब्बर रहेको दाबी गरिएको छ ।

अर्जेन्टिनाका लियोनल मेस्सी १३० मिलियन अमेरिकी डलरसहित दोस्रोमा छन् । उनले तलब र बोनसबापत ६५ मिलियन र प्रायोजनलगायत अन्य माध्यमबाट ६६ मिलियन अमेरिकी डलर कमाएको उल्लेख गरिएको छ ।

१२० मिलियन अमेरिकी डलरसहित अर्का फुटबलर केलियन एमबाप्पे तेस्रोमा छन् । उनले तलब र बोनसबापत १०० मिलियन र अन्य माध्यमबाट २० मिलियन अमेरिकी डलर आम्दानी गरेका हुन् ।

बास्केटबलका लेब्रोन जेम्स ११९.५ मिलियन अमेरिकी डलर कमाइसहित चौथोमा छन् । बक्सिङका कानेलो अल्भाराजले ११० मिलियन, गल्फका डस्टिन जनसनले १०७ मिलियन, फिल मिकेलसनले १०६ मिलियन, बास्केटबलका स्टेफन करीले १००.४ मिलियन, टेनिसका रोजर फेडेररले ९५.१ मिलियन र बास्केटबलका केभिन डुरान्टले ८९.१ मिलियन अमेरिकी डलर आम्दानी गरेको फोर्ब्सले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *