जनता समाजवादीका मोरङ अध्यक्षलाई हातपात गरेको आरोपमा तीन नगर प्रहरी बर्खास्त
विराटनगर । विराटनगर महानगरपालिकाले नगर प्रहरी हवलदार रमेश निरौलासहित तीनजना नगर प्रहरीलाई जागिरबाट हटाएको छ । जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई दुर्व्यवहार गरेको भन्दै महानगरले तीन जनालाई कारबाही स्वरूप कामबाट हटाएको हो । जागिरबाट हटाएकाहरुमा नगर प्रहरी जवानहरू विक्रम श्रेष्ठ र बब्लु केशरी रहेका छन् ।
भदौ २७ गते ४ः३० बजे विराटनगर महानगरपालिका क्षेत्रमा ट्राफिक व्यवस्थापन कार्यको लागि खटिएका नगर प्रहरीले यादवलाई हातपात गरेको आरोप छ । पार्किङको विषयमा विवाद भएपछि यादवमाथि नगर प्रहरीले लछारपछार पार्दै हातपात गरेका थिए । कोशी अस्पताल अगाडि रहेको स्नेहा फार्मेसी अगाडि सिटीलाई नगर प्रहरीले ह्वील लक गरेको थियो ।
ह्वील लकका विषयमा सो फार्मेसीका सञ्चालक तथा जनता समाजवादी पार्टी मोरङका अध्यक्ष यादवसँग विवाद भएको थियो । विवादका क्रममा हातपात गरेको भन्दै महानगरपालिका प्रमुख नागेश कोइरालाले तीन जना नगर प्रहरीहरूलाई सोमबारबाट लागू हुने गरी जागिरबाट बर्खास्त गरिएको पत्र सार्वजनिक भएको छ । औषधि पसल अगाडि नो पार्किङमा रोकेको सिटी सफारीमा नगर प्रहरीले ह्वील लक लगाइदिएकोमा यादवले लक खोल्न नगर प्रहरीलाई आग्रह गरेका थिए ।
सफारी चालकले लक खोल्दिएन भन्दै गुनासो गरेपछि यादवले नगर प्रहरीलाई ‘के गरेको भाइ जरिवाना लिने भए लिएर छाडिनिहाल्नु नि, किन दुःख दिएको’ भन्दा विवाद भएको थियो । त्यसपछि नगर प्रहरीले यादवलाई लछारपछार पार्दै पसलबाट निकालेर वडा प्रहरी कार्यालय विराटनगर लगेका थिए । वडा प्रहरीमा छलफल हुँदा यादवका छोरा आशिष यादवले नगर प्रहरी विक्रम श्रेष्ठमाथि पनि हातपात गरेका थिए ।
तर, नगर प्रहरी श्रेष्ठमाथि हातपात गर्ने यादवलाई अहिलेसम्म कुनै कारबाही भएको छैन । एकै प्रकृतिको घटना हुँदा तीन जना नगर प्रहरीको जागिर खाइदिने मेयर कोइरालाले नगर प्रहरीमाथि हातपात गर्ने यादवलाई भने कारबाही गर्ने प्रक्रियासमेत अगाडी बढाउन नसक्दा नगर प्रहरी असन्तुष्ट देखिएका छन् । ‘चौतर्फी दबाबका कारणले मेयर सावले एउटा निमुखा नगर प्रहरीलाई जागिरबाट हटाए । तर, प्रहरी कार्यालय अगाडी नगर प्रहरीमाथि हातपात गर्नेलाई कुनै कारबाहीको लागि प्रक्रिया समेत अगाडी बढाउन सक्नुभएन’, एक जना नगर प्रहरीले भने ।
भदौ ३१ गते महानगरका प्रमुख कोइरालालाई छानबिन गरी आवश्यक कारबाही गर्ने अख्तियारी दिएको थियो ।
याे निर्णय गलत छ । नगर प्रहरीलाई यसरी जागिरबाट निकाल्नु हुदैनथ्यो । बरु अन्य कार्वाही गर्ने ठाउँ छदाछदै बर्खास्ती गर्नु भनेकाे जसपा पार्टीको पाउ पर्नु हाे 🤬 अब नगरका अन्य कर्मचारीहरुकाे मनाेबल खस्कनु हाे 😡